ट्रम्प प्रभाव, विश्वमाथि दबाब
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको सक्रियता विश्व राजनीतिमा बढेको छ। ‘अमेरिका पहिलो’ नीति अवलम्बन गर्दै अघि बढेका राष्ट्रपति ट्रम्पले विश्व राजनीतिमा पनि दख्खल दिइरहेका छन्। अमेरिकाले विभिन्न देशहरूमा गर्दै आएको आर्थिक सहयोगप्रति ‘कठोर नीति’ अवलम्बन गरेका राष्ट्रपति ट्रम्पले विश्व राजनीतिमा फरक ढंगबाट आफ्नो सक्रियता बढाएका हुन्।
पहिलो राष्ट्रपति कार्यकालमै अमेरिकाले विभिन्न देशहरूमा अनावश्यक सहयोग गरिरहेको बताउँदै आएका ट्रम्प पहिलो कार्यकाल सकिएपछि लगत्तै भएको निर्वाचनमा जोसेफ बाइडेनसँग पराजित भएका थिए।
उनी पराजित भएको कार्यकालमा उनी अमेरिकाले अवलम्बन गरेको नीतिको कटु आलोचकका रूपमा उभिएका थिए। तर, पुनः राष्ट्रपति निर्वाचन उम्मेदवार बन्दै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए। उनको दोस्रो कार्यकाल जनवरी २०, २०२५ वाट सुरु भएको थियो।
ट्रम्पको पहिलो कार्यकाल, उनी पराजित भएको बाइडेन कार्यकालमा ट्रम्पका धारणा र तेस्रोपटक राष्ट्रपतिको उम्मेदवार बन्दै गर्दा भएको चुनावी कार्यक्रमहरूमा उनको सम्बोधन र लिएका नीति अनि दोस्रो कार्यकालको सुरुवातमै ट्रम्पले घोषणा गरेका कार्यकारी आदेशहरूले अब अमेरिकाको विश्व राजनीतिमा उपस्थितिलाई लिएर अनेकन अड्कल बाजी हुने गरेका थिए।
खासगरी ट्रम्पले अमेरिका पहिलो नीति भन्दै विभिन्न देशहरूसँगको भन्सार र कर नीतिमा व्यापक परिवर्तनको घोषणा गरे, छिमेकी देशहरू क्यानडा र मेक्सिकोसँगको दूरी बढ्ने गरी धारणा र योजनाहरू ल्याए। विश्व अर्थतन्त्रमा प्रभावकारी उपस्थिति जनाइरहेको चिनसँग व्यापार युद्ध निम्तिने गरी कर प्रणाली परिवर्तनको घोषणा गरे, युरोपसँगको दूरी बढ्ने गरी युक्रेन–रूस युद्धलाई लिएर धारणा मात्र दिएनन्, युरोपको आलोचना गर्दै युक्रेनलाई दिने अमेरिकी सहयोग बन्द गर्ने घोषणा गरे।
अमेरिकासँग नजिक मानिएका जापान, भारत, दक्षिण कोरिया जस्ता देशहरूलाई पनि छाडेनन्, म्यानमार, थाइल्यान्ड, मलेसिया, सिंगापुर, दक्षिण अफ्रिका लगायतका देशसँग पनि सफल कूटनीति अवलम्बन नगरेको भनेर टीकाटिप्पणी हुने गरी ट्रम्प प्रशासन अघि बढ्यो। विश्व राजनीति र विश्व अर्थतन्त्रमा नै असर पर्ने गरी आफ्ना नीति अघि बढाउँदै राष्ट्रपति ट्रम्प नीतिले अमेरिका भित्र पनि असर पार्ने काम भइरह्यो। खासगरी आप्रवासीप्रति कठोर देखिने ट्रम्प प्रशासनको नीतिले अमेरिकाको आन्तरिक स्थिति र अमेरिकी अर्थतन्त्रमा पनि प्रभाव पर्यो। अमेरिकामा कानुनी रूपमा बसोबास गर्ने र काम गर्ने कागजात नभएका अदालतबाट अमेरिका छोड्नुपर्ने अन्तिम आदेश पाइसकेकाहरूलाई अमेरिकावाट निर्वासन गर्न ट्रम्प प्रशासनको सक्रियता बढ्यो।
मेक्सिकोलाई गलाए
राष्ट्रपति ट्रम्पले मेक्सिकोसँग दबाब बढाए, अमेरिकासँगको सीमा कडाइमा सक्रियता बढाउन र पर्खाल लगाउने कामलाई अन्तिमरूप दिन मेक्सिकोलाई सहमत गराए। सेन्ट्रल र दक्षिण अमेरिकी मुलुकहरूलाई दबाब दिँदै अमेरिकाबाट निष्कासन भएकाहरूलाई आश्रय दिन बाध्य पारे, ट्रम्प प्रशासनको यो कडाइबाट कानुनी आधार बिना अमेरिकामा बसोबास गरिरहेका सबै देशका नागरिक परे र सबै देशले दबाब अनि प्रभावमा परेर यसलाई स्वीकार्ने स्थिति बन्यो। अवैध भनिएका आप्रवासीहरूलाई अमेरिकाबाट निष्कासन गर्ने क्रम बढिरहँदा अमेरिकाको अर्थतन्त्रमा पनि त्यसले असर गर्यो, कर प्रणालीमा भएको व्यापक परिवर्तनको असर पनि अमेरिकाको अर्थतन्त्रमा देखियो।
विश्व अर्थतन्त्र र विश्व राजनीतिमा बलियो उपस्थिति रहेको अमेरिकालाई केन्द्रमा राख्न ट्रम्पले विगतका राष्ट्रपतिहरूभन्दा फरक नीति अवलम्बन गरे। सबैको सहयोगी बन्दै अघि बढ्ने गरेको अमेरिकालाई उनले अमेरिकाको स्ट्रेन्थलाई लिएर विश्व राजनीतिमा अधिकार स्थापित गर्न लागे। भविष्यमा यसको असर के पर्ला भन्न नसकिए पनि जुन ढंगबाट ट्रम्प आफ्नो दोस्रो कार्यकालको सुरुवात देखिनै जसरी प्रस्तुत भइरहे त्यसको प्रभाव भने देखिन थालेको छ।
आन्तरिक र बाह्य दुवैतर्फ समान रुपमा सक्रियता बढाइरहेको ट्रम्प प्रशासनले अरूलाई गलाउने र पछि केही कदम पछाडि सर्दै सहमति खोज्ने गरी आफ्नो नीति अघि बढाइरहेको देखिन्छ। अहिले मात्र होइन कोभिड–१९ ले विश्व प्रभावित भइरहेको समयमा पनि विश्व स्वास्थ्य संगठनबाट अमेरिका अलग हुनुपर्ने धारणा सहितको ट्रम्प नीतिलाई विश्वका अन्य देशहरूले असन्तुष्टि जनाएका थिए, अमेरिका भित्र पनि त्यसलाई लिएर विरोधका स्वरहरू पनि सुनिने गरेका थिए। र पनि उनी आफूले लिएको नीति सही नै भएको तर्क गरिरहेका हुन्छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानहरूमा विश्वमा भइरहेको युद्ध रोकिनुपर्ने र यदि नरोकिए त्यसमा अमेरिका संलग्न हुन नहुने अनि त्यसलाई रोक्न अमेरिकाको भूमिका अहम् हुने बताउँदै आएका थिए। कतिपय सन्दर्भमा उनले विश्वमा भइरहेका युद्व आफू राष्ट्रपति भए भने रोक्ने उद्घोष समेत गरेका थिए।
रूस–युक्रेन युद्ध रोक्न अग्रसरता
आफ्नो उद्घोषअनुरूप राष्ट्रपति ट्रम्पले रूस–युक्रेन युद्ध रोक्न अग्रसरता देखाए, निरन्तर अमेरिकी र युरोपेली युनियन सहयोगको जगमा रूससँग युद्धमा रहेको युक्रेनलाई ट्रम्पले दबाब बढाए। रूसका राष्ट्रपति भ्याल्दिमुर पुटिनसँग समदूरीमा रहेका उनले रूस युद्ध अन्त्य गर्न तयार रहेको भन्दै त्यसका लागि युक्रेनमाथि दबाब बढाए। नमान्ने हकमा अमेरिकी सहयोग पूर्णतः बन्द गरिदिए, साथमा युक्रेनमा खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गरे। दबाब बढाएर किन नहोस् रूस–युक्रेन युद्ध अन्त्यका लागि पहलकदमी लिए, अहिले युद्ध बिराम गर्ने अवस्था बनेको छ।
युक्रेनले रूसले भूमि कब्जा गरेको र त्यो भूमि फिर्ता हुनुपर्ने माग छाडेको छैन भने रूसले पनि युक्रेनले कब्जा गरेको आफ्नो भूमि छाड्नुपर्ने शर्त कायम राखेको छ। तर अमेरिकी दबाब र उपस्थिति युद्ध नगर्नका लागि भएसँगै दुवै देश चुप बस्ने स्थिति बनेको छ। युरोपमाथि पनि खनिएका राष्ट्रपति ट्रम्पको सक्रियतालाई पछिल्ला दिनमा युरोपेली मुलुकहरूले पनि खुलेरविरोध गर्न सकिरहेका छैनन्।
इजरायल–प्यालेस्टाइन युद्ध मत्थर
अशान्त मध्यपूर्वमा पनि ट्रम्प नीतिले काम गरिरहेको छ। लामो समयदेखि युद्ध ग्रस्त क्षेत्र गाजालाई लिएर ट्रम्पले इजरायल र प्यालेस्टाइनमाथि दबाब बढाएका छन्। अमेरिकाको सहयोग रहँदै आएका अवस्थाबीच उनको हात झिक्ने धम्की अनि बन्धक बनाइएका अमेरिकी नागरिकहरूलाई नछाडे ध्वस्त बनाइदिने चेतावनीपछि अहिले मध्य पूर्वको युद्ध मत्थर भइरहेको छ। गाजालाई अमेरिकी क्षेत्राधिकारभित्र राख्ने उनको प्रस्तावलाई लिएर आलोचना भइरहे पनि अमेरिकाको शक्तिलाई आफ्नो हतियार बनाएर ट्रम्प अघि बढिरहेका छन्। इरानलाई पनि बेला बेलामा सचेत बनाउन ट्रम्प चुकिरहेका छैनन्।
चीनसँग कर नीतिमा लचिलो
सुरुमा चीनसँगको कर नीतिमा निकै कडा देखिएका ट्रम्प फेरि लचिलो बनेर चीनसँगको सम्बन्ध सुधारमा पनि एकहदसम्म सफल देखिएका छन। चीनमा उत्पादन भएका वस्तुको आयातमा झन्डै ४ सय प्रतिशतसम्मको कर लगाउने घोषणा गरेर ‘व्यापार युद्ध निम्तने होकी भन्ने खतरा’ बीच सहमति गरी त्यसलाई पनि सल्टाउन ट्रम्प सफल भएका छन्।
आन्तरिक र बाह्य नीतिमा बिगतको भन्दा फरक दबाब पूर्ण नीतिमा जोड दिँदै आएका ट्रम्पको यो कदमले तत्काललाई भने परिणाम दिइरहेको छ। अलि बढी र कठोर कदम घोषणा गर्ने सहमतिमा आउँदा अमेरिकालाई फाइदा नै पुग्ने गरी अघि बढ्ने नीति ट्रम्पले लिएको देखिन्छ।
अमेरिका भित्र पनि निकै आलोचना खेप्दै आफ्नो नीतिलाई कार्यान्वयन गरिरहेका ट्रम्प विश्व राजनीतिमा पनि फरक शैलीमा आफ्नो उपस्थितिलाई सिद्द गरिरहेका छन्। ग्रिनल्याण्डमाथि अमेरिकी उपस्थिति सम्मको विषयलाई निकै सरल रूपमा दाबा गरिरहेका उनी क्यानडामाथि पनि धावा बोलिरहेका छन्।
मध्यपूर्वदेखि अफ्रिका, एसियादेखि युरोप अनि सेन्ट्रल र दक्षिण अमेरिका जहाँको विषयमा पनि ट्रम्पले आफ्नो उपस्थिति खोजिरहेका देखिन्छन्। परम्परागत अमेरिकी स्वभावभन्दा भिन्न, उनी अमेरिकी प्रभाव र अमेरिकाको वर्तमानको अवस्थालाई हतियार बनाउँदै दबाबका साथ अमेरिकाको भूमिका बढाइरहेका छन्।
सबै युद्ध रोकिनेछन्
राष्ट्रपति ट्रम्पले जनवरी २०,२०२५ मा उद्घाटन भाषणमा विश्वले देखेको सबभन्दा बलियो अमेरिकी सेना निर्माण गर्ने वाचा गरेका थिए। उनले भनेका थिए, ‘हाम्रो शक्तिले सबै युद्धहरू रोक्नेछ र क्रोधित, हिंसात्मक र पूर्णरूपमा अप्रत्याशित संसारमा एकताको नया“ भावना ल्याउनेछ।
