रासायनिक मलको चरम अभाव
नुवाकोट : खेतबारीमा लगाइएका अन्न तथा मकैबालीमा रासायनिक मल राख्न नपाउँदा नुवाकोटका किसानहरू मर्कामा परेका छन् । मकै, धान तथा तरकारी बालीमा युरियालगायत मल राख्न नपाउँदा किसानहरू निकै चिन्तित भएका छन् ।
१२ स्थानीय तह रहेको पहाडी संरचनाको नुवाकोटमा अहिले किसानलाई युरिया मल आवश्यक रहेको छ । तर, यही मलको चरम अभाव भएको गुनासो किसान गर्छन् ।
अहिले युरिया मलको चरम अभाव हुँदा किसान समस्यामा परेको किसानहरू बताउँछन् । किसानका लागि जिम्मेवार रूपमा सरोकारवाला निकाय प्रस्तुत हुन नसकेको किसानको गुनासो रहेको छ । नुवाकोटको अधिकांश स्थानमा यतिखेर खेतमा रोपिएका मकै, तरकारी र धानमा रासायनिक मल राख्ने वेला भएको छ । तर, किसानहरूले पाउन सकेका छैनन् ।
दुई बोरा युरिया मलका लागि सरोकारवाला निकाय सबैतिर धाइयो । तर, कुनै हालतमा मल नभएको जवाफ मात्र आएर रित्तो हात घर फर्किनु परेको चौघडाका किसान रामचन्द्र अगस्तीले सुनाए । ‘मकै, चैते धान, तरकारी बालीका लागि अहिले युरिया मलको आवश्यक छ ।’ अगस्तीले भने, ‘मलको अभावमा मकै बाली नै बिग्रने चिन्ता भएको छ, मकै बालीमा सिँचाइपछि युरिया मल राख्ने समय बित्दो अवस्थामा छ, किसानले खोजेको बेलामा मल पाउन सकेका छैनन् ।’
सम्बन्धित निकायले बेलैमा ल्याउन नसकेका कारण युरिया मलको अभाव भएको हो । मकैका लागि मल राख्ने सिजन बित्न लागिसक्यो । तर, मल पाइँदैन तारुकाका किसान रामप्रसाद पनेरुको पनि एउटै स्वर छ ।
- मकै, धान र तरकारी बालीमा युरियालगायतका मल राख्न नपाउँदा किसानहरू चिन्तित
- आवश्यकताभन्दा निकै कम मात्र मल आउने गरेका कारण किसानले थोरै मल पाउने गरेको कृषि कार्यालयको भनाइ
नुवाकोटमा युरिया मलको माग उच्च भए पनि आवश्यकताअनुसार मल उपलब्ध हुन सकेको छैन । बालीमा लगाउने वेला मल नपाएपछि किसानहरू निकै तनावमा रहेको पीपलटारका किसान बलराम न्यौपाने बताउँछन् । नुवाकोटमा १२ हजार हेक्टर क्षेत्रफलमा धान र १५ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको छ । किसानलाई प्रतिहेक्टर ९ हजार टन रासायनिक मल आवश्यक पर्ने कृषि प्राविधिक बताउँछन् ।
माग र आवश्यकताअनुसार रासायनिक मल नआउने गरेको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । आवश्यकताभन्दा निकै कम मात्र मल आउने गरेका कारण किसानले थोरै मल पाउने गरेको गुनासो आएको कार्यालय प्रमुख केशव खनालले जानकारी दिए । नुवाकोटका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय त्रिशूली र साल्ट ट्रेडिङ शाखा नुवाकोटले रासायनिक मल दिँदै आएको छ । तर, ती कार्यालयका गोदाममा अहिले मलको अभाव रहेको जनाइएको छ ।
आवश्यकताअनुसार रासायनिक मल उपलब्ध नहुँदा किसानहरूले अनुदानमा ११ सय ५० रुपैयाँ प्रतिबोराको मल १५ सयदेखि २ हजार रुपैयाँसम्म तिरेर खरिद गर्न बाध्य हुनुपरेको अर्का चिन्नलकुमार राईले गुनासो गरे ।
सहकारीले कृषि सामग्री कम्पनीबाट प्रतिबोरा ९ सय ७ रुपैयाँमा खरिद गर्ने अनुदानको मल आवश्यकता अनुसार उपलब्ध नहुँदा किसानहरूले आफ्नो मकै तथा धानबालीमा राख्ने समय गुज्रने समस्याका कारण बाहिर धेरै मूल्य तिरेर खरिद गर्न वाध्य भएको किसानहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस !