युक्रेन र रुसबीच इस्तानबुलमा शान्ति वार्ता
इस्तानबुल : युक्रेन र रुसबीच टर्कीको इस्तानबुलमा शान्ति वार्ता हुँदैछ। दुवै देशले ड्रोन आक्रमणलाई जारी राख्दै शान्ति वार्ताका लागि तयार भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।
युक्रेनले रुससँग संवाद गर्दै युद्ध अन्त्यका लागि 'आवश्यक कदम चाल्न तयार' रहेको जनाएको छ। वार्तामा युक्रेन र रुसले तीन वर्षदेखि जारी द्वन्द्वलाई अन्त्य गर्ने उपायहरूबारे योजना आदान–प्रदान गर्ने बताइएको छ।
वार्ता इस्तानबुलको ऐतिहासिक सिरागन प्यालेसमा स्थानीय समयअनुसार दिउँसो १ बजेबाट सुरु भएको बताइएको छ। टर्कीको बोस्फोरस किनारमा अवस्थित यो पाँच तारे होटल ओटोमन साम्राज्यकालीन संरचनाभित्र रहेको छ। वार्तामा टर्कीका विदेशमन्त्री हकान फिदानले मध्यस्थता गर्दैछन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताअघि नेटो सदस्य राष्ट्रहरूको भिल्नियस शिखर सम्मेलनलाई सम्बोधन गर्दै, 'हामी शान्तिका लागि आवश्यक कदम चाल्न तयार छौं' भन्ने स्पष्ट सन्देश दिइसकेका छन्।
गत महिना इस्तानबुलमा भएको पहिलो चरणको वार्तामा ठूलो संख्यामा कैदी आदान-प्रदान भए पनि द्वन्द्व अन्त्य हुने संकेत देखिएको थिएन। यो पटक वार्ता टोलीका सदस्यहरूले बेलायत, जर्मनी र इटालीका अधिकारीहरूसँग पनि भेटवार्ता गरिरहेका छन्।
रुसी तर्फबाट पूर्व वार्ताकार तथा पुटिनका वैचारिक सहयोगी भ्लादिमिर मेदिन्स्की वार्तामा सहभागी छन् भने युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व रक्षामन्त्री रुस्तम उमरोभले गर्दैछन्।
प्रतिक्रिया दिनुहोस !