ह्वाइट हाउसमा मिडियाको अगाडि ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपतिबीच चर्को बहस
वासिङटन डिसी : बुधबार ह्वाइट हाउसमा मिडियाको अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीच चर्को बहस भएको थियो। ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूमाथि नरसंहार भइरहेको आरोप लगाएका थिए।
ओभल अफिसमा भएको बैठकको क्रममा ट्रम्पले प्रमाणको रूपमा एउटा भिडियो देखाए र दक्षिण अफ्रिकामा गोरा मानिसहरूलाई ठूलो मात्रामा निशाना बनाइएको दाबी गरे। यसको कारण गोरा किसानहरू अमेरिकातिर दौडिरहेका उनको आरोप थियो। रामाफोसाले यसको विरुद्धमा कारबाही गर्नुपर्ने ट्रम्पले जनाएका छन्।
रामाफोसाले भने ती दाबीहरूलाई अस्वीकार गर्दै नरसंहारको आरोप गलत भएको बताएका थिए। उनले अमेरिकी राष्ट्रपतिलाई दक्षिण अफ्रिकाका सबै जातिका मानिसहरू हिंसाबाट पीडित रहेको बताए। पीडितमध्ये धेरैजसो काला जातिका मानिस रहेका उनको भनाइ थियो।
ट्रम्पले उनको कुरालाई अस्वीकार गर्दै 'गोरा किसानहरू' मात्र सताइएका बताएका थिए।
रामाफोसाले कतार सरकारबाट ट्रम्पलाई उपहारस्वरूप प्राप्त विमानको पनि आलोचना गरेका थिए। उनले भने, 'मलाई माफ गर्नुहोस्, मसँग तपाईंलाई दिनको लागि विमान छैन।' यसको जवाफ ट्रम्पले उस्तै तरिकाले दिंदै भने, 'सायद तपाईंसँग एउटा भएको भए, म लिने थिएँ।'
वार्तामा ट्रम्पले दक्षिण अफ्रिकामा गोरा मानिसमाथि दमन भइरहेको र राष्ट्रपति रामाफोसाले यसलाई रोक्न केही नगरेको आरोप लगाएका थिए।
दक्षिण अफ्रिकी राष्ट्रपतिले ट्रम्पसँग हास्यपूर्ण तरिकाले कुरा गरेर वातावरणलाई हल्का बनाउने प्रयास गरे। ट्रम्पले दक्षिण अफ्रिकामा गोरा मानिसविरुद्ध हुने हिंसाको बारेमा समाचार रिपोर्टहरूको प्रतिलिपिहरू पनि देखाएका थिए।
ट्रम्पले एक गोरा जोडीलाई निर्ममतापूर्वक कुटपिट गरिएको भिडियो रिपोर्ट पनि देखाए।
बैठक मैत्रीपूर्ण वातावरणमा सुरु भएको थियो
दुई राष्ट्रपतिबीचको भेटवार्ता मैत्रीपूर्ण वातावरणमा सुरु भएको थियो। उनीहरू दुवैले गल्फको बारेमा कुरा गरेका थिए। ट्रम्पले अफ्रिकाका मानिसहरूको गल्फ प्रतिभाको प्रशंसा गरेका थिए।
त्यसपछि दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाले 'T' शब्द उल्लेख गरेर दुई देशबीचको व्यापारको बारेमा छलफल गर्ने प्रयास गरे। उनले खनिज सम्झौताको पनि उल्लेख गरे।
दुई नेताबीच कुराकानी सहज रूपमा चलिरहेको थियो। अचानक ट्रम्पले आफ्ना कर्मचारीहरूलाई भिडियो प्ले गर्न बत्ती निभाउन भने। यसले रामाफोसालाई स्तब्ध बनायो। भिडियो सुरु हुँदा रामाफोसाले ट्रम्पलाई इशारा गर्दै सोधे, 'यो के हो?' यद्यपि, ट्रम्पले उनलाई पर्खन भने।
