कैलाश चौधरीलाई उद्योगमन्त्री बनाउन नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन
धनगढी : नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले मन्त्री सिफारिसको टुंगो लगाउन नसकेपछि अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनाउन निर्देशन दिएकी छन्।
मंगलबार नाउपाको संसदीय दललाई लिखित निर्देशनसहित अध्यक्ष रञ्जीताले कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिएकी हुन्। आर्थिक लेनदेनको समाचार आएपछि नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले २०८१ सालको चैत १६ गते पदबाट राजीनामा दिएका थिए।
चैत १६ पनि सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय रिक्त छ। बजेटबाट बेला मन्त्रीपद खाली रहेपछि नाउपाको प्रदेश संसदीय दलको बैठक बसेको थियो। बैठकले प्रदेशको मन्त्रीको टुंगो लगाउन पार्टी केन्द्रसँग अधिकार प्रत्यायोजन माग गरेको थियो।
तर अध्यक्ष श्रेष्ठले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै कैलाशलाई मन्त्री बनाउन निर्देशन दिएकी हुन्। ‘प्रदेशको संसदीय दललाई कैलाश चौधरीलाई मन्त्री बनाउन भनेर पत्र नै पठाएको छु’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘सायद आज संसदीय दलले त्यो निर्णय गरेर पठाउला।’
कैलाश चौधरी यसअघि प्रदेशको भौतिक पूर्वाधार मन्त्री बनिसकेका प्रदेश सभा सदस्य हुन्। सत्ता समीकरण परिवर्तन भएसँगै उनी थोरै समय मात्र भौतिक पूर्वाधार मन्त्री भएका थिए।
प्रतिक्रिया दिनुहोस !