कुलिङ पिरियड, समिति निर्णयविरुद्ध निजामती नेतृत्व

कुलिङ पिरियड, समिति निर्णयविरुद्ध निजामती नेतृत्व

काठमाडौं : झन्डै एक वर्षको रस्साकस्सीपछि राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयक समितिबाट सर्वसम्मत पारित गर्‍यो । जेठ २ गते समितिले पारित गरेको उक्त विधेयक जब प्रतिनिधिसभाको पूर्ण बैठकमा लैजाने तयारी गरियो, अचम्मको दृश्य देखा पर्‍यो ।

मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा एक दर्जन बढी सचिव हुल बाँधेर विधेयकका बुँदाप्रति असहमति जनाउँदै नेताहरूको घरदैलो अभियानमा लागे ।  अर्को विचित्रको दृश्य पनि देखियो– ‘घर दैलो अभियानमा समावेश भए, संसदका महासचिव पद्यमप्रसाद पाण्डे पनि । जबकि संसद्कै समितिले सर्वसम्मत पारित गरेको विधेयकको विपक्षमा त्यसकै नेतृत्वकर्ताले अभियान छेड्नु ‘संसदीय अभ्यासमै’ पहिलोपटक अचम्म र रोचकलाग्दो घटना पनि देखा पर्‍यो ।’ 

कुलिङले बेचैन 

पदमा हुँदा राजनीतिक लाइन मिलाउने, अनि सेवा निवृत्त लगत्तै फ्याट्ट संवैधानिक र राजनीतिक नियुक्ति लिने, विगतमा यसले विकृतिकै रूप लियो । अझ कतिपय निजामती सेवाका मुख्यसचिव/सचिवले त पदमै रहँदा पनि यस्ता नियुक्ति भटाभट लिए । त्यसैकारण राज्य व्यवस्था समितिले निजामती सेवासम्बन्धी विधेयकमा सेवा निवृत्त भएको दुई वर्षपछि मात्रै संवैधानिक र राजनीतिक नियुक्ति लिन पाउने समय (कुलिङ पिरियड) को व्यवस्था गर्‍यो । समितिको यो निर्णयले निजामती नेतृत्वमा हलचल ल्यायो । 

पदमा हुँदा राजनीतिक लाइन मिलाउने, अनि सेवा निवृत्त लगत्तै फ्याट्ट संवैधानिक र राजनीतिक नियुक्ति लिने, विगतमा यसले विकृतिकै रूप लियो । अझ कतिपयले त एक हातमा अवकाश अर्को हातमा नयाँ नियुक्ति पनि लिए । त्यसैकारण राज्य व्यवस्था समितिले निजामती सेवाबसम्बन्धी विधेयकमा सेवा निवृत्त भएको दुई वर्षपछि मात्रै संवैधानिक र राजनीतिक नियुक्ति लिन पाउने समय (कुलिङ पिरियड) को व्यवस्था गर्‍यो । समितिको यो निर्णय हटाउन निजामती नेतृत्व नेताहरूको घरदैलोमा लागेको छ । निजामती नेतृत्वको दबाबलाई राजनीतिक नेतृत्वले कसरी सम्बोधन गर्छ ? चासोको विषय बनेको छ । 

त्यसैकारण मुख्य सचिव अर्याल, संसद्का महासचिव पाण्डे सहितका सचिवहरू राजनीतिक नेताहरूको घरदैलो गरिरहेका छन् । उनीहरूले सभामुख देवराज पाण्डे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा लगायतसँग भेटघाट गरेर निजामती कर्मचारीका लागि कुलिङ पिरियडको व्यवस्था नराख्न दबाब दिइरहेका छन् । शीर्ष राजनीतिक नेतृत्वसँग पनि कुलिङ पिरियट हटाउन आग्रह गरिरहेका छन् । निजामती कर्मचारीको यो दबाबसँग राजनीतिक नेतृत्व झुक्छ वा झुक्दैन भन्ने परिक्षाको घडी पनि सुरु भएको छ । 

राजनीतिक नेतृत्व भर्सेस निजामती 
निजामती सेवामा ‘कुलिङ पिरियड’ को प्रस्तावले राजनीतिक नेतृत्व र निजामती नेतृत्वबीच असमझदारी बढेको देखिन्छ । दलका नेताहरू कुलिङ पिरियड राख्नैपर्ने पक्षमा छन्, तर निजामती नेतृत्व जसरी पनि कुलिङ पिरियड हटाउन सक्रिय छ । राज्य व्यवस्था समितिले उपसमिति बनाएर कुलिङ पिरियड, अवकाशको उमेरहद ६० वर्ष लगायतको विषयमा सर्वसम्मतिबाट निजामती विधेयक पारित गरेको हो । 

अवकाशपछि तुरुन्तै कूटनीतिक तथा संवैधानिक पदमा जाने आशा र विश्वासमा रहेका कर्मचारी नेतृत्वलाई यो व्यवस्थाले छाँगाबाट खसे जस्तो भएको छ । निजामती सेवाको उच्च ओहदाबाट अवकाश पाएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक र राजनीतिक नियुक्ति नपाउने गरी ‘कुलिङ पिरियड’ राखिएकोमा सचिवहरू तिलमिलाएका छन् । 

निजामती प्रशासन सर्वोच्च पदमा पदासीन मुख्यसचिव अर्यालकै नेतृत्वमा संघीय संसदका महासचिव पाण्डेसहितका सचिवहरू ‘कुलिङ पिरियड’ संघीय निजामती ऐनमा नराख्न लविङ गरिरहेका छन् । उनीहरू हुल नै बाँधेर नेताको घरदैलो दौडाहामा छन् । शक्तिकेन्द्र धाइरहेका छन् । यतिमात्र होइन उनीहरूले सामूहिक राजीनामा दिनेसम्मको धम्की सरकारलाई दिइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्म दबाब दिइरहेका छन् । उनीहरूले निजामती कर्मचारीमात्रै नभएर सबै सरकारी सेवामा लागू हुनुपर्ने नत्र कर्मचारीमा लागू हुँदा अन्याय हुने उनीहरूको तर्क छ । निजामती सेवाबाट अवकाश पाएको २ वर्षसम्म कर्मचारीहरूले कुनै पनि कूटनीतिक नियुक्त अथवा संवैधानिक नियुक्ति लिन नपाउने व्यवस्था गरेको छ । जसलाई बोलीचालीको भाषामा कुलिङ पिरियड भनिएको हो । कुलिङ पिरियडको अवधि देशपिच्छे फरक–फरक छ । 

प्रशासनिक नेतृत्वको पछिल्लो गतिविधि समग्र कर्मचारीतन्त्रलाई बदनाम बनाउनेतिर उन्मुख भएको छ । राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा मुख्यसचिव नै ट्रेड युनियनको नेता जस्तो भएर दौडिनु आश्चर्यचकित भएको बताउँछन् । 

कुलिङ पिरियडको विरोध किन ? 
कुलिङ पिरियडको विरोधमा कर्मचारी नेतृत्व हुनुको कारण धेरै छन् । पछिल्लो समय कर्मचारीतन्त्र र राजनीतिमा हाबी छ । त्यसो हुनुमा शक्तिशाली संवैधानिक अंगमा पूर्वकर्मचारीको नेतृत्व छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा परीक्षकको कार्यालय लगायतका संवैधानिक निकायमा पूर्वकर्मचारीको नेतृत्व रहँदै आएको छ । 

कुलिङ पिरियड लागू भएमा अहिलेसम्म संवैधानिक निकाय, राजदूत लगायतका उच्च पदमा सेवानिवृत्त कर्मचारीले गरिरहेको रजगज हट्छ । ती पद पाउँछु भन्ने आशा र विश्वास छ त्यो अन्त्य हुन्छ । अवकाशपछि वृत्ति विकासमा अवरोध सिर्जना हुन्छ । त्यस कारणले पनि उनीहरू कुलिङ पिरियडको विपक्षमा देखिँदै आएका छन् । कर्मचारीहरू कुलिङ पिरियडको प्रावधानलाई संवैधानिक र कानुनी व्यवस्थासँग बाझिएको बताउँछन् । 