रामाफोसाले पछाडि फर्केर भिडियो दुई वा तीन पटक हेरे। ट्रम्पले भिडियोलाई गोरा मानिसहरूको नरसंहारको प्रमाण भन्दै हजारौं गोरा किसानहरूको चिहान देखाएको बताए।
एक भिडियोमा एक काला मानिसले गोरा मानिसहरू विरुद्ध ठूलो स्वरमा भाषण दिइरहेका थिए।
रामाफोसाले भिडियो कहाँको हो भनेर पत्ता लगाउने बताए। रामाफोसाले आफ्नो संयम कायम राखे र दावीहरूलाई अस्वीकार गरे। उनले भने, 'मैले यो भिडियो पहिले कहिल्यै देखेको छैन। हामी यो भिडियो कहाँको हो भनेर पत्ता लगाउनेछौं। यसको प्रामाणिकताको विस्तृत रूपमा अनुसन्धान गर्नेछौं। हाम्रो देशमा हिंसा एक अपराध हो। यसले काला वा गोरा सबैलाई असर गर्छ।'
ट्रम्पले त्यसपछि समाचार लेखहरू देखाउन थाले र हत्या-हत्या भनेर चिच्याउन थाले। रामाफोसाको आश्वासनपछि पनि ट्रम्प रोकिएनन्। उनले दक्षिण अफ्रिकामा मारिएका गोरा मानिसहरूको बारेमा समाचार लेखहरूको छापिएको प्रतिलिपिहरू देखाए। पाना पल्टाउँदै गर्दा, ट्रम्पले ठूलो स्वरमा हत्या, हत्या भनिरहेका थिए।
गल्फ ट्रम्पको मनपर्ने खेल हो। यसैलाई ध्यानमा राख्दै राष्ट्रपति रामाफोसाले दुई दक्षिण अफ्रिकी गल्फ खेलाडी एर्नी एल्स र रेटिफ गुसेन लाई अतिथिको रूपमा लिएर गएका थिए। बहसको क्रममा उनीहरू दुवै जना राष्ट्रपतिको पछाडि उभिएका थिए।
रामाफोसाले भने - दक्षिण अफ्रिकामा गोराहरू धेरै खुसी छन्
रामाफोसाले भिडियोले उनको देशको पूर्ण तस्वीर नदेखाएको बताए। उनले दक्षिण अफ्रिकामा धेरै राजनीतिक दलहरू रहेको र लोकतन्त्रले उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न अनुमति दिएको बताए। भिडियोमा भएको कुरा सरकारको नीतिभन्दा फरक भएको बताए।
रामाफोसाले आफ्नो देशमा धेरै अपराध भएको स्वीकार गर्दै गोरा मानिसमा मात्र अपराध नभएको उल्लेख गरे। यस क्रममा उनले नेल्सन मण्डेलाको पनि उल्लेख गर्दै मण्डेलाले समस्या पर्दा सँगै बसेर कुरा गर्नुपर्ने कुरा सिकाएको बताए।
रामाफोसाले थप भने, 'गोरा मानिसहरूको हत्या भएको छ, तर प्रहरी तथ्याङ्कले उनीहरू काला मानिसहरू भन्दा बढी खतरामा छन् भन्ने संकेत गर्दैन। आर्थिक रूपमा सहित लगभग हरेक स्तरमा, गोरा मानिसहरू कालाहरू भन्दा धेरै राम्रो अवस्थामा छन्।'
भूमि अधिग्रहण कानूनप्रति ट्रम्प आक्रोशित
सिरिल रामाफोसाको हस्ताक्षरपछि ९ अक्टोबर २०२४ मा दक्षिण अफ्रिकामा भूमि अधिग्रहण ऐन लागू भयो। यस कानून अन्तर्गत सरकारले सडक, अस्पताल वा विद्यालय निर्माण जस्ता सार्वजनिक उद्देश्यहरू पूरा गर्न क्षतिपूर्ति बिना निजी जग्गा अधिग्रहण गर्न सक्छ।
यस कानूनको उद्देश्य दक्षिण अफ्रिकाको इतिहासमा रंगभेदको समयमा गरिएको अन्यायलाई सच्याउनु हो। त्यति बेला कालाहरूको जग्गा खोसेर गरिब क्षेत्रहरूमा पठाइएको थियो। यो कानून लागू भएपछि अमेरिकी राष्ट्रपति ट्रम्प रिसाएका थिए।
प्रतिक्रिया दिनुहोस !