समयमै आँखा जाँचौं, आँखा क्यान्सरको निःशुल्क उपचार गरौं !

समयमै आँखा जाँचौं, आँखा क्यान्सरको निःशुल्क उपचार गरौं !

काठमाडौं : पाँच वर्षमुनिका आफ्ना कलिला सन्तानको आँखामा कहिल्यै दृष्टि पुर्‍याउनु भएको छ ? वा जँचाउनु भएको छ ? यदि ध्यान दिनु भएको छैन भने अब सजग हुनुहोस्। हुर्कंदो उमेरका सन्तानलाई पनि आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) पो छ कि !

तीलगंगा आँखा अस्पताल क्यान्सर रोग विभागकी प्रमुख डा. पूर्णिमा राजकर्णिकार स्थापितलाई आँखाको क्यान्सर भएका बालबालिकाको उपचार गर्न भ्याइनभ्याइ छ। ‘पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा यो रोग देखा पर्न सक्छ,’ डा.राजकर्णिकार भन्छिन्, ‘एक महिनाको शिशुदेखि पाँच वर्षमुनिका बालबालिकामा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा)देखिने क्रम बढ्दो छ।’ चिकित्सकहरूका अनुसार समयमै उपचार गर्दा यो रोग निको हुने वा बाँच्ने दर उच्च हुन्छ। ढिलो भए क्यान्सर फैलिएर ज्यानै जाने जोखिम हुन्छ।

वरिष्ठ नेत्र रोग विशेषज्ञ प्राडा रोहित सैंजुका अनुसार, पाँच वर्षमुनिका बालबालिकाको आँखामा हुने घातक क्यान्सर मानिन्छ,— रेटिनोब्लास्टोमा। डा.सैंजू भन्छन्, ‘उपचार छिटो गर्न सके दृष्टि फर्काउनुका साथै आँखा र ज्यान जोगाउन सकिन्छ।’ मुलुकमा बर्सेनि ४५ देखि ५० जना बालबालिकामा रेटिनोब्लास्टोमा हुने अनुमान छ। तीलगंगा आँखा अस्पतालमा रोग पुष्टि भएकामध्ये झन्डै ५० प्रतिशत बालबालिकाको दुवै आँखामा रेटिनोब्लास्टोमा पाइएको छ। यो रोग लागेका बालबालिकाहरूमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिएको छ। ४० प्रतिशतमा दुवै आँखामा रोग पुष्टि भएको डा. राजकर्णिकार बताउँछिन्।

कसरी थाहा पाउने ? 
शिशु तथा बाल्यावस्थामा हुने आँखाको क्यान्सर हो, रेटिनोब्लास्टोमा। यो एउटा वा दुवै आँखामा देखिन सक्छ। आँखाको पछाडिको पर्दा (रेटिना)बाट सुरु हुन्छ। रेटिनामा रहेका कोषिका अनियन्त्रित रूपमा बढ्छन। र, आँखाको सेतो नानी (ल्युकोकोरिया) देखिन्छ।

डा. राजकर्णिकार आँखाको नानीको कालो भागमा सेतो टीका (ह्वाइट रिफ्लेक्स) र आँखाको टेढोपन भएको छ भने अभिभावकले तत्कालै आँखाको जाँच गराउनु पर्ने सुझाउँछिन्। डा.राजकर्णिकार भन्छिन, ‘आँखा असामान्य रूपमा रातो हुने, दुख्ने र देख्ने क्षमता पनि घट्दै गएको छ भने आँखाको क्यान्सरको शंका गर्नुपर्छ। समयमा उपचार नगर्दा आँखाको आकार ठूलो हुँदै जाने र बाहिरतिर समेत आउन सक्छ।’ यदि क्यान्सर आँखामा मात्र सीमित छ भने इन्ट्राओकुलर रेटिनोब्लास्टोमा भनिन्छ। यदि यो शरीरका अन्य भागहरूमा एक्स्ट्राओकुलर रेटिनोब्लास्टोमा भनिने विशेषज्ञहरू बताउँछन्। सामान्यतया रेटिनोब्लास्टोमालाई तीन भागमा विभाजन गरिन्छ। 