३०–३५ वर्षसम्म सरकारी सेवामा विभिन्न ओहोदामा रहँदा योग्य हुने कर्मचारी अवकाशको पछि कसरी अयोग्य हुन्छ ? उनीहरूको तर्क छ । निजामती कर्मचारीहरूले कुलिङ पिरियडको प्रावधान संविधान र प्रचलित कानुनसँग बाझिएको दाबी उनीहरूको छ । विरोधमा उत्रिएका सचिवहरू भन्छन्– ‘नागरिकलाई कानुन बराबर लाग्छ, तर कानुनै बनाएर निजामती कर्मचारीलाई मात्र अयोग्य ठहर गर्नु विभेदपूर्ण छ । 

राजनीतिक व्यक्ति, सेना, प्रहरी, प्राध्यापक वा अन्य निकायमा कुलिङ पिरियड लागू नहुने, तर निजामतीलाई मात्र यो व्यवस्था लागू गर्नु विभेद होइन र ? संसदमा महासचिव पाण्डेले त कुलिङ पिरियडको व्यवस्थालाई सार्वजनिक रूपमा गैरकानुनी भनेका छन् ।’

कुलिङ पिरियडबारे कुन देशमा के छ ? 
विश्वका धेरै देशमा कुलिङ पिरियडको व्यवस्था छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडामा अनुसार कुलिङ पिरियड अमेरिका, क्यानाडा, बेलायतमा २/२ वर्ष छ । भारतमा एक वर्ष छ । अस्ट्रेलिया, जमर्नी, पोल्यान्ड लगायतका देशमा पनि कुलिङ पिरियडको व्यवस्था छ । 

ठूला पद पाउँछु भन्ने आशा 

मुलुकमा संवैधानिक निकाय, राजदूत लगायतका उच्च पदमा सेवा निवृत्त कर्मचारीलाई नियुक्त गर्ने चलन छ । पछिल्ला समय नियुक्त भएका अधिकांश संवैधानिक निकाय, राजदूत लगायतका उच्च पदमा पूर्वकर्मचारी नै छन् । पूर्वमुख्यसचिव विमल कोइराला ठूलाठूला पदमा सेवा निवृत्त कर्मचारीलाई नियुक्त गरिने भएका कारण नै कुलिङ पिरियडको विपक्षमा मुख्यसचिव, सचिव लगायतका उच्च तहका कर्मचारी लागेको बताउँछन् ।

उनले भने, ‘मुख्यसचिव, सचिवजीहरूको असन्तोष होला । निवृत्त निजामती कर्मचारीले नै संवैधानिक पदहरू, राजदूतहरू, अरू ठूलाठूला पदहरू पाउनुपर्छ भन्ने आशा र विश्वास पनि होला । त्यसैले दबाब दिनु भएको होला ।’ 

स्वार्थ बाझिने 
कर्मचारीलाई संवैधानिक निकाय, राजदूत लगायतका उच्च पदमा नियुक्त गर्ने परिपार्टीले गर्दा स्वार्थ बाझिने अवस्था आएकोे छ । ठूला कर्मचारीहरूले आफू पदमा बहाल रहँदा नै अनावश्यक सम्झौता गरेर पद लिने परिपाटीको विकास भएको छ । अघिल्लो दिन राजीनामा दिएर पछिल्लो दिन नयाँ पद लिने प्रवृत्ति पनि बढेको छ । कसै कसैले त सेवा निवृत्तको पत्र एक हातमा अर्को हातमा नयाँ नियुक्तिको चिठी पनि बुझ्ने गरेका छन् । 

कुलिङ पिरियड नहुँदा अवकाश अघि नै सचिवहरूले दाताको अनावश्यक सर्त स्वीकार गर्ने गरेको पाइन्छ । उनीहरूको पहुँच राजनीतिक दलको शीर्ष नेतृत्वको बेडसम्मै हुने गरेको छ । निश्चित स्वार्थका लागि उनीहरूले नीतिगत निर्णयमा पनि प्रयोग गरिरहेका हुन्छन् । दाता र व्यापारिक घरानाको स्वार्थमा पनि उनीहरूले कर्मचारीतन्त्रलाई प्रयोग गरिरहेको भेटिन्छ । अवकाश लगत्तै ती कर्मचारी तिनै व्यापारिक घराना र दाताको जागिर खानसमेत पुगेको धेरै उदाहरण छन् । कर्मचारीहरू जागिर सकिँदा नसकिँदै संवैधानिक निकाय जाने व्यवस्थाले प्रधानमन्त्रीभन्दा पनि कर्मचारी बलिया भएका छन् । null

