यात्रुसँग मनपरी भाडा लिएको गुनासो आएपछि अनुगमन सुरु

यात्रुसँग मनपरी भाडा लिएको गुनासो आएपछि अनुगमन सुरु
सुन्नुहोस्

विराटनगर : विराटनगरलगायत मोरङका विभिन्न स्थानबाट चल्ने सार्वजनिक सवारीसाधनले यात्रुसँग मनपरी भाडा लिने गरेको पाइएको छ। 

यात्रुसँग दोब्बर बढी भाडा असुल्ने गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले यात्रुसँग लिने भाडादरको अनुगमन गर्दा सार्वजनिक सवारीसाधनले बढी भाडा लिइरहेको पत्ता लागेको हो। सवारीसाधनले अत्यधिक भाडा लिने गरेको जनगुनासो बढेसँगै इन्स्पेक्टर राजन लम्सालको नेतृत्वमा शनिबारबाट अनुगमन सुरु भएको छ।

अनुगमनलाई अभियानकै रूपमा सञ्चालन गर्ने ट्राफिक प्रहरीको तयारी छ। मोरङमा पहिलो चरणमा विराटनगरका विभिन्न स्थान र बुढीगंगामा अनुगमन गरिएको लम्सालले बताए। उनका अनुसार बस, माइक्रो, म्याजिक, ई–रिक्सा, अटो टेम्पोलगायतका यातायातका साधनको भाडादरको अनुगमन गरिएको हो। अनुगमनका क्रममा कतिपय सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिने गरेको पाइएको उनले बताए। 

‘२० रूपैयाँ लिनुपर्ने ठाउँमा ३० देखि ४० रुपैयाँसम्म लिने गरेको पाइयो। यात्रुसँग लिइएको बढी भाडा तत्काल फिर्ता गर्न लगाइएको छ,’ इन्स्पेक्टर लम्सालले भने। उनले आगामी दिनमा बढी भाडा नलिन र यात्रुमैत्री व्यवहार गर्न सार्वजनिक सवारीका चालकलाई सचेत गराइएको छ। अबदेखि बढी भाडा लिने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने चेतावनी ट्राफिक प्रहरीले दिएको छ। 

‘पहिलो चरणमा अनुगमन गरेर बढी भाडा नलिनलाई सचेत गराइएको छ। आगामी दिनमा त्यसको कार्यान्वयन भएन भने बढी भाडा लिने सवारीसाधनलाई तत्काल कारबाहीको दायरामा ल्याइने छ,’ उनले भने। कुनै सवारीसाधनले बढी भाडा लिएमा तत्काल टोली फ्री नम्बर १०३ मा जानकारी गराउन ट्राफिक प्रहरीले सबैमा आह्वान गरेको छ। भाडा तिर्ने बेला ठगीमा नपर्न र ठगिएको शंका लागेर तत्काल खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले सवारीसाधनले बढी भाडा लिने गरेको जनगुनासो बढेसँगै अनुगमन तीव्र पारिएको जानकारी दिए। पहिलो चरणमा कोशीका तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा अनुगमन सुरु गरिएको उनको भनाइ छ। ‘सबैतिरबाट गुनासो आएपछि अनुगमन सुरु गरिएको हो। पहिलो चरणमा तराईका जिल्ला केन्द्रित अनुगमन थालिएको छ। यसलाई प्रदेशभरि अभियानका रूपमा सञ्चालन गर्ने योजना छ,’ एसपी घिमिरेले भने। 

उनका अनुसार प्रदेशका १४ वटै जिल्लामा भाडादरको अनुगमनका लागि ट्राफिकको टोली परिचालन गर्ने तयारी छ। कुनै सवारीसाधनले बढी भाडा लिएमा कारबाही गरिने उनको भनाइ छ। ‘पहिलो चरणमा भाडाबापत लिएको बढी पैसा फिर्ता गरेर सचेत गराइएको छ,’ घिमिरे भन्छन्, ‘आगामी दिनमा पनि त्यही क्रम दोहोरिए कारबाही गर्छौं।’ यात्रा गर्दा बढी भाडा लिएमा तत्काल ट्राफिक प्रहरीलाई खबर गर्न उनले सबैमा आह्वान गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.