भारतले भन्यो– खराब मौसममा पनि पाकिस्तानले हवाई क्षेत्र प्रयोग गर्न दिएन
काठमाडौं : भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)ले इन्डिगो एयरलाइन्सको विमान एयर टर्ब्युलेन्समा फसेको बारेमा जानकारी दिएको छ। शुक्रबार डीजीसीएले एक विज्ञप्ति जारी गर्दै मौसमका कारण इन्डिगो एयरलाइन्सको विमान एयर टर्ब्युलेन्समा फसेको जनाएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार डीजीसीएले मे २१ मा पठानकोट नजिकै विमान उडिरहेको बेला अचानक मौसम खराब भएको उल्लेख गरेको छ।
मौसमको अवस्थाका कारण उडान नम्बर ६ई–२१४२ का चालक दलले लाहोरलाई सम्पर्क गरेर हवाई क्षेत्र प्रयोग गर्न अनुरोध गरेपनि पाकिस्तानले अस्वीकार गरेको जनाएको छ।
दिल्लीबाट श्रीनगर उडान गरिरहेको इन्डिगो एयरलाइन्सको चालक दलले अनुमति नपाएपछि सबै प्रोटोकल पालना गर्दै खराब मौसमको बीचमा विमानलाई श्रीनगरमा सुरक्षित अवतरण गराएको डीजीसीएले उल्लेख गरेको छ।
डीजीसीएले आफ्नो विज्ञप्तिमा विमानमा सवार कुनै पनि यात्रु घाइते नभएको पनि उल्लेख गरेको छ। तर विमानको अगाडिको भागमा क्षति पुगेको छ। विमानमा २२७ जना यात्रु सवार थिए।
प्रतिक्रिया दिनुहोस !