विराटनगरमा व्यापारका नाममा चिनियाँको शंकास्पद गतिविधि

विराटनगरमा व्यापारका नाममा चिनियाँको शंकास्पद गतिविधि

विराटनगर : विराटनगरमा चिनियाँ नागरिकले व्यापारका नाममा केही समयदेखि शंकास्पद गतिविधि गरिरहेको फेला परेको छ। कोशी प्रदेशको राजधानी विराटनगरको सीमा भारतसँग जोडिएको छ। सुरक्षा स्रोतका अनुसार विराटनगरमा २ जना चिनियाँ नागरिक करिब २ महिना अघिदेखि बसेर विभिन्न गतिविधि गरिरहेका हुन्। 

हाल विराटनगर महानगरपालिका–११ स्थित एउटा घरमा डेरा लिएर बसेका छन्। ठाउँ फेर्दै बस्ने गरेको सुरक्षा स्रोतको दाबी छ। उनीहरु कुन भिसाका आधारमा र कहिले चीनबाट नेपाल प्रवेश गरेका हुन् भन्ने यकिन छैन। 

उनीहरुको शंकास्पद गतिविधिका बारेमा जिल्ला सुरक्षा समिति मोरङमा समेत छलफल भएको थियो। ती चिनियाँ नागरिकले सुनजस्तो देखिने पहेँलो धातुका गरगहना (सुनका गहना हैनन्) बिक्री गर्ने गरेका छन्। उनीहरुले विश्वस्त पारेर महिलाहरुलाई सामान बिक्री गर्ने गरेका हुन्। ‘घर–घर पुगेर र टोल–टोल घुमेर सामान बेच्छन्। साप्ताहिक हटियामा पुग्छन्। विशेष गरेर नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रित गरेर सामान बेच्ने गरेको पाइयो,’ स्रोतले भन्यो। 

विराटनगरको जलजला चौकमा एउटा पसल नै सञ्चालन गरिरहेको सूचना सुरक्षा निकायसँग छ। तर, उनीहरुले अनुमति लिएर वा बिना अनुमति व्यापार गरिरहेका हुन् भन्ने बारेमा स्थानीय प्रशासन र अध्यागमन कार्यालयसमेत अनभिज्ञ छन्। बिजनेस भिसाका आधारमा प्रवेश गरेर अनुमति लिएका विदेशी नागरिकले मात्रै नेपालमा व्यापार गर्न पाउँछन्। विराटनगरमा शंकास्पद गतिविधि गरिरहेका चिनियाँ नागरिकले भने प्रदेश १–०१–००२ ह ३२६४ नम्बरको सीटी सफारी दैनिक भाडामा लिएर व्यापार गर्ने गरेका हुन्।
 
सफारी प्रयोग गरेबापत चालकलाई १ दिनको १ हजार ५ सय रूपैयाँ दिने गरेको पाइएको छ। ‘करिब ३ हप्तादेखि दैनिक सफारी भाडामा लिन्छन्। भाडाबापत १ हजार ५ सय रूपैयाँ दिन्छन्। सबैतिर पुर्याएर गरगहना बेच्छन्। अरु कुरा मलाई थाहा भएन,’ ती सफारी चालकले भने। ती चालकका अनुसार उनीहरुले विभिन्न ठाउँमा पुगेर दैनिक ४–५ हजार रूपैयाँ बराबरको सामान बिक्री गर्ने गरेका छन्। 

सञ्चारकर्मीले सोधीखोजी गर्दा १ जनाले भिसा र व्यापारका लागि अनुमति लिएको प्रमाण देखाउन सकेनन्। उल्टै तर्किएर हिँडे। १ जना भने लुकेर बसे। बाहिरै निस्किएनन्। जसका कारण उनीहरुको गतिविधि शंकास्पद देखिएको हो। विराटनगर छिरेर नेपाल–भारत सीमा क्षेत्र केन्द्रित व्यापारमा उनीहरु सक्रिय हुँदा पनि राज्यका निकायसँग उनीहरुका बारेमा कुनै ‘रेकर्ड’ छैन। चिनियाँहरुले अध्यागमन कानुनको उल्लंघन गरेको हुनसक्ने आशंका छ। भिजिट भिसामा नेपाल छिरेर उनीहरुले व्यापार गरिरहेको हुनसक्ने सुरक्षा स्रोतको भनाइ छ। 

