खामेनीको शव चार महिनादेखि कसरी राखिएको छ सुरक्षित ? कहाँ गरिँदैछ समाधिस्थ ?

खामेनीको शव चार महिनादेखि कसरी राखिएको छ सुरक्षित ? कहाँ गरिँदैछ समाधिस्थ ?
सुन्नुहोस्

इरान : इरानका पूर्व सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको  पार्थिव शरीर गत फेब्रुअरी महिनादेखि नै कोल्ड स्टोरेजमा राखिएको छ । आगामी जुलाई ९ मा उनकाे पार्थिव शरीर समाधिस्थ गरिने छ । उनको शवयात्रा र अन्त्येष्टिसम्बन्धी धार्मिक विधि–विधान इरान र इराकमा पाँच दिनसम्म सञ्चालन हुनेछन् ।

यद्यपि, यो ऐतिहासिक अवसरमा इरानी प्रशासन उच्च सतर्क छ । कारण, खामेनीको अन्तिम विदाइका क्रममा पनि अयातुल्लाह रूहोल्लाह खुमैनी र कासिम सुलेमानीको शवयात्रामा जस्तै भागदौड र ज्यान जाने दुर्घटना दोहोरिने हो कि भन्ने गम्भीर चिन्ता इरानलाई छ ।

पाँच दिनसम्म धार्मिक विधि, कहाँ गरिनेछ समाधिस्थ ?

‘इरान इन्टरनेसनल’ का अनुसार, राजधानी तेहरानमा अन्तिम यात्रा निकाल्नुअघि खामेनीको पार्थिव शरीर तीन दिनसम्म तेहरानको मोसल्ला नमाज परिसरमा सर्वसाधारणका लागि अन्तिम श्रद्धाञ्जली अर्पण गर्न राखिने छ । त्यसपछि उनको शव इराकका शिया मुस्लिमहरूको पवित्र सहर नजफ र कर्बला लगिनेछ ।

इराकपछि शव पुनः इरानको कोम सहर ल्याइनेछ र सबै धार्मिक विधि पूरा भएपछि उनको जन्मस्थान मशहदमा समाधिस्थ (गाड्ने) गर्ने काम गरिने छ। यद्यपि, शवयात्राको नमाज कसले पढाउने भन्ने विषयमा अधिकारीहरूले अहिलेसम्म कुनै घोषणा गरेका छैनन् । विश्लेषकहरूको अनुमान अनुसार, खामेनीका छोरा मोजतबा खामेनी (जो पिताको निधनपछि सार्वजनिक रूपमा देखिएका छैनन्) ले नमाज पढाउन सक्छन्, तर यसको आधिकारिक पुष्टि भएको छैन ।

अभूत पूर्व सुरक्षा व्यवस्था, आकाशबाट पनि निगरानी
लाखौं श्रद्धालुलाई व्यवस्थापन गर्नु र दुई देशका विभिन्न सहरबीच शवको सुरक्षित ढुवानी गर्नु इरानको इतिहासकै सबैभन्दा ठूलो सुरक्षा अभियानमध्ये एक हुने अपेक्षा गरिएको छ । खामेनीलाई दफन गरिने रजावी खुरासान प्रान्तका गभर्नर घोलामहुसैन मोजफ्फरीका अनुसार, भीड नियन्त्रण र शवको सुरक्षित आवतजावत सुनिश्चित गर्न अन्तिम यात्राका क्रममा हेलिकोप्टर समेत परिचालन गरिने सम्भावना छ । सीमापार अन्तिम यात्राको व्यवस्थापनबारे समन्वय गर्न इरानी विदेशमन्त्री अब्बास अराघचीले हालै इराकको बग्दाद भ्रमण पनि गरेका छन् ।

किन सताइरहेको छ भागदौडको त्रासले ?
इरानको कडा सुरक्षा व्यवस्थाको मुख्य कारण अतीतका दुई ठूला दुर्घटना हुन्, जसले देशलाई स्तब्ध बनाएको थियो ।

खुमैनीको शवयात्रामा भएको अराजकता (१९८९)

३ जुन १९८९ मा इस्लामी गणतन्त्रका संस्थापक अयातुल्लाह रूहोल्लाह खुमैनीको निधनपछि लाखौं मानिस श्रद्धाञ्जली दिन पुगेका थिए । भोलिपल्ट शव समाधिस्थ गर्न लैजाँदा मानिसहरू शवपेटिका छुन हतारिँदा सुरक्षाकर्मीले नियन्त्रण गर्न सकेनन् । भीडले शवपेटिकामा क्षति पु¥यायो र कफन समेत च्यातिएको थियो । अन्ततः शवलाई हेलिकोप्टरमार्फत पुनः जमारान फर्काएर अन्त्येष्टि स्थगित गर्नुपरेको थियो । राज्य सञ्चारमाध्यमका अनुसार, शवयात्रामा करिब एक करोड मानिस सहभागी भएका थिए । त्यस क्रममा धेरै मानिस कुल्चिएर घाइते भए र केहीको मृत्यु पनि भएको थियो ।

सुलेमानीको शवयात्रामा मृत्युको भागदौड (२०२०)
३ जनवरी २०२० मा अमेरिकी ड्रोन आक्रमणमा मारिएका कमाण्डर कासिम सुलेमानीको शवयात्रा पनि खुमैनीपछि दोस्रो ठूलो सार्वजनिक समारोह बनेको थियो । उनको शव गृहनगर करमान पुर्‍याइएपछि अत्यधिक भीडले बेरिकेट भत्किँदा भीषण भागदौड मच्चिएको थियो । उक्त घटनामा कम्तीमा ५६ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए । त्यसका कारण अन्त्येष्टि पनि केही समयका लागि स्थगित गरिएको थियो ।

चार महिनादेखि शव कसरी राखियो सुरक्षित ?
खामेनीको अन्त्येष्टि महिनौं ढिलो हुनुले उनको शव कसरी सुरक्षित राखिएको भन्ने प्रश्न उठेको छ । सामान्यतया इस्लाममा मृत्यु भएको सकेसम्म छिट्टै शव समाधिस्थ गर्ने परम्परा छ र शवमा रसायन (केमिकल) प्रयोग गर्न कडा निषेध गरिएको हुन्छ । फक्स न्यूज डिजिटलसँग कुरा गर्दै आतंकवादविरुद्धका विज्ञ डा. मोहम्मद उमरले युद्ध जस्तै सुरक्षा अवस्था र अन्य जोखिमका कारण अन्त्येष्टि चार महिनासम्म ढिलाइ भएको बताए । उनका अनुसार, शवलाई कुनै रासायनिक पदार्थ प्रयोग नगरी रेफ्रिजरेटेड कोल्ड स्टोरेजमा सुरक्षित राखिएको छ, किनकि इस्लामले शवमा रसायन प्रयोग गर्न अनुमति दिँदैन ।

उनले थपे, ‘शिया इस्लामी कानुनले असाधारण परिस्थितिमा शवलाई केही समय कोल्ड स्टोरेजमा राखेर ढिलो समाधिस्थ गर्न अनुमति दिन्छ ।’ सर्वोच्च नेताका हकमा यस्तो धार्मिक छुट प्राप्त गर्न सहज हुने उनको भनाइ छ । डा. उमरका अनुसार, इरानका फरेन्सिक शवगृहहरूमा पनि शवहरू महिनौंसम्म सुरक्षित राखिने भएकाले धार्मिक र कानुनी मापदण्डअनुसार चार महिनासम्म शवलाई कोल्ड स्टोरेजमा राखिनु कुनै असामान्य कुरा होइन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.