म विश्वस्त थिएँ
आफैँले सुनेको थिएँ
आफैँले देखेको थिएँ
उनीहरू स्वतन्त्रताको राग अलाप्छन्
समानताको बाँसुरी बजाउँछन्
र शान्तिको सङ्गीत भर्छन् ।
समयको सुनामीसँगै
चराहरूको स्वप्न संसारमा
आधुनिक चराहरूको बोलवाला छ
वास्तविकताको विलोम प्रतिपादन भएको छ
हेरिरहेछु सृष्टिको उत्पत्तिकालदेखि
टेलिस्कोपको माध्यमले हेरिरहेछु ।
देखिरहेछु माइक्रोस्कोपको सहायताले देखिरहेछु
परेवाहरू यहाँ एकाविहानै
आधुनिक चराहरूको झम्टाइमा परेका छन्
चखेवाका प्रितहरू यहाँ सम्साँझै
आधुनिक चराबाटै त्रसित छन्
सुन्दर मयूर, डाँफे, जुरेली र कोइलीहरू
एकाएक आधुनिक चराबाटै त्रसित छन् ।
चराहरूको यो सजिव पृथ्वीमा
जब जब आधुनिक चराहरूमा
स्वार्थका तीखा नङ्ग्रा
शक्तिका धारिला चुच्चा
अनि सत्ताका बडेमानका पँखेटा पलाउँदोरहेछ
आधुनिक चराहरूले
आफैँलाई बिर्सिंदै र आफ्नै इतिहास मेटाउँदै
चराहरूकै अस्तित्वलाई चपाउँदा रहेछन्
चराकै जीवन सखाप पार्दा रहेछन्
मानवतामाथि धावा बोल्दारहेछन् ।
आधुनिक चराहरू मिलेर
मसान भेषमा मुर्कुट्टाको मुखुण्डो लगाएर
चराहरूकै स्वाधीनता चपाउँदारहेछन्
चराहरू पनि चराकै सिकार बन्दारहेछन्
साना चराहरूका शत्रु ठूला चराहरू हुँदारहेछन् ।
मेरो हृदयको टेलिभिजनमा
आधुनिक चराहरूको आतङ्क रोक्न
रिमोट कन्ट्रोललाई थिचेर
दृश्यात्मक च्यानल बदलेको छु
मैले मलाई नै बदलेर प्रतिस्थापन गर्दै छु
ठूला चराहरूको मारबाट साना चराहरूलाई बचाउन
भाग्य निर्धारण गर्ने कर्मरेखाहरू निर्माण गर्दै छु ।
- पृथ्वीको श्वेतपत्रका लेखक सुनुवार नेपाल सरकारका उपसचिव हुन् ।
प्रतिक्रिया दिनुहोस !