खोलामा डुबेर बालकको मृत्यु
विराटनगर : विराटनगर महानगरपालिका–१४ स्थित सिंघिया खोलामा डुबेर बिहीबार दिउँसो १ जना बालकको मृत्यु भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मोरङको जहदा गाउँपालिका–२ का श्रवण महतोका छोरा ६ वर्षीय कुशकुमार महतोको मृत्यु भएको हो। कुशकुमार अन्य बालकहरूसँगै सिंघिया खोलामा पौडी खेल्न गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएको जानकारी दिउँसो ३ बजेतिर प्रहरीले प्राप्त गरेको थियो। खोजी गर्ने क्रममा मृत्यु भएको अवस्थामा खोलाभित्र शव फेला परेको डीएसपी जोशीले बताए।
कानुनी प्रक्रिया पूरा गरी खोलाबाट बाहिर निकालेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !