न्यायाधीश विवादित भएपछि फुटबलर म्याराडोनाको मृत्यु प्रकरण जटिल बन्दै
अर्जेन्टिना : विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्युमा संलग्न भनिएका सात जना अर्जेन्टिनी स्वास्थ्यकर्मीमाथिको आपराधिक मुद्दा न्यायाधीशको निष्पक्षताबारे उठेका प्रश्नका कारण संकटमा परेको छ।
सन् २०२० नोभेम्बर २५ मा मस्तिष्कको शल्यक्रियापछि स्वास्थ्य लाभको क्रममा म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो। कोकेन र मदिराको लतसँग दसकौंसम्म संघर्ष गर्दै आएका म्याराडोनाको मृत्युको कारण शल्यक्रिया भएको दुई सातापछि हृदयघात र तीव्र फोक्सो सुनिन्नु रहेको बताइएको छ। उनलाई दिउँसोको समयमा नर्सले ओछ्यानमै मृत अवस्थामा फेला पारेका थिए।
म्याराडोनाको मृत्युपछिको हेरचाहमा गम्भीर लापरबाही भएको अभियोजन पक्षको दाबी छ। यसै सन्दर्भमा ब्युनस आयर्सको सान इसिड्रो उपनगरस्थित निजी निवासमा उपचारका क्रममा संलग्न चिकित्सकहरूमाथि ‘सम्भावित अभिप्रायसहित हत्या’ आरोपमा मुद्दा चलिरहेको छ। दोषी ठहरिएमा उनीहरूलाई आठदेखि २५ वर्षसम्मको जेल सजाय हुनसक्छ।
तर, मुद्दा सुरु भएको दुई महिनापछि एक निर्णायक मोड आएको छ। मुद्दाको अध्यक्षता गरिरहेका तीन न्यायाधीशमध्ये एक, जुलिएटा माकिन्टाच, एक विवादास्पद डकुमेन्ट्रीमा संलग्न भएको विषयमा प्रश्न उठेपछि गत साता मुद्दाको सुनुवाइ स्थगित गरिएको हो। बचाव पक्षका वकिलहरूले न्यायाधीशको संलग्नताले निष्पक्षताको उल्लङ्घन गर्दै मुद्दामा प्रभाव पार्ने प्रयास भएको आशंका व्यक्त गरेका छन्।
स्थानीय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएको फुटेजमा माकिन्टाचलाई मुद्दा सुरु हुनुभन्दा अघिल्लो दिन फिल्म टोलीसँग अन्तर्वार्ता दिँदै देखिएको छ। यद्यपि उनले आफूले कुनै फिल्म खिच्नमा संलग्न नभएको दाबी गरेकी छन्।
म्याराडोनाका छोरीहरूको वकिल फर्नान्डो बर्लान्डोले न्यायाधीश माकिन्टाचमाथि गम्भीर आरोप लगाउँदै भने, 'उहाँले न्यायाधीशको रूपमा नभई अभिनेत्रीजस्तै व्यवहार गर्नुभयो।' उनले मङ्गलबार न्यायाधीशलाई हटाउन माग गर्ने बताएका छन्।
त्यस्तै म्याराडोनाका पूर्व साझेदार भेरोनिका ओजेडाका वकिल मारियो बाउड्रीले मुद्दा निष्पक्ष ढंगले अगाडि बढाउन सुरुदेखि नै कारबाही थाल्नुपर्ने माग गरेका छन्। 'अब सबैलाई लाग्न थालेको छ कि यो मुद्दा राजनीतिक वा व्यक्तिगत सम्झौतामा आधारित छ,' उनले बताएका छन्।
न्यायाधीश माकिन्टाचलाई मुद्दाबाट हटाइएमा नयाँ न्यायाधीश नियुक्त हुने कि पुनः नयाँ प्यानल गठन गरेर मुद्दा सुरुदेखि नै प्रारम्भ गर्नुपर्ने भन्ने विषयमा अदालतले निर्णय लिनुपर्नेछ।
मुद्दाको आगामी सुनुवाइ मंगलबार पुनः सुरु हुने तयारी भइरहेको छ, जहाँ न्यायाधीशको भूमिकामाथि थप बहस र निर्णय हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !