एयरपोर्टबाट ५०औं लाखको भ्रष्टाचार सरकारको हातमा गइराखेको छ : प्रचण्ड (भिडियो)
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मानव तस्करीबाट ५०औं लाखको भ्रष्टाचार सरकारबाट भइरहेको बताएका छन्। बागलुङमा बजारमा आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विमानस्थल र भन्सार भ्रष्टाचारको अखडा भएको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख नै मानव तस्करी घटनामा मुछिएपछि अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्। 'एयरपोर्टमा, भन्सारमा कति दिन लाखौं र करोडौंको घोटला हुने गरेको छ। म प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा एकपछि अर्को नीतिगत निर्णय गरेर टाइट गरेका थियौं। अहिले एकैदिन एउटै रुटबाट ५०औं लाख सरकारको हातमा गइराखेको छ, भ्रष्टाचारको रूपमा,' उनले भने।
सरकार नै भ्रष्टाचारमा मुछिनु चिन्ताको विषय भएको उनको भनाइ छ। 'यो स्थिति भएपछि कसरी आर्थिक गतिविधिमा सुधार हुन्छ? निकै चिन्ताको विषय भएको छ,' उनले भने।
माओवादी अध्यक्ष प्रचण्डले सरकारले यसखालका घटनाबाट शिक्षा नलिए आन्दोलन गर्ने चेतावनी पनि दिए। उनले माओवादीको अभियान नै सरकारको गलतका कामविरुद्ध भण्डाफोर गर्नु रहेको बताए।
'हामीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा लगातार जोड दिएका छौं। अहिले हामी देशव्यापी अभियानमा जानुको पछाडि पनि सरकारको गलत कामको भण्डाफोर गर्नु, सरकारलाई खबरदारी गर्नु हो। यति हुँदा पनि सरकारले शिक्षा लिँदैनन् भने आन्दोलनको तयारी गर्ने उद्देश्य पनि हाम्रो छ,' उनले भने।
हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलका अध्यागमन प्रमुख तीर्थराज भट्टराई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। भिजिट भिसामा जानेहरूसँग अनधिकृतरूपमा पैसा असुली गरेको सूचनापछि आयोगले भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो।
\
प्रतिक्रिया दिनुहोस !