एउटा आँखामा रेटिनोब्लास्टोमा पाइएमा युनिल्याटरल र दुवै आँखामा देखिएमा बाइल्याटरल भनिन्छ। आँखाको क्यान्सर फैलिएर मस्तिष्कभित्रको पाइनल ग्रन्थीसम्म पुगेको छ भने पाइनोब्लास्टोमा भनिन्छ। आँखाको नसा मस्तिष्कसँग जोडिएकाले मस्तिष्क, फोक्सो, कलेजो हुँदै हाडमा क्यान्सर फैलिएर ज्यान जान सक्छ। तर सुरुवाती चरणमै उपचार गराए पूर्ण निको हुन्छ।

०००

बालबालिकाको आँखाको भित्री भागको पर्दा (रेटिना)मा देखिन्छ, रेटिनोब्लास्टोमा। यो पाँच वर्षमुनिका बालबालिकामा बढी देखिएको छ। डा. राजकर्णिकार भन्छिन्, ‘आँखाको क्यान्सर १५ हजार नवजात शिशुमध्ये एकजनामा देखा पर्ने गर्दछ। उपचारमा ढिलो भएमा आँखाको पूरै भागमा फैलिएर अन्धोपन गराउन सक्छ। साथै, शरीरको अन्य भागमा पनि फैलिएर ज्यानसमेत जान सक्छ।’आँखाको पर्दा (रेटिना)लगायत भित्री भागमा क्षति पुर्‍याउँदै शरीरका अन्य भागमा फैलिएको पाइएको छ। ‘भर्खर जन्मेका बालबालिकालाई पनि आँखाको क्यान्सर हुन सक्छ। विशेषगरी पाँच वर्षमुनिका बालबालिकालाई बढी भएको पाइएको छ,’ डा.राजकर्णिकार भन्छिन्, ‘सन्तानको एउटा वा दुवै आँखामा समेत क्यान्सर लिएर उपचारका लागि अस्पताल आउनेहरूको संख्या बढ्दो छ।’

वंशाणुगत पनि हुन्छ
जेनेटिक म्युटेसन र वंशाणुगत कारणले रेटिनोब्लास्टोमा हुन्छ। यसबाट प्रभावितमध्ये ४० प्रतिशतमा दुवै आँखामा क्यान्सर पाइएको छ। डा. राजकर्णिकार भन्छिन्, ‘दुवै आँखामा क्यान्सर देखिनेबित्तिकै वंशाणुगत रहेछ भन्ने बुझ्नुपर्छ। वंशाणुगत रेटिनोब्लास्टोमा कलिलै उमेरमा सुरु हुन्छ। यो अलि जटिल हुन्छ।’ एउटा आँखामा रेटिनोब्लास्टोमा हुनु पनि वंशाणुगत हुन सक्छ। रेटिनोब्लास्टोमा भएका बाबुआमाबाट जन्मेका सन्तान र यो रोग लागेका बिरामीका भाइबहिनीहरूलाई पनि यो रोग लाग्ने सम्भावना बढी हुन्छ। 

वंशाणुगत क्यान्सरबाट प्रभावित बालबालिकाले गर्भावस्थादेखि नै रोग लिएर जन्मेको हुन्छ। डा.राजकर्णिकारसँग वंशाणुगत क्यान्सर प्रभावित एक महिनाको शिशुको उपचार गरेको अनुभव छ। रेटिनोब्लास्टोमा भएको छ÷छैन भन्ने पत्ता लगाउन आँखा रोग विशेषज्ञले बेहोस गरेर आँखाको पर्दा (रेटिना)को जाँच गर्छन्। त्यसपछि बल्ल रोग पत्ता लगाउन सकिन्छ। रोग पत्ता लगाउन आँखाको भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्नुपर्छ। त्यस्तै आँखा तथा मस्तिष्कको सिटिस्क्यान, एमआरआईलगायतका परीक्षण समेत गर्नुपर्ने हुन सक्छ। 

गरिबीमाथि रोगको बोझ
वरिष्ठ नेत्र रोग विशेषज्ञ प्राडा रोहित संैजूका अनुसार, तराई (मधेस)का बालबालिकालाई रेटिनोब्लास्टोमा बढी देखिएको छ। तीलगंगा आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये मध्य तराईको सर्लाही, सिरहा, महोत्तरीलगायतका जिल्लाका बढी छन्। पहाडी जिल्लाका फाट्टफुट्ट बालबालिका रेटिनोब्लास्टोमाबाट प्रभावित छन्। कतिपय काठमाडौं उपत्यकाभित्रका बालबालिकामा पनि रेटिनोब्लास्टोमा पुष्टि भएको छ।

वीरगन्जका एक पेन्टकर्मीले छोराको दायाँ आँखाको नानीमा सेतो टीका देखिएको एक वर्षपछि बल्ल आँखा अस्पताल ल्याए। उपचारमा ढिलाइ गरेकै कारण आँखा बचाउन नसकिने भयो। ‘आँखामा केही समस्या हुनेबित्तिकै ल्याउनुपर्ने हो। कतिपय अभिभावकहरूमा बेपर्वाह देखिन्छन्। आँखामा केहि खराबी छ भन्ने थाहा हुँदाहुँदै पनि संवेनशील भइदिंदैनन्,’ डा.राजकर्णिकार भन्छिन्, ‘उपचारमा ढिलासुस्ती गरेकै कारण आँखा निकाल्नु पर्छ। नक्कली आँखा राख्नुपर्छ भन्दा बल्ल स्तब्ध हुन्छन्।’ गरिबी र अज्ञानताका कारण पनि कतिपय अभिभावकहरू सन्तानको आँखाको उपचार गर्न पन्छने गरेको आँखा रोग विशेषज्ञहरू बताउँछन्। 

भ्रममा अभिभावक
समयमै उपचारमा पहुँच नहुनुमा जनचेतनाको अभाव र अज्ञानता रहेको पाइएको छ। कतिपय अभिभावकहरूले आँखामा सेतो देखिनुलाई भाग्यशालीको संज्ञा दिएको पाइएको छ। जुन भ्रम हो। ‘आँखाको बीचमा सेतो टल्कँदा सुपर वापर हो भन्ने खालको भ्रम कतिपय अभिभावकहरूमा रहेको पाइयो,’ डा.राजकर्णिकार भन्छिन्, ‘आँखाको बीच नानीमा सेतो टल्कने देखिनु रेटिनोब्लास्टोमाको लक्षण हो। तर, कतिपय अभिभावकहरू भाग्यमानीको भ्रममा रहेको पाइएको छ।’ दिउँसोभन्दा राति बच्चाको आँखा टल्कने गर्छ। कतिपय अभिभावकहरू चोट लागेको हो भन्दै उपचारमा ल्याउने गरेको पाइएको छ। तर, कहिले चोटपटक लागेको हो ? भन्ने प्रश्नमा अभिभावक नै जवाफविहीन हुने गरेका छन्।

प्राडा सैंजुका अनुसार, एउटा आँखामा मात्र क्यान्सर छ भने अर्को आँखाले देखिरहेको हुनाले पनि अभिभावकहरूले खासै ध्यान दिँदैनन्। प्राडा. सैंजू भन्छन्, ‘आँखाको कालो भाग कालै र सेतो भाग सेतै हुनुपर्छ। कालो भागको बीचमा सेतो टीका देखियो भने अभिभावक सजग भइहाल्नु पर्छ। नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा रहेका आँखा विशेषज्ञसमक्ष जँचाउन लगिहाल्नुपर्छ।’

उपचारमा ढिलाइले जान्छ, ज्यान
प्राडा सैंजूका अनुसार, उपचारमा ढिलाइ गर्दा ज्यानै जाने जोखिम हुन्छ। उपचारमा ढिलाइले आँखाको क्यान्सर फैलिएर शरीरका अन्य अंगमा फैलिएर जटिल अवस्थामा पुगेको हुन्छ। हाइडोज औषधि र विकिरणबाट उपचार गर्दा बालबालिकाले थेग्नसमेत सकस पर्छ। 

उपचारकै क्रममा बालबालिकाको पढाइ छुटेको हुन्छ। खर्च व्यवस्थापनमा समेत सकस परिरहेको हुन्छ। डा.राजकर्णिकार भन्छिन्,‘ जटिल अवस्थामा पुगेको बेला बिरामीलाई एकातिर सकस परिरहेको हुन्छ, अर्कोतिर सम्पूर्ण परिवार नै तनाबले बिरामी झैं भइसकेको हुन्छ।’

कृत्रिम आँखा हाल्न सहयोग 
शल्यक्रिया पछि आँखाको डल्लो निकालिन्छ। ६ सातापछि कृत्रिम आँखा (प्रोस्थेसिस) राखिन्छ। आँखाको सौन्दर्य कायम गरी सामाजिक पुनस्र्थापनामा सहयोग गर्ने भएकोले कृत्रिम आँखा राखिने गरिन्छ। एउटा कृत्रिम आँखाको पर्छ, १५ हजार रुपैयाँ।

फलोअप उपचारमा खर्च भएर हत्तु भएका अभिभावकलाई कृत्रिम आँखा निःशुल्क पाउँदा खुसी हुने गरेका छन्। ओपन आइज ग्लोबल र अस्ट्रेलियन क्याथोलिक अस्ट्रेलियाको आर्थिक सहयोगमा ओपन आइज नेपालले निःशुल्क उपचार र कृत्रिम आँखा उपलब्ध गराउँदै आएको छ। अझैं एक वर्षको लागि निःशुल्क उपचार र कृत्रिम आँखाको लागि फन्ड उपलब्ध छ। गत वर्ष १६ जनालाई नक्कली आँखा उपलब्ध भएको छ। ५२ जनाको निःशुल्क उपचार गरिएको डा. राजकर्णिकारले जानकारी दिइन्। 

रेटिनोब्लास्टोमाको उपचारमा फलोअप गरिरहनुपर्छ। एक वर्षसम्म तीन—तीन महिनामा बिरामीलाई बेहोस बनाएर परीक्षण गरिन्छ। त्यसपछि ६ वर्ष नपुगेसम्म ६/६ महिनामा फलोअप परीक्षण गराईरहनु पर्छ। डा. राजकर्णिकार भन्छिन्,‘६ वर्षसम्म फलोअप परीक्षण गरिहनुपर्ने हुँदा उपचार प्रक्रिया अलि लामो लाग्न सक्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, सरकारले १४ वर्षमुनिका बालबालिकाको शरीरको जुनसुकै अंगमा क्यान्सर भए पनि निःशुल्क उपचार गर्छ। त्यसका लागि कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल र बीपी स्मृति क्यान्सर अस्पतालमा उपचार हुन्छ। डा. बुढाथोकी भन्छन्,‘ आँखाको मात्र होइन जुनसुकै क्यान्सर भए पनि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार हुन्छ। अहिलेसम्म ९ सय बालबालिकाको निःशुल्क उपचार भइसकेको छ।’

तालिम जरुरी

महिला स्वयंसेविकालाई रेटिनोब्लास्टोमाको लक्षणहरूसहित सामान्य तालिम दिँदा जनचेतना फैलाउनमा सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्। बालरोग विशेषज्ञहरूले पनि शरीरका अन्य भागको उपचार गर्ने क्रममा आँखाको अवस्था हेरेर आँखा रोग विशेषज्ञलाई सिफारिस गर्दा पनि धेरै जनालाई उपचारको पहुँचमा ल्याउन सकिन्छ।

डा.राजकर्णिकारका अनुसार, महिला स्वयंसेविका साथै अनमी, हेल्थ असिस्टेन्ट, नेत्र सहायक (अप्थाल्मिक असिस्टेन्ट), अप्ट्रोमेट्रिस्टलगायतका स्वास्थ्यकर्मीको सहयोगबाट उपचारमा पहुँच बढाउन सकिन्छ। डा. राजकर्णिकार भन्छिन्, ‘हरेक विद्यालयले प्रत्येक वर्ष आँखा जाँच कार्यक्रम सञ्चालन गर्ने हो नयाँ बिरामी पत्ता लगाउन सहयोग पुग्छ।’

सुरु महिनामै परीक्षण गरौं
नेपाललगायत विकासोन्मुख मुलुकहरूमा रेटिनोब्लास्टोमाबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ। विकसित मुलुकहरूमा भने ५ प्रतिशतभन्दा कम भएको पाइएको छ। विश्वमा १५ देखि १८ हजार बालबालिकामा रेटिनोब्लास्टोमा देखिने गरेको छ। भारतमा १५ शय बालबालिकामा पुष्टि हुने गरेको छ। नेपालका आँखा अस्पतालमा भारतका बालबालिका पनि उपचारमा आउने गरेका छन्। 

आँखा रोग विशेषज्ञहरू शिशु जन्मेको एक महिनाभित्रै आँखा जाँच गर्न सुझाव दिन्छन्। डा. राजकर्णिकार भन्छिन,‘ शिशु जन्मिएको एक महिनाभित्रै आँखाको परीक्षण गराउनुपर्छ। नवजात शिशुमा ल्युकोकोरिया छ कि छैन भनेर हेर्नु उत्तम हुन्छ। त्यसपछि पनि तीन–तीन महिनाको अवधिमा आँखाको परीक्षण गराउनु पर्छ। यसो गरे आँखा जोगाउन सकिन्छ। स्वस्थ आँखाले नै सुन्दर समाज बनाउन सहयोग पुग्छ।’ 

आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) का लक्षणहरू
–    आँखाको नानीको कालो भागमा सेतो टीका देखिने
–    आँखाको डेढोपन हुने
–    आँखा असामान्य रूपमा रातो हुने
–    आँखा दुख्ने
–    दृष्टि क्षमता कम हुँदै जाने
–    आँखाको आकार ठूलो हुँदै जाने
–    आँखाको डल्लो बाहिर निस्कने
 
रोग पत्ता लगाउन गरिने परीक्षण
–    आँखाको पर्दा (रेटिना) जाँच
–    आँखाको भिडियोएक्सरे (अल्ट्रासाउन्ड)
–    आँखा र मस्तिष्कको सिटिस्क्यान र एमआरआई
 
उपचार गर्न अपनाइने पद्धतिहरू
–    केमोथेरापी
–    थरमोथेरापी
–    क्रायोथेरापी
–    रेडियोथेरापी
–    शल्यक्रिया
–    आँखाको डल्लो निकाले पनि कृत्रिम आँखा (प्रोस्थेसिस) राखेर आँखाको सौन्दर्य कायम गरिन्छ।


शरीरको जुनसुकै अंगमा क्यान्सर भएका १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार हुन्छ। ढुक्क हुँदै सन्तानको बेलैमा उपचार गराउनुहोस्।
डा. प्रकाश बुढाथोकी - प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 

पाँच वर्षमुनिका सन्तानको आँखाको नानीमा सेतो टीका देखिएमा अभिभावक सचेत हुनुपर्छ। रेटिना (आँखाको पर्दा)को जाँच गरेर रोग पत्ता लगाउन सकिन्छ।
 डा. पूर्णिमा राजकर्णिकार स्थापित - प्रमुख, तीलगंगा आँखा अस्पताल, आँखा क्यान्सर रोग विभाग।

आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा)मा उपचार छिटो गर्न सके दृष्टि गुम्न पाउँदैन। आँखा र ज्यान जोगाउन सकिन्छ।
प्राडा रोहित सैंजू - वरिष्ठ नेत्र रोग विशेषज्ञ

के छन्, उपचार पद्धति ? 

रोगको चरणअनुसार विभिन्न उपचार विधि छन्। कुन चरण (स्टेज)मा उपचार गर्न ल्याइएको छ, त्यहीँ आधारमा उपचार पद्धति अपनाउने गरिन्छ। रोगको स्टेज पत्ता लगाउन सिटिस्क्यान गरिन्छ। अलि जटिल अवस्थामा ल्याइएको छ भने बोनम्यारोको पनि परीक्षण गरिन्छ। बोनम्यारोमा पनि देखिएको छ भने त्यसलाई स्टेज–४ भनिन्छ। ढाडको पानी निकालेर गरिने बोनम्यारो परीक्षण कान्ति बाल अस्पतालमा हुने गरेको छ।

रोगको अवस्था निर्क्योल भएपछि अपनाइने उपचार पद्धति पाँच किसिमका छन्,—केमोथेरापी, थरमोथेरापी, क्रायोथेरापी, रेडियोथेरापी र शल्यक्रिया। केमोथेरापीमा क्यान्सर वरुद्ध औषधिहरू नसाबाट दिएर उपचार गरिन्छ। साथै यी औषधिहरू कहिलेकाहीँ सीधै आँखामा पनि लगाइन्छ। त्यस्तै थरमोथेरापी विधि भन्नाले डायोड लेजरद्वारा अत्यधिक तातो प्रयोग गरी क्यान्सर भएको तन्तुलाई नष्ट गरिन्छ। 

क्रायोथेरापी उपचार विधिअन्तर्गत अत्यधिक चिसो तापक्रमको प्रयोग गरी क्यान्सर भएको तन्तुलाई नष्ट गरिन्छ। रेडियोथेरापीमा उच्च मात्रामा एक्सरे विकिरण प्रयोग गरी क्यान्सरका तन्तु नष्ट गरिन्छ। जटिल अवस्थामा पुगेका बिरामीलाई मात्र रेडियोथेरापी उपचार विधि प्रयोग गरिने डा. राजकर्णिकार बताउँछिन्। विभिन्न उपचार विधि अपनाउँदा पनि रोग निको पार्न सम्भव नहुन सक्छ। त्यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ। आँखाको डल्लो निकाली गर्नुपर्ने उपचारलाई इन्कुलेसन भनिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.