समस्यै समस्यामा योगी समुदाय

समस्यै समस्यामा योगी समुदाय
गोरखा नगरपालिका ९, ठिँगुरेस्वाँरास्थित योगीगाउँ। र, मौलिक पोशाकमा सजिएका गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँराका बलदेवनाथ योगी । तस्बिर : शिव उप्रेती

गोरखा : शीरमा साफा, कानमा कुण्डल, ज्यानमा ज्वारीकोट र कुर्था, घाँटीमा नाथजनै, जाँघमा धरो (कछाड), ६० वर्षका बलदेवनाथ योगी राति सुत्दाबाहेक सधैं यही पहिरनमा हुन्छन्। शीरदेखि पाउसम्म पहेंलो पहिरनमा हिँड्दा भेट हुने सबैले उनलाई बाबा महाराज भनेर सम्बोधन गर्छन्। यसैमा उनलाई अनुपम खुशी मिल्छ। आनन्द दिने यो पहिरन लगाउन उनले २३ वर्षको उमेरदेखि सुरु गरेका हुन्। 

‘जुनदिन गुरु महाराजले कान छेँडिदिनुभयो, र यो पोशाक लगाइदिनु भयो, त्यहीँदेखि लगाएको हुँ’, उनी भन्छन्, ‘मरेपछि अर्को कुरा, बाँचुञ्जेल लगाउन छोड्दिन।’ 

गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँराका आदिवासी उनी यही पहिरन लगाएर हातमा थैलो बोकी घरदैलो चाहार्छन्। ‘बाबा महाराज आउनुभयो भनी सबै खुसी हुन्छन्। औंसी पूर्णेमा त म दैलामा नपुगेसम्म भोकभोकै मलाई पर्खिबस्नुहुन्छ’, गाउँलेले दिएको मर्यादा सम्झँदै उनी भन्छन्, ‘उहाँहरूले दिएको दान, दक्षिना, सिदा लिन्छु। उहाँहरू पनि गह्रदशा काटियो भनेर खुशी हुनुहुन्छ। मलाई पनि जहान परिबार पाल्ने गर्जो टर्छ। यो उमेरसम्म यसरी नै चलेको छ।’ ठिगुँरेस्वारामा करिब ५० घर योगी समुदायको बसोबास छ। उनीजस्ता कानचिरा जोगी पाँच जना छन्। 

अहिलेसम्मको अनुभवमा उनलाई आफ्नो जीवनसँग कुनै गुनासो छैन। तर, नयाँ पुस्ताले संस्कार, संस्कृति नअपनाएको बारेमा भने भारी चिन्ता छ। ‘अहिले विदेश नगएका कुनै घर बाँकी छैन। विदेश नगएको भए नेपालमै जागिर खाएकाहरू छन्’, उनी भन्छन्, ‘विदेश गएका, जागिर खाएका छोराछोरीले अब यो पेशा गर्दैनन्। हामीलाई पनि छोड्नु भनिरहन्छन्।’ कानचिराहरू चार जना ६० नाघिसकेका छन्। एकजना मात्र करिब ३५ वर्षका छन्। 

नाथ सम्प्रदायका कानचिरा योगीहरूलाई गोरखनाथका पुजारीहरूले प्रोत्साहन र स्थान नदिएकाले नयाँ पुस्ता त्यसतर्फ आकर्षित नभएको उनको भनाइ छ। 
‘लाखौंं खर्च गरेर कान चिर्नुपर्छ। कान चिरेपछि मान्छे बिरामी हुन्छन्। सुत्केरीलाई झैं जतन गरेर निको गर्नुपर्छ। यस्तो मुस्किलले कान चिरेर जोगी भएकाहरूलाई गोरखनाथका पुजारीहरू गेटभित्र छिर्न दिँदैनन्। कुकुरलाईझैँ गेटबाहिरै आचा भनेर धपाउँछन्’, उनी भन्छन्, ‘पहिले गोरखनाथमा ११ जना पूजारी थिए। पछि घटेर चार जना भए। अहिले त्यो पनि घटेर दुईजना मात्र बाँकी छन्, एकजना ७५ कटेका, एकजना ६० कटेका। हाम्रो गाउँका एकजना नयाँ केटाले पाल्पा गएर कान चिरेर आएको थियो। उसलाई पूजारी बन्न दिएको भए हुन्थ्यो, तर मरेकाटे दिँदैनन्। अनि कसरी संस्कृति, संस्कार धानिन्छ ?’ 
 

कानचिराहरूले पहिलेझै कात्तिक र चैतमा फेरी लाउँदै हिँड्न पनि छाडेका, घरदैलोमा थैलो बोकेर हिँड्न पनि छाडेका उनी गुनासो गर्छन्। ‘अहिले त विभिन्न धर्म मान्नेहरू छन्। उनीहरूको घरमा त फेरी लाउन पाइँदैन। कुन कसको घर हो, चिनेको हुँदैन। नचिनीकन फेरी लगायो भने उठेर लम्कीझम्की गर्छन्। आधा रातमा भाग्नु पर्छ’, उनी भन्छन्, ‘संस्कृति जोगाउन जताततै गाह्रो छ।’

पृथ्वीनारायण शाहलाई आशीर्वाद दिने देवता गोरखनाथका पुजारी जोगी समुदायको संस्कृति धरापमा पर्दा यसको जगेर्ना गर्न कतैबाट पनि पहल नभएको अर्का कर्ण योगीको गुनासो छ। ‘न सरकारले पहल गर्छ, न आफ्नै समुदायले पहल गर्छ’, उनी भन्छन्, ‘हाम्रै समुदायका संरक्षक गोरखनाथका पुजारीले पनि देखिसहदैनन्। कोहीचाहिँ योगी थर फेरि क्षेत्री कुँबर राख्ने अभियान चलाउँछन्।’ भित्रबाट र बाहिरबाट प्रहार हुँदा योगी समुदाय जोखिममा परेको उनको भनाइ छ। 

गोरखामा सबैभन्दा धेरै योगी समुदायको बसोबास ठिँगुरेस्वारामा बस्छन्। यहाँ उनीहरूलाई पृथ्वीनारायण शाहका पालादेखि गोरखनाथ गुठीको व्यवस्था छ। शिखरडाँडामा पनि करिब ३० घर छन्। ‘हामी गोरखनाथ गुठीमा बस्छौं। बस्ने, गरिखाने जग्गा छैन भनूँ भने तीन सय रोपनी जग्गा छ। छ भनूँभने आफ्नो नाममा छैन’, उनी भन्छन्, ‘यहाँका बासिन्दालाई दुई पैसाको खाँचो पर्‍यो र बैंकमा जग्गा धितो राखेर समस्या टारौँ भन्यो भने अधीनस्थ गुठी बैंकले नराख्ने रहेछ। यो ठूलो समस्या छ।’  

थर फेर्ने लहरले गर्दा आफ्नो समुदाय लोप हुने खतरामा रहेको उनको अर्को गुनासो छ। ‘हाम्रा पितापुर्खा घिमिरे हौं। कानचिरेर बाउबाजेको पालादेखि जोगी, योगी भएको हामी अहिले फेरि नागरिकतामा कुँबर क्षेत्री लेखौं भनेर राष्ट्रिय अभियान चलिरहेको छ। यसले त हाम्रो पहिचान मेटिन्छ। खै कुरो बुझेको ?’ आफ्नो जातीय पहिचान जोगाउन सबैंको चासो र चिन्ता रहनु पर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.