एमालेले भन्यो- विद्यादेवी भण्डारी पूर्वराष्ट्रपतिकै हैसियतमा चीन भ्रमणमा जानुभएको हो
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यादेवी भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिको हैसियता भएको बताएका छन्। च्यासलमा पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले चीनले पनि पूर्वराष्ट्रपतिकै हैसियतमा निमन्त्रणा गरेको दाबी गरे।
'पूर्वराष्ट्रपतिको भ्रमण पूर्वराष्ट्रपतिकै हैसियतमा हो। उहाँलाई पूर्वराष्ट्रपतिकै हैसियतामा निमन्त्रणा भएको छ। स्वभाविकरूपमा पूर्वराष्ट्रपति नेकपा एमाले आन्दोलनको नेता भएका नाताले उहाँको टिममा पार्टी सम्बद्ध साथीहरू पनि सामेल हुनुहुन्छ,' महासचिव पोखरेलले भने। पूर्वराष्ट्रपति भण्डारी शनिबार राति चीन प्रस्थान गरेकी छन्।
त्यस्तै एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने निर्णय गरेको छ। एमालेले पालिकामा पनि विशेष कार्यक्रम गरेर मनाउन निर्देशन दिएको महासचिव पोखरेलले बताए।
काठमाडौंमा भने सांस्कृतिक झाकीसहित गणतन्त्र दिवस मनाउने उनको भनाइ छ। त्यस्तै गणतन्त्रविरोधी गतिविधि एमालेलाई सह्य नभएको उनले बताए। 'गणतन्त्र जनताको सार्वभौम शासन व्यवस्था हो। जनताका सम्प्रुभताविरुद्ध हुने कुनै पनि गतिविधि एमालेलाई स्वीकार्य छैन,' उनले भने।
प्रतिक्रिया दिनुहोस !