ट्रम्पले जेलेन्स्की र पुटिनसँग वार्ता गरे : सही सम्झौता भए युद्धविराम गर्ने पुटिनको भनाइ
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन्।
रुस र युक्रेन युद्धको विषयमा ट्रम्प र पुटिनबीच करिब २ घण्टा छलफल भएको जनाइएको छ। पुटिनले वार्तालाप धेरै राम्रो भएको बताए। उनले यदि सही सम्झौता भएमा, रूस र युक्रेनबीच केही समयको लागि युद्धविराम सम्भव भएको जनाएका छन्।
रुसी समाचार एजेन्सी तासका अनुसार पुटिनले युक्रेनसँग शान्ति सम्झौताको मस्यौदा तयार रहेको बताए।
जेलेन्स्की र ट्रम्पबीच केही मिनेट मात्र कुराकानी भएको थियो। कुराकानीको विस्तृत जानकारी अझै सार्वजनिक गरिएको छैन।
जनवरी २० मा शपथ लिएपछि ट्रम्पले रुसी राष्ट्रपतिसँग तीन पटक कुरा गरिसकेका छन्।
पुटिनले भने : रूस सम्झौताको लागि तयार छ
ट्रम्पसँग कुरा गरेपछि पुटिनले मिडियासँग कुरा गरेका छन्। पुटिनले रूस शान्ति सम्झौता गर्न तयार रहेको जनाएका छन्। सम्झौता कस्तो प्रकारको हुने भन्ने कुरा अझै स्पष्ट छैन।
प्रतिक्रिया दिनुहोस !