तुलसी सहकारीका अध्यक्षलाई ६ वर्ष कैद, ६७ करोड ५९ लाख जरिबाना

तुलसी सहकारीका अध्यक्षलाई ६ वर्ष कैद, ६७ करोड ५९ लाख जरिबाना

विराटनगर : जिल्ला अदालत मोरङले विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनसँग सम्बन्धित मुद्दालाई किनारा लगाएको छ। 

अदालतले सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद र ६७ करोड ५९ लाख रूपैयाँ बढी जरिबाना र त्यही बराबरको बिगो हुने फैसला बिहीबार सुनाएको छ। न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले सहकारीका अध्यक्ष शर्मासहित सचिव सविना न्यौपाने र छेत्रीय प्रबन्धक सन्दीप खवासलाई गत आइतबार दोषी ठहर गरेको थियो। 

सजाय निर्धारणका लागि बिहीबारलाई पेसी तोकिएको थियो। सहकारीका अध्यक्ष शर्मालाई ६ वर्ष कैदको फैसला भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार सचिव न्यौपाने र प्रबन्धक खवासलाई जनही २ वर्ष २ महिना कैद सजायको फैसला भएको छ। अध्यक्ष शर्मालाई ६७ करोड ५९ लाख २१ हजार २ सय ६८ रुपैयाँ बिगो र त्यही बराबर जरिबाना हुने पनि फैसला भएको जानकारी बुढाथोकीले दिए। अदालतको फैसला अनुसार शर्माले थप २ करोड ७० लाख ३६ हजार ८ सय ५० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने भएको छ। 

त्यस्तै, खवासलाई २७ लाख बिगो र २७ लाख नै जरिबानाको फैसला भएको छ। उनले पीडित राहत कोषमा १ लाख ८ हजार जम्मा गर्नुपर्ने फैसला भएको सूचना अधिकारीले बुढाथोकीले बताए। उनका अनुसार सचिव न्यौपानेको हकमा भने बिगो र जरिबाना तोकिएको छैन। पीडित राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्नुपर्ने अदालतको फैसला छ। ३ वर्षभन्दा माथि कैद सजायको माग दाबी गरिएको मुद्दामा कसूर कायम र सजाय निर्धारण अलगअलग समयमा हुन्छ। कसूर कामय भएको १ महिनाभित्रमा सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही अनुसार बिहीबार सजाय निर्धारणका लागि पेसी तोकिएको थियो। 

अदालतले सहकारीकी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईलाई भने सफाइ दिएको थियो। फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा भने मुलतबीमा राखिएको छ। उनीहरू अदालत उपस्थित भइसकेपछि मुद्दा जगाएर अदालतले थप प्रक्रिया अघि बढाउने छ। 

जिल्ला सरकारी वकिल कार्यालय मोरङले सहकारीका अध्यक्ष शर्मासहित ८ जनालाई प्रतिवादी बनाएर २०७९ साल चैत १२ गते ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसूरमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो। अध्यक्ष शर्मा, सचिव न्यौपाने र छेत्रीय प्रबन्धक खवास मुद्दाको पुर्पक्षका लागि थुनामा थिए। 

न्यौपाने र खवासले तोकिएको सजाय भुक्तान गरिसकेका छन्। अदालतको निर्धारण गरेको सजाय अवधि कारागारमा बसिसकेका कारण अब भने उनीहरू छुट्ने छन्। सहकारीको मुख्य कार्यालय विराटनगर र ३ वटा शाखा कार्यालयबाट २१ हजार १ सय ५४ जना बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत हिनामिना भएको अनुसन्धानबाट खुलेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.