गोरखालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्य
गोरखा : गोरखामा हाल अण्डाको माग दैनिक ५० पेटी छ। ३० पेटी अण्डा गोरखा नगरपालिका ८ का कृष्ण केसी एक्लैले आपूर्ति गरिरहेका छन्। बाँकी आवश्यकता अरू कुखुरा फर्म वा छिमेकी जिल्लाबाट आयात हुन्छ।
बाँकी आवश्यकताका पनि आफू एक्लैले परिपूर्ति गर्ने योजनाका साथ काम गरिरहेको केसी बताउँछन्। ‘अहिले एउटा फर्मबाट दैनिक १८ देखि २० पेटी अण्डा बजारमा जान्छ। अर्को फर्मबाट १० देखि १२ पेटी जान्छ’, केसी भन्छन्, ‘बजारको माग धान्न अझै फर्म थप्नुपर्ने आवश्यकता छ। त्यो मैले सोचिसकेको छु। फर्म थप गरिरहेको छु।’ एउटा फर्ममा उनको पाँच हजार र अर्को फर्ममा ६ हजार हुर्कौला लेयर्स कुखुरा छन्।
‘ऊ त्यहाँ हेर्नुस्, तपाई देख्न सक्नुहुन्छ अर्को फर्म थप्दै छु’, उनी भन्छन्, ‘त्यहाँ छ हजार कुखुरा राखेपछि २० पेटीको आवश्यकता परिपूर्ति हुन्छ भन्ने विश्वास छ।’ पेसा अत्यन्त संवेदशील र जोखिम भए पनि अहिलेसम्म विचलित नभएको उनको भनाइ छ।
यसअघि गोरखा बजार आसपास अण्डा उत्पादन गर्ने अरू कुखुरा फर्म पनि थिए। कोभिड महामारीका वेला लकडाउन र अरू जटिलताका कारण व्यवसायीले व्यवसाय छाडेका उनले बताए। ‘जतिसुकै घाटा सहनु परे पनि म विचलित नभई व्यवसाय गरिरहेँ। अहिले बजार क्षेत्रमा अण्डा उत्पादन गर्ने म एउटै हुँ। अरू एक जनाको फर्म १३ किलोमा छ। अर्का व्यवसायीको फर्म फुजेलतिर छ। हामी यति नै हौं’, उनले भने, ‘गोरखाका अरू सबै कुखुरा फर्म मासु उत्पादन गर्नेहरू हुन्।’
तीन दशकभन्दा धेरै समय शिक्षण
पेसामा रहेर काम गरेका केसी निवृत्त भएलगत्तै २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष बने। शिक्षा र समाजसेवाबाट समय निकालेर अहिले उनले अण्डा उत्पादन कर्म गर्न थालेका हुन्।
‘कुखुरा पालन गर्न थालेको त झण्डै १२ वर्ष भइसक्यो’, उनी भन्छन्, ‘तर ठूलो स्केलमा गरेको भर्खर भर्खर हो।’ आलेगाउँमा उनको अकला कृषि तथा पोल्ट्री फर्म छ। यसबीचमा धेरै कृषि फर्महरू अनुदान लिएर बन्द भए, बदनाम कमाए। तर आफू अनुदानको दौडधुपमा नलागेको केसीको भनाइ छ। ‘अनुदान भनेको के हो, कस्तो हुन्छ त्यसको चक्करमा लागिएन’, उनी भन्छन्। आफ्नो कुखुरा फर्ममा पुगेपछि बाहिरि संसार सबै भुलेजस्तो लाग्ने उनको अनुभव छ।
‘पछि आएर पो थाहा भयो, मेरो रुचि त कुखुरा पालन पो रहेछ’, उनी भन्छन्, ‘सबै काम कुरो भुलेर म कुखुरासँगै रमाउँछु। सकेसम्म बाहिर निस्कन नपरे हुन्थ्यो जस्तो लाग्छ।’ यहाँ उनले स्वरोजगार मात्र गरेका छैनन्। धेरैजनालाई रोजगारी पनि दिएका छन्।
प्रतिक्रिया दिनुहोस !