गोरखनाथ गुफामा रोट महोत्सव सुरु
गोरखा : वैशाख पूर्णिमा अथवा गोरखनाथ प्रकट दिवसको अवसर पारेर सोमबारदेखि गोरखनाथ मन्दिरमा रोट महोत्सव सुरु भएको छ। सिद्धाश्रम शक्ति केन्द्रले गोरखा दरबारसँगै रहेको गोरखनाथ गुफामा रोट महोत्सवको आयोजना गरेको हो।
केन्द्रका प्रमुख साधक रामजी अर्यालका अनुसार हरेकवर्ष वैशाख पूर्णिमाका दिनदेखि ११ दिनसम्म महोत्सव आयोजना हुने गर्दछ।
रोट महोत्सवको यो २२ औँ शृङ्खला हो।
महोत्सवको पहिलो दिन सोमबार बिहान नौबजे गोरखाबसपार्कस्थित केन्द्रको कार्यालयबाट प्रभातफेरी तथा रथयात्राको आयोजना गरिएको थियो । बाजागाजासहित निस्किएको र्यालीमा विभिन्न टोल विकास संस्था, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, घडासहितका १०८ कन्याहरू, जनप्रतिनिधि, नाथ सम्प्रदायका योगी तथा विभिन्न जिल्लाबाट आएका भक्तजनहरू सहभागी थिए। बिपीचोक, पँदेली, ठुलो आँगन, सतिपिपल, रामशाह चौतारा, गणेशथान हुँदै र्याली गोरखनाथ गुफासम्म रथयात्रा गरिएको छ।
महोत्सव जेठ ८ गतेसम्म चल्ने छ। यो अवधिमा एकलाख २५ हजारभन्दा धेरै रोट गोरखनाथलाई अर्पण गरिन्छ। गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने प्रसादका रुपमा रोटलाई लिइन्छ। रोट चढाएर गोरखनाथलाई खुसी बनाउन सकेमा कुनै संकट नआउने धार्मिक मान्यता छ। साथै नियमित पूजा, साधना, विशेष हवन, भजनकीर्तन लगायतका गतिविधि हुने केन्द्रका अध्यक्ष रामजी अर्यालले बताए।
गहुँ, जौ तथा चामलको पिठोमा जाइफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस विभिन्न ५२ थरीका शक्तिबद्र्धक मसला मिसाएर रोट बनाइन्छ। गोरखनाथका पुजारी नाथहरु शुद्ध भई घ्यूमा रोट बनाउने गर्छन्।
यो वर्ष ४० देखि ५० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने र ३० लाखभन्दा बढी खर्च हुने अनुमान आयोजकको छ। रोट महोत्सवले जिल्लाको धार्मिक पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुर्याउने केन्द्रको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !