बिहे घरमा झडप हुँदा पाँचजना घाइते

बिहे घरमा झडप हुँदा पाँचजना घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–६ कदमहास्थित एउटा बिहे घरमा दोहोरो झडप भएको छ। बेहुला र बेहुली पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। भजनलाल सहनीको छोरीको बिहे चलिरहेका बेला शुक्रबार राति ११:३० बजेतिर झडप भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार बिहे विधि चलिरहेका बेला डिजे बजाएर नाच्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो।

मदिरा सेवन गरेका जन्ती (बेहुला पक्ष) र घरगाउँले (बेहुली पक्ष)बीच बढेको विवाद झडपमा परिणत भएको पाइएको जोशीले बताए। झडपमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएको प्रहरीले जनाएको छ।

झडपमा दुवै पक्षका घाइते भएका छन्। तीमध्ये वीरेन्द्र र श्रवण बेहुली पक्ष तथा अरु ३ जन्तीहरु रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ। ३ जनाको टाउकोमा चोट लागेको छ। घाइतेहरुको टाउकोमा टाँका लगाइएको र सबै जना खतरामुक्त रहेको जोशीले बताए।

उनका अनुसार विराटनगरको पिचराबाट बेहुला लिएर जन्तीहरु बेहुली लिनलाई धनपालथान पुगेका थिए। बिहेको कार्यक्रम चलिरहेका बेला बेहुला र बेहुली पक्षबीच विवाद बढेर झडप भएको हो। बिहे घर रणमैदानमा परिणत हुँदा मण्डप र कुर्सीहरु तोडफोड भएका छन्।

तोडफोडमा उत्रिएकाहरुले बिहेको मण्डप नै भत्काइदिएका हुन्। झडप भए पनि जन्ती भने बेहुला र बेहुली लिएर शनिबार बिहानका राति १ बजेतिर विराटनगर फर्किएका थिए। प्रहरीका अनुसार झडपले बिहे स्थल तनावग्रस्त भएपछि तत्कालै बेहुली अन्माएर पठाइएको थियो।

बेहुली लिएर फर्किएको जन्तीको टोलीलाई प्रहरीले स्कर्टिङ गर्नुपर्ने अवस्था आयो। घटनाको संवेदनशीलता देखेर प्रहरीले जन्तीलाई स्कर्टिङ गरेर सुरक्षित रूपमा पठाएको हो। अत्यधिक मदिरा सेवन र अनुशासनहीन व्यवहार नै झडपको मुख्य कारण रहेको प्रहरीले जनाएको छ।

बिहेजस्तो पवित्र कर्म चलिरहेका बेला भएको विवाद, झडप र तोडफोडले बदनाम बनाएको भन्दै स्थानीय अगुवाले दुःख व्यक्त गरेका छन्। प्रहरीले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै अनुसन्धानपछि दोषीमाथि आवश्यक कारबाही गरिने प्रतिबद्धता जनाएको छ।

झडपमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको डीएसपी जोशीले बताए। इलाका प्रहरी कार्यालय रंगेलीले घटनाको थप अनुसन्धान सुरु गरेर घटनामा संलग्नको खोजी गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.