‘तिमी हाम्रो हृदयमा अमर छौ’

१३औं पुण्यतिथि

‘तिमी हाम्रो हृदयमा अमर छौ’
फाइल तस्बिर।
सुन्नुहोस्

(चपुर) रौतहट :
तिमी समाचार लेख्थ्यौं, फणिदेव 
आज तिमीनै एउटा समाचार भयौ ।

तिमीले लेख्ने मस्यौदा अब बाँझो छ,
र हामीभित्र शब्दहरू भक्कानिएका छन्। 
जीवनले यस्तो शीर्षक लेख्ला भनेर 
कहिल्यै सोचेका थिएनौ। 
दैवको लीला,
त्यही लेख्नुपर्‍यो। 
प्रिय फणि भाइ, तिमी छैनौ,
तर, तिमी हाम्रो हृदयमा अमर छौ। 
मौन श्रद्धाञ्जलि। 

अन्नपूर्ण पोस्ट् दैनिकका रौतहट संवाददाता तथा एक सशक्त कलमजीवी सञ्चारकर्मी फणिदेव महतको निधनप्रति अन्नपूर्ण मिडिया नेटवर्कले दिएको यो मौन श्रद्धाञ्जलिका शब्दहरू हुन्। 

बिहीबार रौतहटको चन्द्रनिगाहपुर–४ स्थित स्व. महतको घर पुग्दा हरेक कुना, काप्चा र सम्पूर्ण माहौलले उनको भौतिक अनुपस्थितिलाई खोजिरहेको थियो। घरकै भुइँतल्लामा खोलिएको रेडियो सुप्रिम ८८.७ मेगाहर्जको बन्द भइसकेको कार्यालय, उनको रित्तो कुर्सी, लामो समयदेखि नखोलिएको कम्प्युटर र टेबुलमा घोप्टो परेको कलमले एक सशक्त कलमवीरको संघर्षमय जीवनको यात्रालाई मौन रूपमा बयान गरिराखेको थियो। 

आफ्नो अन्तिम समयसम्म पनि पत्रिकाको बाइलाइनमा उपस्थिति दर्ज गराउन खोज्ने पत्रकार फणिदेव महतको जीवन कुनै चलचित्रको कथाभन्दा कम छैन। उनको संघर्ष र सञ्चारकर्म प्रतिको निष्ठाले उनलाई सधैंभरिका लागि अमर बनाएको छ। 

२०३६ फागुन २८ गते मकवानपुरको हटियामा बुवा रामबहादुर महत र आमा देवनायकी महतको माइलो सन्तानको रूपमा जन्मिएका फणिदेव सानो उमेरदेखि नै निकै ऊर्जावान थिए। २०५० सालतिर पाँच दाजुभाइ र एक जना बहिनी र बुवाआमासँगै मकवानपुरबाट रौतहट सरेको उनको परिवारमा फणिको छवि सरल, सहज र इमान्दार बन्दै गयो। चन्द्रनिगाहपुरकै जनज्योति बहुमुखी क्याम्पसबाट स्नातकसम्म शिक्षा आर्जन गरेका फणिले पत्रकारिता पेसालाई नै अन्तिम समयसम्म अंगाली राखे। 

२०६४ सालमा नेपाल पत्रकार महासंघ रौतहट शाखाको सहसचिव भएका फणिलाई सम्झिँदै सो बेलाको कार्यसमितिका अध्यक्ष प्रेमचन्द्र झा भन्छन्, ‘उनीजस्तो व्यक्ति पत्रकारितामा पाउन निकै गाह्रो छ। मेरो कार्यसमितिमा सहसचिवका रूपमा रहँदा उनलाई मैले कहिल्यै पनि अनावश्यक तर्क बितर्कमा लागेको देखिन। आफ्नो काममा मात्रै मतलब राख्ने, सबैका लागि सहज हुने, साथीभाइहरूलाई केही दुःखपीडा आई हाल्यो भने मरिहत्ते गरेरसमेत सहयोग गर्ने स्वभाव थियो फणिजीको,’ झा उनलाई सम्झँदै भन्छन्, ‘कोरोना महामारी फैलिएको बेला पनि म दोस्रो पटकका लागि महासंघ रौतहट शाखाको अध्यक्ष भएको थिए। फणिजी यसपालि मसँग कार्यसमितिमा हुनुहुन्नथ्यो तर, उनको जिल्लाको सञ्चारक्षेत्रमा राम्रै स्थान थियो। 
 