हामीले जितेका लडाइँहरूबाट मात्र होइन, हामीले अन्त्य गर्ने युद्धहरूबाट पनि हाम्रो सफलता मापन गर्ने छौं, र सायद सबैभन्दा महत्वपूर्ण कुरा, हामी कहिल्यै नफर्कने युद्धहरूबाट पनि पार पाउन सक्नेछौं।’ ट्रम्पको थप भनाइ थियो, ‘आज मैले हस्ताक्षर गरेको आदेशअन्तर्गत, हामी कार्टेलहरूलाई विदेशी आतंकवादी संगठनको रूपमा पनि तोक्ने छौं।
१७९८ को विदेशी शत्रु ऐनलाई लागू गरेर, म हाम्रो सरकारलाई संघीय र राज्य कानुन प्रवर्तनको पूर्ण र विशाल शक्ति प्रयोग गरेर सबै विदेशी गिरोह आपराधिक सञ्जालहरूको उपस्थितिलाई हटाउन निर्देशन दिनेछु, जसले हाम्रा सहरहरू र भित्री सहरहरूसहित अमेरिकी माटोमा विनाशकारी अपराध ल्याउँछ।’ सीमा क्षेत्रहरूमा लागुऔषध नियन्त्रणका लागि कठोर कदम चाल्ने पनि बताएका थिए।
त्यसका लागि जुनसुकै मूल्य पनि चुकाउन अमेरिका तयार रहने उनको अभिव्यक्ति थियो। उनले मेक्सिको भित्र विशेष बल वा ‘किल टोलीहरू’ पठाउने कि नपठाउने भनेर उल्लेख नगरेपनि लागुऔषध नियन्त्रणका लागि युद्ध गर्न पनि अमेरिका नचुक्ने चेतावनी दिएका थिए। ‘कमान्डर इन चिफको रूपमा मेरो देशलाई धम्की र आक्रमणहरूबाट बचाउनुभन्दा ठूलो जिम्मेवारी छैन, र त्यो नै म गर्न गइरहेको छु। हामी यो पहिले कहिल्यै नदेखेको स्तरमा गर्नेछौं,’ उनले थपेका थिए।
पानामा नहर फिर्ता गर्ने
ट्रम्पले पानामा नहर ‘फिर्ता लिने’ आफ्नो मनसाय दोहोर्याएका थिए, यद्यपि उनले यो कसरी गरिनेछ भन्ने खुलाएनन्। जुन उनले राष्ट्रपति कार्यकालको सुरुवाती चरणमै दवाव पूर्णरूपमा अघि बढाएका छन्। सेप्टेम्बर ७, १९७७ मा हस्ताक्षर गरिएको पानामा र संयुक्त राज्य अमेरिका बीचको तटस्थता सन्धिले पानामा नहरको स्थायी तटस्थता, अन्तर्राष्ट्रिय ट्रान्जिट जलमार्गको रूपमा सबै राष्ट्रहरूको लागि नहरमा निष्पक्ष पहु“चको सुनिश्चितता दिन्छ र पानामाली क्षेत्रमा विदेशी सैन्य उपस्थितिलाई निषेध गर्दछ, जसमा पानामाले एकल सञ्चालन र प्रशासनिक नियन्त्रण राख्छ। यद्यपि, संयुक्त राज्य अमेरिकाले नहरको तटस्थताको रक्षा गर्न सैन्य बल प्रयोग गर्ने अधिकार सुरक्षित राखेको छ।
ट्रम्पले कुनै न कुनै रूपमा १९७७ को सम्झौता ‘भंग’ भएको दाबी गरेका थिए। त्यो सम्झौता अमेरिकाका लागि मुर्ख उपहार भएको टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले यो मुर्ख उपहारबाट हामीस“ग धेरै नराम्रो व्यवहार गरिएको छ जुन कहिल्यै गरिनु हुँदैनथ्यो। र, पानामाले हामीलाई गरेको वाचा तोडिएको छ। हाम्रो सम्झौताको उद्देश्य र हाम्रो सन्धिको भावना पूर्ण रूपमा उल्लंघन गरिएको छ। अमेरिकी जहाजहरूलाई गम्भीर रूपमा बढी शुल्क लगाइएको छ र कुनै पनि तरिका, आकार वा रूपमा निष्पक्ष व्यवहार गरिएको छैन। र, त्यसमा संयुक्त राज्य अमेरिकाको नौसेना पनि समावेश छ। र, सबैभन्दा माथि, चीनले पानामा नहर सञ्चालन गरिरहेको छ, र हामीले यसलाई चीनलाई दिएनौं, हामीले यसलाई पानामालाई दियौं।
हामी यसलाई फिर्ता लिइरहेका छौं। ट्रम्पले भाषणमा भनेका थिए। जसपछि अहिले राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको संरक्षणभित्र पानामा नहरमा राख्ने कार्यलाई अगाडि बढाएका छन्। उनले ग्रिनल्याण्डमा समेत अमेरिकी अधिकार स्थापित गर्नु अमेरिकाका लागि रणनीतिक रूपमा आवश्यक रहेको भनी दिएको अभिव्यक्तिलाई सिद्ध गर्न लागिरहेका छन्।
राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको सुरुवातमै आफूले राष्ट्रपति कार्यकालमा गर्न खोजेको कार्य र अमेरिकी योजनालाई प्रष्ट ढंगले राखेका ट्रम्पले आफ्ना उद्घाटनका अभिव्यक्ति अनुरूपमै कामहरू अघि बढाइरहेका छन्।
ट्रम्पले शपथ ग्रहण लगत्तै दिएको यो अभिव्यक्तिप्रति विश्वका नेताहरूले आश्चर्य मान्दै अमेरिकाले अवलम्बन गर्ने नीतिमा सबै कुरा निर्भर रहने प्रतिक्रिया दिएका थिए। कतिपयले अमेरिका युद्धबाट टाढा जान नसक्ने र युद्धमा अमेरिकाको निहित स्वार्थ छिपेको धारणासमेत राखेका थिए। तर समय क्रमस“गै राष्ट्रपति ट्रम्पले अमेरिकी भूमिका र उपस्थिति मात्र बढाइरहेका छैनन् आग्रह नगरी निर्देशन वा दबाब दिएर आफूले बुनेका योजनाहरू फत्तै पारिरहेका छन्।
अमेरिका विश्वबाट अलग बन्ने अवस्था रहे पनि आफूले लिएको नीतिबाट पछि नपर्ने गरी उनले खासगरी युद्ध ग्रस्त क्षेत्रहरूमा अमेरिकी पहु“चलाई स्थापित गर्दै अमेरिकी चाहना सम्बोधन गराउन कतिपय अवस्थामा बाध्य पार्दै युद्ध अन्त्यका लागि भूमिका निभाइरहेका छन्।
ताइवान अलग देश
राष्ट्रपति ट्रम्पले अमेरिकाका लागि ईन्डो प्यासिफिक क्षेत्रमा ताइवानको आवश्यकता बुझेर ताइवान नीतिमा अमेरिकी धारणा प्रष्ट पारिरहेका छन्। उनले ताइवान अलग देश रहेको अमेरिकी विश्वासलाई बेला बेला दोहोर्याइरहेका हुन्छन्। राष्ट्रपति ट्रम्पको मुख्य ध्यान ग्रिनल्याण्ड, पानामा केनल र ताइवान अलग देश रहेकातर्फ केन्द्रित रहेको देखिन्छ।
राष्ट्रपति ट्रम्प मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि गाजादेखि रियादसम्म सम्झौताहरू गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको मध्यपूर्वको भ्रमणका क्रममा साउदी अरेबिया, कतार र यूएईमा रहेर उनले मध्यपूर्वमा भइरहेको युद्ध अन्त्यका लागि पहलकदमी लिए।
कहिले आफू नै गएर वार्तामा बसे त कहिले विदेशमन्त्री मार्को रुबियोलाई जिम्मेवारी दिए। ट्रम्पले यमनलाई इजरायली लक्ष्यहरूमा आक्रमणहरू रोक्न आवश्यक नपर्ने गरी हुथीहरूसँग युद्धविरामको वार्ता गरे, र अमेरिकी–इजरायली बन्दीको रिहाइको बदलामा गाजामा मानवीय सहायता प्रस्ताव गर्ने हमाससँग प्रत्यक्ष वार्तालाई अधिकार दिए।
