शून्य बेरुजु, एकमात्र गाउँपालिका महाभारत

शून्य बेरुजु, एकमात्र गाउँपालिका महाभारत
सुन्नुहोस्

काठमाडौं : देशभरमा ७ सय ५३ स्थानीयतहसहित ७ सय ६१ सरकार छन्। सबैको बेरुजुको चाङ छ। तर, एउटा यस्तो स्थानीय तह छ जसको बेरुजु शून्य छ। त्यो हो काभे्रपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका। जसको बेरुजु एक रुपैयाँ पनि छैन। गाउँपालिका  अध्यक्ष कान्छालाल  जिम्बा निरन्तर प्रयासबाट शून्य बेरुजु बनाउन सफल भएको बताउँछन्। 

‘कर्मचारीलाई सार्वजनिक खरिद ऐन, नियमावली, स्थानीय सार्वजनिक ऐन, नियमावली निरन्तर फलो गर्न लगायौं,  उनीहरूलाई  यो विषयमा तालिम दियौं, अध्यक्ष जिम्बाले भने,  हामीले नीति नियम संगतबाहेक काम नगर्ने भनेर जनप्रतिनिधि र कर्मचारीले सामूहिक प्रतिबद्धता गर्‍यौं।’ कुनै दबाब र प्रभावमा होइन योजनाबद्ध रूपमा  गरेका कामको मात्रै भुक्तानी गर्ने प्रणाली बसालेको कारणले शून्य  बेरुजु भएको उनले बताए। 

‘नियमसंगत फाइलको मात्रै अगाडि बढायौं, नियम संगत नभएका कामलाई तुरुन्तै नियन्त्रणमा लिने काम गर्‍यौं, यसको फलस्वरूप हामी शून्य बेरुजु हुन सफल भयौ,’ उनले भने। गत वर्ष महाभारतसहित पाँचवटा स्थानीय तहको शून्य बेरुजु थियो तर योपटक भने अरुले शून्य बेरुजुलाई कायम राख्न सकेनन्। गत वर्ष ताप्लेजुङको पाथिभरा याङवर गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा  पनि  बेरुजु शून्य थियो। 

अध्यक्ष जिम्बाले यो वर्षमात्रै होइन विगतमा र भविष्यमा  पनि  शून्य बेरुजु नहुने गरी योजना बनाएर काम गरिरहेको बताए। नयाँ योजना होइन, भइरहेका योजनालाई निरन्तर फलो गरेर यो अवस्था आएको उनको भनाइ छ। 

कम बेरुजु हुने महानगर विराटनगर, बढी हुनेमा  पोखरा

महानगरपालिकामध्ये सबैभन्दा कम बेरुजु हुनेमा विराटनगर महानगरपालिका छ। विराटनगर महानगरको गत आर्थिक वर्ष २०८०-८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण भएको थियो। जसमध्ये २ करोड ८ लाख ५७ हजार बेरुजु थियो। जुन ०.३२ प्रतिशतमात्र हो। महानगरमध्ये दोस्रोमा ललितपुर महानगरको कम बेरुजु छ। ललितपुरको बेरुजु १० अर्ब ६८ करोड ९७ लाख लेखापरीक्षण गर्दा ५ करोड ५५ लाख बेरुजु देखिएको छ। जुन ०.५२ प्रतिशत  हो। तेस्रोमा चितवन भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँको लेखा परीक्षण गर्दा १० करोड २ लाख बेरुजु देखिएको छ। 

जुन ०.९० प्रतिशत हो। काठमाडौं महानगरपालिका चौथोमा छ।  देशकै धेरै बजेट खेलाउने काठमाडौं महानगरको २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँको लेखापरीक्षण गर्दा ६८ करोड २ लाख बेरुजु देखिएको हो। जुन २.४७ प्रतिशत बेरुजु  हो। पर्सा वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख लेखा परीक्षण गर्दा २२ करोड ७५ लाख बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा छ।

जुन ३.६२ प्रतिशत हो। पोखरा महानगरमा महानगरमध्ये सबैभन्दा धेरै बेरुजु देखिएको छ। यसको १३ अर्ब ४६ करोड ७२ लाख लेखापरीक्षण गरिएकोमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको हो, जुन ३.७४ प्रतिशत हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.