कर्मचारीतन्त्र नै बदनाम 
कुलिङ पिरियड नहुँदा कर्मचारीतन्त्र बदनाम भएको छ । माथिल्लो तहमा जाने लोभमा जे पनि गर्ने प्रवृत्ति हाबी भएको छ । राजनीति नेतृत्वले भनेका नहुने काम पनि उनीहरूले गरिने गरेको पनि देखिन्छ । कर्मचारीमा पनि निर्णय गर्दा धेरै राजनीतिक मोलाइजा हुने गरेको पनि पूर्वमुख्यसचिव कोइराला बताउँछन् । कुलिङ पिरियड एक दुई वर्षमा भएमा यो बदनामीबाट कर्मचारी नेतृत्व जोगिने उनको ठम्याइ छ । 

कुलिङ पिरियड नहुँदा त्यस्ता संवैधानिक, कूटनीतिक क्षेत्र लगायतका विषयमा विज्ञताको प्रवेश नै पाएका छैन । कर्मचारीले आफूलाई विज्ञको रूपमा स्थापित गर्दै आएका छन् । 


नरोत्तम वैद्य, पूर्वसांसद

मैले धेरै समय अघि नै कुलिङ पिरियड आवश्यक छ भनेर उठाएको थिए । संसद्को रेकर्डमा हुनुपर्छ । त्यो बेला कुलिङ पिरियड हुनुपर्छ भनेर संसदीय समितिमा कुरा राख्दा कतिपय सांसदहरूले कोही  तपाईंकै पार्टी (कांग्रेस), कोही एमालेका त कोही  अरूका  त  हुने हुन्छ नि  भन्ने गर्थे । अहिले समितिले जुन पारित  गरेको छ, त्यो ठीक छ ।  मुख्यसचिव, सचिवले विरोध गरे भन्दैमा पछि हट्नु हुँदैन । 


हृदयराम थानी - सदस्य, राज्य व्यवस्था समिति

कुलिङ पिरियडलाई सरकार र समितिका सबैको सर्वसम्मतिमा पारित गरिएको हो । राज्यको आवश्यक हो भनेर पास  गरिएको हो ।  मुख्यसचिव, सचिवहरूलाई प्रजातान्त्रिक प्रक्रियामा आफूलाई चित्त नबुझेका कुरा राख्ने अधिकार छ । सरकार र समिति नै राजी भएर पास भइसकेपछि अझै केही हुन्छ कि भनेर आशंका गर्नु भएन । 


विमल कोइराला, पूर्वमुख्य सचिव 

कुलिङ पिरियडप्रति मुख्यसचिव र सचिवहरूको असन्तुष्टि होला । निवृत्त निजामती कर्मचारीले नै संवैधानिक पदहरू, राजदूत र अरू ठूलाठूला पदहरू पाउनुपर्छ भन्ने आशा र विश्वास उहाँहरूमा होला । मुलुक र समग्र निजामती प्रशासनको हिसाबले कुलिङ पिरियड राख्नु नै उपयुक्त हुन्छ । कुलिङ पिरियड नहुँदा स्वार्थ बाझिन्छ । ठूला कर्मचारीहरूले आफू पदमा बहाल गर्दै गर्दा अनावश्यक सम्झौता गरेर पद लिने परिपाटीको विकास भयो ।

अघिल्लो दिन राजीनामा दिएर पछिल्लो दिन नयाँ पद लिने प्रवृत्ति बढ्यो । कसैले त उही दिन हातहाती चिठी बुझ्ने गरेको पनि देखियो । निर्णय निर्माणको प्रक्रियामा विश्वसनियता भएन, जनताले पत्याउन पनि छाडे । कर्मचारीहरूले संसदीय समितिले पारित गरेको कुरामा हुलका हुल बाँधेर यसलाई उल्ट्याउँछु भन्ने कुरा पनि सुहाउँदो कुरा होइन, हुँदैन। एक दुई वर्ष कुलिङ पिरियड राख्दा स्वभाविक पनि देखिन्छ । निजामती सेवा पछि हुने बदनामीबाट जोगिन्छ । कर्मचारीमा पनि निर्णय गर्दा धेरै राजनीतिक मोलाइजा नगरिकन निर्णय गर्ने बानी बस्न थाल्छ भन्ने हो । 