अमेरिकासँग नजिक मानिएको इजरायललाई पनि दबाब बढाउन राष्ट्रपति ट्रम्प चुकेनन्। वासिङटन र तेलअभिभ बीचको शक्ति सन्तुलन बिग्रने डरका बीच पनि इजरायललाई समेत युद्ध बिरामका लागि दबाब दिए। राष्ट्रपति ट्रम्पको पछिल्लो सक्रियताले दुई दशकभन्दा बढी समयदेखि तथाकथित विश्वव्यापी ‘आतंकवाद विरुद्धको युद्ध’ र मध्यपूर्वमा शासन परिवर्तनमा अमेरिकाको स्वार्थ र भूराजनीतिक अर्थलाई पनि बल पुर्याइरहेको छ। मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि अमेरिका लचक बनेको सन्देशसमेत राष्ट्रपति ट्रम्पले प्रवाह गरे।
ट्रम्पले गत मंगलबार अमेरिकाले यमनमा हुथीहरूमाथि बमबारी रोक्ने घोषणा गरे, इरान–समर्थित समूहले मध्यपूर्वमा महत्वपूर्ण ढुवानी लेनहरूमा अवरोध रोक्न सहमत भएको पनि बताए।
ट्रम्पको यो घोषणा पछि, ओमानले युद्धविराम सम्झौतामा मध्यस्थता गरेको बताएको छ, जुन अक्टोबर २०२३ मा गाजामा इजरायलको युद्ध सुरु भएदेखि नै हुथी नीतिमा ठूलो परिवर्तन हो। विश्वमा विभिन्न ठाउ“हरूमा भइरहेको युद्धका क्रममा सहयोगका लागि अमेरिकाको ठूलो धनराशी खर्च हु“दै आएको छ। विश्वमा आतंकवाद अन्त्य गर्ने अमेरिकी नीति अनुरूप अमेरिकाको बजेटको ठूलो हिस्सा रक्षा क्षेत्रमा खर्च भइरहेको छ, यसलाई कम गर्न पनि युद्ध अन्त्यका लागि अमेरिकाको चाहना आवश्यक रहेको राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन्।
अमेरिकामा अहिले संसद्मा समेत उनी निकटको दलको स्पष्ट बहुमत रहेकाले पनि कतिपय उनका योजनाहरू कार्यान्वयनमा सहजता भइरहेको छ। आन्तरिक रूपमा पनि कतिपय नीति नियम परिवर्तन गर्दै अघि बढिरहेका राष्ट्रपति ट्रम्प विश्वलाई नै प्रभाव पार्ने नीति परिवर्तनमा पनि उत्तिकै रूपमा होमिएका छन्।
भारत–पाकिस्तान तनावमा मध्यस्थता
दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानबीच वैशाख २४ देखि तनावपूर्ण अवस्था सिर्जना भयो। दुवै पक्षले भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी गरे। तनावपूर्ण अवस्था सिर्जना भयो। जसका कारण क्षेत्रीय राजनीति र विश्वव्यापी रूपमै चिन्ता बढायो।
तर, वैशाख २७ गते अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लाटफर्म ‘ट्रुथ सोसल’ मा पोस्ट गरे– रातभरिको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबीच पूर्णरूपमा र तुरुन्तै युद्धविराम गर्ने सहमति भएको घोषणा गर्न पाउँदा म खुसी छु। विवेक र सही विचार सहितको यस कदमका लागि म दुवै देशलाई बधाई र धन्यवाद दिन चाहन्छु।’
ट्रम्पको यो पोस्ट लगत्तै भारत र पाकिस्तानका अधिकारीहरूले पनि युद्धविराम भएको स्वीकार गरे। दक्षिण एसिया मात्र होइन, विश्व राजनीतिमा यसले सकारात्मक सन्देश फैलायो। भारत र पाकिस्तानको युद्धविरामका लागि ट्रम्प नीतिले महत्वपूर्ण भूमिका निर्वाह गरेको कतैबाट छिपेको छैन।
प्रतिक्रिया दिनुहोस !