‘नेपालले कानुन कार्यान्वयन गर्न नसकेजस्तो देखिन्छ। अध्यागमन कानुनको उल्लंघन गरेको हुनसक्छ। कतिपय विदेशीहरु भिजिट भिसामा नेपाल छिरेर व्यापार गर्ने गर्छन्। व्यापार गर्ने नाममा चिनियाँहरु भारतसँग सीमा जोडिएका क्षेत्रतर्फ केन्द्रित हुनु शंकास्पद हो। भारत–चीन द्वन्द्व छ। उनीहरुका गतिविधिले सुरक्षा संवेदनशीलता बढाउने देखिन्छ,’ १ सुरक्षा अधिकारीले भने। उनीहरु सीमा क्षेत्रमा निर्वाध घुमफिर गरिरहेका छन्। 

‘नेपालमा भन्दा चीनमा व्यापारको सम्भावना र अवसर राम्रो छ। त्यहाँमाथि पहेँलो धातुका सामान बेचेर कति नै कमाइ हुन्छ र ? व्यापार गरेजस्तो देखाएर अरु नै रणनीति र उद्देश्य छ कि भनेर आशंका गर्ने पर्याप्त आधारहरु छन्,’ सुरक्षा स्रोतले भन्यो। स्रोतका अनुसार सीमा क्षेत्रमा चिनियाँको शंकास्पद गतिविधिका कारण छिमेकी मुलुक भारतले नेपाललाई शंकाको दृष्टिले हेर्न सक्छ। 

अध्यागमन कार्यालय विराटनगरका प्रमुख भक्तबहादुर राजवंशी चिनियाँ नागरिक कसरी विराटनगर प्रवेश गरेका हुन् भनेर यकिन नभएको बताउँछन्। उनका अनुुसार पर्यटक, विवाह (नेपाली नागरिकले विदेशीसँग बिहे गरेमा) र फेमिली भिसाको म्याद थप गर्ने अधिकार मात्रै विराटनगरको अध्यागमनलाई छ। भिसा भने अध्यागमन विभागमार्फत नै जारी हुने राजवंशीले बताए। ‘हामीले भिसा दिने हैन। म्याद मात्रै थप्ने हो। भिसाको म्याद थपका लागि तत्काल चिनियाँ नागरिक आएका छैनन्,’ उनी भन्छन्। उनका अनुसार पर्यटक भिसामा १ सय ५० दिनसम्म बस्ने अनुमति दिन सकिन्छ। 

विवाह भिसाको समय अलि लामै हुन्छ। फेमिली भिसामा १ वर्षसम्म बस्ने अनुमति दिन सकिने र त्यसपछि समय थप गर्दै लैजाने व्यवस्था रहेको उनले बताए। राजवंशीका अनुसार बिजनेस भिसा र वर्किङ भिसाको म्याद थप गर्ने अधिकार विराटनगरको अध्यागमनलाई छैन।  ‘अध्यागमन विभाग र श्रम मन्त्रालयबाटै सबै काम हुन्छ,’ उनले भने। विराटनगरमा चिनियाँ नागरिकको गतिविधि हेर्दा अलि शंकास्पद नै देखिएको अध्यागमन प्रमुख राजवंशीको भनाइ छ। अवैध तरिकाले बसेको र भिसाको दुरुपयोग भइरहेको रहेछ भने प्रहरीले अनुसन्धान गर्नुपर्ने उनले बताए। 

‘अहिले केही जानकारी छैन। तर, खोजतलास र अनुसन्धान गरेपछि सबै कुरा थाहा हुन्छ। अवैध तरिकाले बसेको र गतिविधि गरेको पाइयो भने ‘डिपोर्ट’ गर्ने प्रक्रिया अघि बढाउँछौं। कानुनी कारबाहीका लागि विभागमा पठाउँछौं,’ उनी भन्छन्। तर, यस विषयमा सत्यतथ्य पत्ता लगाउने जिम्मा प्रहरीकै हुने बताए। 

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले चिनियाँ नागरिकका विषयमा बुझ्नका लागि प्रहरी टोली परिचालन गरिएको बताए। वास्तविकता बुझेपछि अवैध तरिकाले बसोबास गरिरहेको पाइयो भने नियन्त्रणमा लिएर अध्यागमनलाई लाई बुझाइने जानकारी उनले दिए। 

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चिनियाँ नागरिकका बारेमा विभिन्न कोणबाट बुझ्ने काम भइरहेको बताए। उनीहरुको बसाइ र व्यापार वैधानिक हो कि हैन भनेर बुझ्ने काम भइरहेको बताउँदै यादवले त्यसपछि मात्रै वास्तविकता बताउन सकिने जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.