गण्डकीमा ‘झ्याम्म–झ्याम्म !’

गण्डकीमा ‘झ्याम्म–झ्याम्म !’

गण्डकी प्रदेशको संस्कृतिको विविध रूप र भेषभूषाको प्रयोग भएको देख्दा लाग्छ हाम्रा ऋषिमुनिले तपस्या गर्दाका बखत मनोरञ्जन र संस्कारजन्य संस्कृति बचाउन बल गरेको देखिन्छ।

देशका हरेक क्षेत्र र भूगोलका गीतहरू माटोका बास्ना हुन् । जसले यी गीतहरूलाई सुँघ्न सक्छ, सुगन्धित बास्नाको आनन्द लिनसक्छ । पूर्वी नेपालमा भर्खर मात्र मनाएको किरात–राईको प्राचीन संस्कृति र संस्कार बोकेको साकेवा संस्कृतिले जिउँदो इतिहास सजीवरूपमा देखायो । केही फरक छ साकेवा नृत्य र देउडा गीत, नृत्यमा ।

समग्रतामा, अध्ययन गर्दा उभिएर शरीरलाई सन्तुलित रूपमा चलायमान गर्दा नाच्ने तरिका र देउडागीत र खेलको स्वरूपले कताकता एकरूपता देखाउँछ । हातमा ढोलक, झ्याम्टा बोकेर गीतको लयअनुसार सुर, तालमा अघि/पछि हिँडेर सामूहिकरूपमा गीत गाउने प्रचलन र डेढीकदम चलाएर देब्रेबाट दाहिनेतिर अघि बढ्दै गोलाकार रूपमा घुमेर गीत गाउने चलनले सम्पूर्ण भूगोल भित्रका हामीहरूको संस्कृति परिवेश एकै किसिमको हो भन्ने प्रमाण देखाउँछ । देउडा गायनमा विशेष परिस्थितिमा मात्र दमाहा, सहनाई र टेम्को प्रयोग हुन्छ । हुड्क्याउली गीतमा भने बाजाको प्रयोग बढी हुन्छ ।

गण्डकी प्रदेशको संस्कृतिको विविध रूप र भेषभूषाको प्रयोग भएको देख्दा लाग्छ हाम्रा ऋषिमुनिले तपस्या गर्दाका बखत मनोरञ्जन र संस्कारजन्य संस्कृति बचाउन बल गरेको देखिन्छ । लोकसंस्कृतिले धपक्कै ढाकेको यो प्रदेशको डाडाकाँडा, गाउँबस्ती, रनबन, थुम्काहरू यसै रसिला र भरिला भएका होइन रहेछन् । जुन जिल्लाका बस्तीहरूमा पुगे पनि कतै सालैजो भाका, ठाडी भाका र कतै रोइलाका मधुर स्वरहरू सुनिन्छन् । वेद व्यासले तपस्या गरेको गुफा, कन्दराबाट निस्केका ध्वनिहरू कालाान्तरमा लोकभजनका रूपमा देखा परेभन्दा अत्युक्ति नहोला ।

गण्डकी प्रदेश र बागमती प्रदेशका गाउँबस्तीमा गाइने प्रचलित टुक्का, लोकभजनले नेपाली भूमिलाई सिञ्चित तुल्याएको मान्न सकिन्छ । हातहातमा खैजडी, मनमनमा आध्यात्मिक शैलीका शब्दहरूले रामायण महाभारतकालीन कथावस्तुलाई छर्लंग्याएको देखिन्छ । गण्डकी प्रदेशका लोकभाकासँगैै देउडागीतको परम्परागत संस्कृति मिसाउँदा हालै यही अनुभूति भयो । देउडा गीत, देवस्तुतिमा प्रयोग गरिने शब्द र शैली गण्डकी प्रदेशका लोकभजन, लोकसंस्कृतिमा पनि देखियो,  सूक्ष्म ढंगले अध्ययन गरेको खण्डामा ।
माथि पण्यो माछापुच्छ्रे तल फेवाताल कति त डुबेर मर्‍या ज्यान गयो अकाल ।
हरियाली रनबन छाँगा र छहरा
अमृतधारा बगाइदिन्छन् पाखा र पखेरा ।
सोरठीको तालसँगैै देउडा गीतको भाका
वनबस्ती उजाडै लाग्यो कोइ लाखा कोइ पाखा ।

‘झ्याम्म... झ्याम्म’ र ‘गलबन्दीमा रातो धागो’ लगायतका कालीकर्णालीका वनबस्तीका कालजयी भाकाहरूमा गण्डकीका शब्द मिसाएर गाउँदा गण्डक क्षेत्रका उज्याला अनुहारहरूले नयाँ गीतको स्वाद पाएर होला सबैले ‘झ्याम्म... झ्याम्म’ गाए । मञ्चमा देउडाको खेल त मिलाउने प्रयास गरे तर नौलो चालमा पाइताला अघि बढाउन सकेनन् । तर पनि रमाई रमाई घुमे, नथाकुन्जेल उनीहरू घुमिरहे । क्यामेरा मेन र पत्रकारजनले आफूखुसी ती मनहरूलाई कैद गरे । लोकगायनका हस्तीहरू हरिदेवी कोइराला, रीता थापा, राधिका हमाल (रोल्पा), रेशम सापकोटा (बाग्लुङ), पूर्णकला विसी (बर्दिया), गायिका कमला परियार (बाग्लुङ) आदिको प्रतिक्रिया थियो– गीतसंगीत र नेपाली संस्कृति त रारा र फेवा ताल जस्तै रहेछ, जसले पनि पौडन सक्ने ।

अझ, देउडागीतलाई प्रथमपटक पोखराको आगनीमा पुर्‍याएर यहाँका मीठा शैलीसँगै मिसाएर गाउँदा त झरनाको मीठो पानीले प्यास मेटाएको जस्तो लाग्ने रहेछ । देउडा गायनलाई विस्तार गर्ने क्रममा मालिका म्युजिक प्रालिका तर्फबाट २०५४ साल वर्षामासमा गण्डकी र धवलागिरीका केही जिल्लाको भ्रमणमा जाँदा बाग्लुङ बजारको बीच भागमा सयौं जनका माझ देउडा गाएको याद आयो । यसैगरी, द्वन्द्वको बेला पुनः पोखराको चिप्लेढुंगा र बाग्लुङको खुल्ला मैदानमा हजारौं संस्कृतिप्रेमीमाझ देउडा प्रस्तुत गर्दा साहित्यकार प्रेम छोटा र जनगायक जीवन शर्माले देउडागीतको बीजारोपणले कालीकर्नालीको चिसो जल यहाँको माटो र धवलागिरि अनि माछापुच्छ्रे हिमालको शितल छायाँको आशीर्वादले निरोगी हुनुहुनेछ भनी दिनुभएको शुभेच्छा सम्झिरहेछु ।

२०६२/६३ सालको जनआन्दोलनमा जनजागरणका लागि मानवतावादी व्यक्तित्व कृष्ण पहाडी, वरिष्ट पत्रकार पुरुषोत्तम दाहाल, कवि अर्जुन पराजुली, डा. गंगाधर अधिकारीलगायतको समूहमा मिसिँदा म्याग्दीको सदरमुकाम बेनी बजारमा कर्णालीको पुरानो भाका ‘रूपस्या मेरीय, ढुंग्री सेरीय’ गाउँदा स्थानीय नरनारी युवा हौसिएर नाँचेको मानसपटलमा ताजा छ । त्यसबेला शान्ति समाजका सभापति पहाडीले लोकतन्त्र स्थापनापछि पनि देउडागीत गाउन न छाड्नु होला भन्दै शुभेच्छा प्रकट गर्नुभएको थियो ।
धवलागिरि हाँसेको छ बाग्लुङ बजार हेरी
म सम्झन्या छु हजुरलाई दिनका नौ फेरी । 
(झ्याम्म... झ्याम्म...)

अहिले म्याग्दीका मौलिक भाकाहरूलाई जतनका साथ संकलन गरी लोकसर्जक खड्ग गर्बुजाले मीठो शैलीमा न्यायपूर्ण ढंगले गाएर भाषाको पनि विस्तार गरिरहेछन् । संस्कृतिविद् डा. कुशुभाकर न्यौपाने जन्मेको भूमि पर्वतका कौस्तुभ पन्तको पनि विगतका वर्षदेखि लोकसंस्कृति संरक्षणमा गायन र रेकर्डिङमार्फत सक्रियता निकै बढेको पाइन्छ । जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमिया, जागरण गीत र कर्खा गीतमार्फत गरिब जनताका आवाजलाई सारांगीमार्फत चेतनाका स्वरहरू सुनाउने झलकमान गन्धर्व, नारी आवाजलाई सशक्त भएर जनसमक्ष ल्याउने र लोकभाकालाई जीवन्तता दिने हरिदेवी कोइराला, तीर्थ श्रेष्ठ, सरुभक्त आदि व्यक्तित्वले जन्म लिएको भूमि हो, कास्की पोखरा ।

जहाँ २०५४ सालदेखि बेलाबखत देउडागीतका भाकाहरू रोप्दै आइरहेकाले त्यहाँका संस्कृतिप्रेमी र साहित्यनुरागीका लागि देउडागीत संस्कृति वर्तमानमा नौलो विषय रहेन । हाल पोखराको विरौटामा चलिरहेको कोटिहोम महायज्ञ र प्रतियोगितात्मक लोकभजन, चुटकिला प्रतियोगिताका कार्यक्रमहरूमा देउडागीत प्रस्तुत गर्दा यही कुरा दर्शायो । भजन गायनमा नाच्न संकोच नमान्ने भक्तजन र लोकभजन प्रतियोगितामा रामायण महाभारतमा वर्णित कथाबस्तुमा आधारित पात्रका रूपमा भूमिका खेली समाजलाई सचेतना फैलाउने कलाकारको भूमिका उल्लेख्य रह्यो । देउडा लोकलयका भाकाहरूमा पनि सोही मुताविक नृत्य (खेल) गरेको देखेर अब नेपाली लोकसंस्कृतिबारे राष्ट्रिय स्तरमा बहस गर्नु आवश्यक रहेको महसुस गरियो ।

हरिदेवी कोइराला, अमरविरही गुरुङ, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने लगायत कलाकारको पसिना बगेको भूमि पनि हो, कास्कीको पोखरा । प्रजापति पराजुलीका सहोदर दाजु दुर्गादत्त पराजुली (७४ वर्ष) हौसिएर भन्दै थिए– चुटकिला, रोइला, कर्खा गायनमा देउडागीत मिसिएपछि अब समावेशी संस्कृतिले मूर्तरूप पाउने भयो । हुन पनि देउडा गायन सुरु भएपछि सभाहल र मञ्चमा ननाच्ने मानिस को थिए होला र ? यसरी फैलनुपर्छ जनसमक्ष मेची–कालीको समग्र लोकसंस्कृति । भोलिका पिँढीलाई छाडेर जाने नासो भन्नु नै यही कला र संंस्कृति हो । 
डाँडाकाँडा देउडा खेल्छन् हाँसी बस्छ हिमाल 
स्वर्गको बगैंचा जस्तो हाम्रो देश नेपाल ।

नन्दकृष्ण जोशी 

देउडा गीत
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.