कुकुरको प्रयोग गरेर लागुऔषध ओसारपसार

कुकुरको प्रयोग गरेर लागुऔषध ओसारपसार

विराटनगर : मलद्वारलगायत शरीरका विभिन्न भागमा लुकाएर र सवारीसाधनको प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने गरिएको विषय बारम्बार सार्वजनिक भइरहेको हुन्छ। 

लागुऔषधको कारोबार एवं सेवनमा संलग्नले यसको ओसारपसारमा विभिन्न उपाय लगाउने गरेका छन्। तर, लागुऔषध ओसारपसारमा नयाँ उपाय अवलम्बन गरिएको अनौठो घटना बाहिर आएको छ। प्रहरीलाई छल्नका लागि कुकुरको प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने गरिएको पत्ता लागेको हो। नेपाल प्रहरीले लागुऔषध पत्ता लगाउन कुकुरको प्रयोग गर्छ। 

तर, यहाँ लागुऔषध ओसार्नलाई नै कुकुर प्रयोग गरिएको छ। भारतको जोगवनीबाट कुकुरको प्रयोग गरेर लागुऔषध ल्याउँदै गर्दा मोरङको उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारी बिहीबार साँझ ५ बजेतिर पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट कुकुरसहित भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।  

इलाका प्रहरी कार्यालय रानी सीमाका प्रमुख एवं सई सुवास अधिकारीको नेतृत्वमा विराटनगरस्थित लागुऔषध नियन्त्रण ब्युरो समेतको टोली नेपाल–भारत सीमा क्षेत्रनजिक आकस्मिक चेकजाँचमा खटिएको थियो। त्यस क्रममा १ जना युवक कुकुर डोर्‍याउँदै  भारतको जोगवतीतिरबाट आउँदै थिए। 

उनको गतिविधि शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरेको थियो। तर, साथमा केही फेला परेन। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सोधपुछ गर्ने क्रममा कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’ (पेटी)भित्र लुकाइछिपाइ ल्याएको अवस्थामा लागुऔषध भेटिएको छ। मान्छेले बोक्दा प्रहरीले पत्ता लगाउने बुझेर भण्डारीले लागुऔषध ओसारपसार गर्न कुकुरको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनको भनाइ छ। 

कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’भित्र लुकाएर ल्याएको लागुऔषधजस्तो देखिने वस्तु ब्राउन सुगर (खैरो हेरोइन) ३.३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद गरिएको जोशीले बताए। ‘सीमा क्षेत्रमा आकस्मिक चेकजाँचमा खटिएको टोलीले कुकुरसहित भारततिरबाट आउँदै गरेको युवालाई चेकजाँच गरेको थियो। त्यस क्रममा कुकुरको घाँटीको ‘बेल्ट’भित्र लुकाएर ल्याएको लागुऔषधजस्तो देखिने वस्तु बरामद भयो,’ उनले भने। उनका अनुसार भण्डारी पक्राउ परेसँगै कारोबारी एवं सेवनकर्ताले लागुऔषध ओसारपसार गर्न नयाँ उपाय अवलम्बन गर्न थालेको पत्ता लागेको छ। 

‘प्रहरीको चेकजाँच छल्न कुकुरको प्रयोग गरेको पाइयो। तर, पनि ओसारपसारमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको छ,’ डीएसपी जोशी भन्छन्। उनका अनुसार लागुऔषध बोक्न प्रयोग गरिएको कुकुर भण्डारीकै घरमा पालेको पाइएको छ। कुकुरको नाम उनले ‘रक्की’ राखेको प्रहरीले जनाएको छ। उर्लाबारीबाट कुकुरसहित गाडीमा विराटनगर आएर भण्डारी लागुऔषध खरिद गर्न जोगवनीतर्फ गएको प्रहरीले पत्ता लागेको छ। 

डीएसपी जोशीका अनुसार कुकुर डोर्‍याउँदै पैदल नै जोगवनी गएका उनले फर्कदा घाँटीमा बाँधेको ‘बेल्ट’भित्र लुकाएर लागुऔषध ल्याएको पाइएको हो। बरामद भएको लागुऔषध र कुकुरसहित नियन्त्रणमा लिएर उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ। उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। यस विषयमा इलाका प्रहरी कार्यालय रानीका प्रमुख, इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.