उनले खोलेको सुप्रिम मिडिया प्रालिबाट रेडियो सञ्चालन गरिएको थियो भने उनले कलमपाटी डटकम अनलाइन पनि चलाइ रहेका थिए।  महामारीको बेलासम्म उनी पूर्णस्वस्थ थिए। हामीले महामारीमा परेका पत्रकारहरूलाई सहयोग गर्नका लागि सहायता कोष स्थापना गर्न लागेका थियौं। सो बेला फणिजीले स्वइच्छाले हामीलाई सात हजार रुपैयाँको चेक काटेर कोषमा रकम जम्मा गरिदिन भनेका थिए। म त्यो दिन सम्झिन्छु। उनले भनेका थिए मेरो सानो सहयोग कसैका लागि ठूलो आवश्यकताको साथी बन्न सक्छ। null

पछि उनी बिरामी भएको बेला सोही कोषबाट उनलाई हामीले ५१ हजार रुपैयाँ उपचार खर्चका लागि सहयोग गर्‍यौं।’  सञ्चारक्षेत्र प्रतिको समर्पण कतिसम्म थियो भने फणिले आफैंले रेडियो र अनलाइन सञ्चालन गरेर त्यसमा युवा सञ्चारकर्मीहरूलाई जागिरसमेत दिएका थिए। पत्रकारिता पेसा अँगाल्न चाहने नयाँ पिँढीका सहकर्मीहरूलाई सँगै राखेर काम सिकाउने र सहज रूपमा उनीहरूसँग प्रस्तुत हुने कलाले नै होला उनको निधनपछि रौतहटका मात्रै नभई उनीसँग नजिक भएका सबै सञ्चारकर्मीहरूले एक असलमित्र गुमाएको पीडा महसुस गरेका छन्।  ‘सधैं समाचारकै लागि उनी चिन्तित हुन्थे, विशेष गरी महिला, दलित र समाजमा पछाडि परेको वर्गहरूका लागि त उनी हरदम तयार अवस्थामै हुन्थ्यो। उनको सरल स्वभावले गर्दा होला जो कोही पनि चाँडै घुलमिल हुन्थे। समाचार खोज्नका लागि कहिल्यै अल्छी नमान्ने फणिले समाजमा कमाएको पुँजीनै विश्वास र उसको इमान्दारिता थियो,’ नेपाल पत्रकार महासंघ रौतहटका वर्तमान अध्यक्ष सञ्जय कार्की भन्छन्, ‘उनी बिरामी हुँदा पनि आत्मबल कहिल्यै कम भएन्। जतिखेर भेट्दा पनि ठीक छु भन्थे। सधैं हसिँलो र हार नमान्ने उनको अनुहार आँखै अगाडि हुन्छ। आँट यतिसम्म थियो कि मृत्युलाई समेत जितिदिन्छु जस्तो आत्मबल देखिन्थ्यो। तर, कालको अगाडि कसैको नचल्ने रहेछ।’

प्रेस चौतारी मधेस प्रदेशका पूर्वअध्यक्ष र महासंघको पार्षद्समेत भइसकेका फणिले सञ्चार क्षेत्रमा पुर्‍याएको योगदान र समाजमा आवाजविहीनको आवाज बनेको प्रमाण उनी अवसान हुँदा उनको अन्तिम यात्रामा रौतहटका हजारौं सर्वसाधारणको उपस्थितिले प्रमाणित गरेको थियो।  ‘उनी निष्ठाका पत्रकार थिए। समाजसँग जोडिएर सामाजिक आन्दोलनका मुद्दालाई सशक्त रूपमा उठान गर्थे,’ पत्रकार महासंघ मधेस प्रदेश समितिका अध्यक्ष श्याम बन्जारा भन्छन्, ‘फणिको सहज प्रस्तुतिबाट पाठक र  श्रोतामाझ निकै गहन विषयहरूलाई पस्किने गर्थे। विशेष गरी महिला र सीमान्तकृत वर्गको कथा र व्यथालाई उठान गर्दै आएको हुनाले पनि उनको मृत्युमा हजारौं मानिसहरूको आँखा रसायो। चन्द्रनिगाहपुरका बासिन्दाहरूसमेत मर्माहत बनेका थिए। उनको अवसानले निष्ठाको पत्रकारिता ओझेलमा परेको अनुभूति यस भेगका पत्रकारहरूले गरेका छन्।’ null

सञ्चारजगतमा बलियो उपस्थिति दर्ज गरेका फणिले ४७ वर्षको छोटो उमेरमै बिदा लिएपछि पत्नी सुनन्दा कार्की र दुई छोराहरूको भविष्यप्रति चिन्ता थपिएको छ। तर, भाग्यको लेखालाई टार्न सकिँदैन। फणिको स्मरणलाई मुटुमा साँची उनको सपनालाई साकार गराउनका लागि सबैको सहयोग र आवश्यकता अपरिहार्य छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.