राष्ट्रपति रनिङ शिल्ड स्याङ्जाको उपाधि गल्याङलाई
स्याङ्जा : स्याङ्जामा भएको १३ औ राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्याङ नगरपालिकाले जितेको छ। जिल्ला स्तरीय प्रतियोगितामा १६ स्वर्ण, ६ रजत र ७ कास्य पदक सहित गल्याङले उपाधि हात पारेको हो। चापाकोट नगरपालिकाले १२ स्वर्ण, १८ रजत र ११ कास्य पदकका साथ दोस्रो भएको छ।
यसैगरी, ११ स्वर्ण, १४ रजत र ३ कास्य पदक सहित पुतलीबजार नगरपालिका तेस्रो जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रेग्मीले जानकारी दिए। जिल्ला खेलकुद विकास समिति स्याङजाको आयोजना तथा चापाकोट नगरपालिका-१० सुन्तलीटारस्थित गंगालाल खेलमैदानमा प्रतियोगितामा भएका हुन। प्रतियोगितामा छात्रछात्रा तर्फ भलिबल, कबड्डी, हाइजम्प, कराँते, एथलेटिक्स र मार्सल आर्ट खेलमा ४३ स्वर्ण, ४३ रजत र ४३ कास्य पदकका लागि प्रतिस्पर्धा भएको हो।
११ वटा पालिका रहेको स्याङ्जामा पालिकाको प्रतिनिधित्व गर्दै कक्षा १२ सम्म अध्ययरत विद्यार्थी सहभागी थिए। प्रतियोगिताका विजयी विद्यार्थीलाई चापाकोट नगरउपप्रमुख ईशा रानाले शिल्ड, प्रमाणपत्र, ट्रफीसहित नगद पुरस्कार प्रदान गरेकी थिइन्।
प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धामा प्रथम र सामूहिक खेलमा उत्कृष्ट खेलाडी यही जेठ २६ र २७ गते गोरखामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन्।
प्रतिक्रिया दिनुहोस !