डा.विष्णुराज उप्रेती , पूर्वकार्यकारी अध्यक्ष, नीति अनुसन्धान प्रतिष्ठान 

राज्य व्यवस्था समितिले निजामती सेवासम्बन्धी विधेयकमा गरेको कुलिङ पिरियडको प्रावधानप्रति विरोध जनाउन मुख्य सचिव, संसद्का महासचिव र सचिवहरूले जेजस्ता गतिविधि गरिहेका छन् । त्यो गलत छ । उनीहरूको यो गलत कामले राज्यको स्थायी सरकार भनिने कर्मचारीप्रति आम जनताको बितृष्णा बढ्छ, उनीहरूको सुशासन प्रतिको प्रतिबद्धतामा प्रश्नचिह्न खडा भएको छ । अझ संसद्का महासचिवको निजामतीबाट बाहिर गइसकेपछि निजामती ऐन लाग्दैन भन्ने तर्कले त उनीहरू राज्य दोहन गरेर आफूलाई फाइदा हुने भयो भने जस्तोसुकै कुतर्क गर्न पनि पछि पर्दैनन् भन्ने पनि देखाउँछ ।

यहाँ प्रश्न उठ्छ के अरू सुविधा लिनचाहिँ निजामती ऐन लाग्ने यो प्राबधानलाई चाहिँ नलाग्ने हुन्छ ? उनीहरूले सरकारी सेवामा रहँदा जे सिके नया नियुक्तिपछि पनि त्यही नै गर्ने भएकाले कुसासन, भ्रष्टाचार, चाकरी थप संस्थागत हुन्छ । नयाँ चिन्तन, ज्ञान प्रवेस गर्न नपाई देश नै यथास्थितिमा रहन्छ । कुलिङ पिरियोडको प्रावधान सुशासन र राष्ट्रिय हितको दृष्टिकोणबाट अति आवश्यक छ ।


 रामहरि खतिवडा - सभापति, राज्य व्यवस्था तथा सुशासन समिति 

कुलिङ पिरियडको प्रचलन संसारमा छ । अमेरिका, क्यानडा, बेलायतमा दुई/दुई वर्ष छ । अन्य देशमा पनि छ । कुलिङ पिरियड भएको भए दीप बन्यात आफ्नै मुद्दा दबाउनतिर लाग्नु हुन्न थियो । अहिलेको लोकसेवा आयोगका अध्यक्ष अवकाशको चार वर्षपछि मात्रै संवैधानिक पदमा पुग्नुभएको हो । तर, आजको भोलि नै आफूले रोजेको पदमा जानुपर्छ भन्ने मान्यता गलत हो । ३० वर्ष उहाँहरूले देशका लागि सेवा गर्नु हुन्छ । उहाँहरूको बुद्धि विवेक, क्षमता, योग्यतालाई राज्यले कदर गर्नुपर्छ र गर्छ पनि ।

हामीले कुलिङ पिरियड निजामतीमा मात्र भनेका छैनौं । निजामती र अन्य सरकारी कर्मचारी भनेका छौं । सरकारी तलब खाने सबैमा यो लागू हुन्छ भन्ने विश्वास लिएका छौं । अवकाशपछि कहाँ निजामती ऐन लागू हुन्छ ? भन्ने तर्क पनि आएका छन् । यो कानुन लागू हुँदैन भने किन पेन्सन लिने ? पेन्सन त्यो कानुनमा पर्ने हो कि होइन ? अवकाशपछि उपदान खर्च लिनुहुन्छ, त्यो किन लिने भन्ने प्रश्न पनि आउँछ । कतिपयका व्यक्तिगत स्वार्थ पनि हुन सक्छन् । यो हटाउन अत्यधिक दबाब छ । तर, नेतासँग कनेक्सन गरेर अवैधानिक काम गर्ने परिपाटी रोक्न खोजेका मात्रै हौं । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.