बाजुराको जगन्नाथ जिप दुर्घटनाका घाइतेलाई नेपालगन्ज लगियो
बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका-२ काडाकोटमा जिप दुर्घटनाका घाइते दुवै जनालाई नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ।
सोमबार बिहान जिप दुर्घटनामा परी घाइते भएका बुढीनन्दा नगरपालिका-२ का नन्द बहादुर तिरुवा र लोकेन्द्र तिरुवालाई कोल्टी अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको हो। घाइतेको टाउको र शरीरमा गम्भीर चोट लागेको छ। जगन्नाथ गाउँपालिकामा रहेको टेलिकमको टावर मर्मतका लागि बा ५ च २२०९ नम्बरको जिप दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी नेपाल टेलिकम दूरसञ्चार प्राधिकरण बाजुराका प्रमुख लोकबहादुर बिष्ट, जिप चालक कर्ण महत र बडीमालिका नगरपालिका–७ ढम्कनेका रबी धामीको मृत्यु भएको थियो।
जिप सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनक बोहोराका अनुसार घटनास्थलमा पुगेर प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।
कानुनी रूपमा मुचुल्का र अन्य कामहरू गरेर मृतकहरूलाई कोल्टी अस्पताल ल्याउने तयारी रहेको बताएको छ। प्रारम्भिक अनुमानमा सडकको अवस्था र भौगोलिक जोखिम प्रमुख कारक हुनसक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !