ट्रम्प–मस्क सम्बन्ध कहिले महामित्र, कहिले दुस्मनीको पराकाष्ठा

ट्रम्प–मस्क सम्बन्ध कहिले महामित्र, कहिले दुस्मनीको पराकाष्ठा
फाइल तस्बिर।

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र विश्वकै धनी व्यक्ति एलोन रिभ मस्कबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । सन् २०२४ को जुलाईमा पेन्सेलभेनियाको बटलरमा चुनावी र्‍यालीपछि मस्कले ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए । उनले ट्रम्पको चुनावी अभियानमा महत्वपूर्ण आर्थिक सहयोग पनि गरे । त्यस बेलादेखि ट्रम्प र मस्कबीच ‘गाला चाटाचाटको सम्बन्ध’ बन्यो । तर, फेरि दुवै जना एकअर्काको दुस्मनजस्तै अभिव्यक्ति दिइरहेका छन् । 

हुन त सन् २०२४ को जुलाई अघिसम्म मस्क ट्रम्पको पक्षमा नदेखिएका मात्र होइनन्, ट्रम्प पहिलो कार्यकालमा राष्ट्रपतिको उम्मेदवार बन्दा मस्कले त्यसको खरो विरोध गरे । तर, समयसँगै राष्ट्रपति ट्रम्प र मस्कबीचको सम्बन्ध नजिकिएको थियो । करिब १० वर्षदेखि चिनजानमा रहेका उनीहरूबीचको सम्बन्ध गत वर्षदेखि नजिकको सहकार्यमा परिणत पनि भएको थियो । 

त्यसअघि मस्कले ‘ट्रम्प राष्ट्रपति बन्न योग्य छैनन् भन्ने आरोप लगाएका थिए । मंगल ग्रहमा रकेट लाने कुरा पागलको परिकल्पना भन्ने ट्रम्पको खिसीट्युरीको खुलेरै विरोध जनाए । तर, पछिल्लो समय ‘अमेरिकाका लागि चाहिने व्यक्ति ट्रम्प हुन् र म उनलाई इन्ड्रोस गर्दछु’ भन्ने मस्कको भनाइ सार्वजनिक भयो । त्यति मात्र होइन, ट्रम्पको प्रशंसा गर्दै मस्कले, ‘अरू कसैले गर्न नसक्ने काम उनले गर्न सक्छन्, उनी जिनियस छन्’ भन्ने खालको अभिव्यक्ति पनि दिए । दोस्रो राष्ट्रपतीय निर्वाचनमा ट्रम्प र मस्कबीच सम्बन्ध निकै नजिकको बन्न पुगेको थियो । 

यसैबीच, ट्रम्पको एक्समा भएको अकाउन्ट पुनस्र्थापित पनि भएको थियो, जुन एक्स सामाजिक सञ्जाल मस्कको हो । ट्रम्पलाई राष्ट्रपति बनाउन मस्कले सकेको जोड बल गरे । राष्ट्रपति ट्रम्पले मस्कको परियोजनामा साथ मात्रै दिएनन्, विश्व चर्चित विद्युतीय कार टेस्लाको प्रबद्र्धनमा पनि योगदान दिए । ट्रम्पले यसबीच टेस्लासमेत किनेका थिए । राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले आफ्नो वरिष्ठ सल्लाहकारकै रूपमा भूमिका खेल्न सक्ने गरी डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी विभाग गठन गरी त्यसको प्रमुख मस्कलाई बनाएका थिए । 

संघीय सरकारको अनावश्यक खर्च कटौती गर्दै डिजिटल टेक्नोलोजीमार्फत काम गर्दै खर्च मितव्ययी बनाउन भूमिका निभाउने जिम्मेवारीसहितको सो विभागले सक्रियता बढाउँदै काम पनि गर्‍यो । ट्रम्प प्रशासनको सहयोगी बन्दै सुझावसमेत दियो । मस्कको सक्रियता र भूमिका आलोचनामुक्त भने रहन सकेन । संघीय सरकारका मन्त्री र विभिन्न विभागीय प्रमुखहरू, कर्मचारीहरूले पनि उनको भूमिकाप्रति सन्तोष नमानेका खबरहरू आइरहे । तर, ट्रम्पका प्रिय बन्दै मस्कले काम गरे । 

यसबीच मस्कको परिवार किन ह्वाइट हाउसमा ?

मस्कका छोरा किन राष्ट्रपति कार्यालयमा ? जस्ता प्रश्न पनि उठे । आलोचना भइरहे पनि ट्रम्प–मस्क आफूहरूको सहकार्य दरिलो भएको प्रस्तुति दिइरहे । मस्कको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीमा सक्रियता बढिरहँदा यता उनको एकल स्वामित्व रहेको टेस्लालगायत उनको स्वामित्व रहेको सामाजिक सञ्जाल र वस्तुहरूको सेयर मूल्यमा गिरावट आउन थाल्यो । 
ट्रम्प प्रशासनमा विभिन्न मन्त्रालय सम्हालिरहेका मन्त्रीहरूसँग पनि मस्कको सम्बन्ध राम्रो नभएका खबरहरू आउन थाले । अन्ततः मस्कले आफूले अब डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीमा समय कम दिने र टेस्ला तथा आफ्ना परियोजनामा ध्यान लगाउने उद्घोषसहित आफ्नो स्वामित्वको एक्समा पोस्ट गरे । त्यसको केही दिनमै ट्रम्पले कार्यकारी आदेशमार्फत बनाएको इफिसेन्सीबाट राजीनामा दिए । 

जुन १ देखि टेस्लामै पूर्णतः ध्यान दिने गरी राजीनामा दिएका उनले १ सय ३० दिनमा आफूले अमेरिकी सरकारका लागि उल्लेखनीय योगदान दिएको दाबी गरे । तर, एकाएक जुन ५, बिहीबार दिनभर अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र विश्वका धनी व्यक्ति एलोन रिभ मस्कबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप सुरु भयो । मस्कले आफ्नो स्वामित्वको एक्समा राष्ट्रपति ट्रम्प, उनको प्रशासन, उनको नीति र बन्दै गरेका बिलहरूमाथि कडा टिप्पणी गरे । अर्कोतर्फ राष्ट्रपति ट्रम्प सामाजिक सञ्जाल टु«थमा मस्कको शैली र उनको व्यवहार ठीक नभएको जस्ता सन्देश सहितका पोस्टहरू पोस्टिङ गर्न थाले । करिब दिनभरजसो सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्प र मस्कबीच आरोप प्रत्यारोपको दोहोरी चल्यो । सामाजिक सञ्जालमा दोहोरी भइरहँदा राष्ट्रपति ट्रम्प सोही दिन जर्मनका चान्सलर फ्राइड्रिज मर्जसँगको भेटघाटमा थिए । 

सामाजिक सञ्जालमा आरोप प्रत्यारोपको शृखंला चलिरहँदा पछिल्ला केही दिनमा राष्ट्रपति ट्रम्प र मस्कले सञ्चारमाध्यममा समेत प्रतिक्रिया दिँदै एकअर्काविरुद्ध कडा प्रहार गर्न थालेका छन् । ट्रम्पले मस्कसँगको सहकार्य सकिएको बताइरहँदा मस्कले अहिले आइरहेको कर कटौती र खर्च वृद्धिसम्बन्धी आर्थिक बिल रोक्न कंग्रेससँग आग्रह गरेका छन् । सम्बन्ध राम्रो हुँदा किनेको टेस्लासमेत ट्रम्पले बेच्न सक्ने चर्चा सुरु भएको छ ।

 ट्रम्पले मस्कसँग वार्ता गर्ने कुनै सोच नभएको र टेस्लामा राम्रो गरून् भन्ने चाहना आफ्नो रहेको सञ्चारमाध्यममा प्रतिक्रिया दिएका छन् । उनले मस्क रहेको समयमा भएका सम्झौताहरू भने पुनरावलोकन हुने उल्लेख गरेका छन् । यता, मस्कले अब ८० प्रतिशत मिडलम्यानको सहभागिता रहने दलको आवश्यकता देखिरहेका छन् भने आउँदो मिडटर्म चुनावमा कंग्रेसलाई सहयोग गर्ने हुन् कि भन्ने अनुमान पनि गर्न थालिएको छ । हुनतः ट्रम्प र मस्कको सम्बन्धमा उतारचढावहरू समय समयमा आउने गरेका देखिन्छन् । 

टेस्लाका सीईओले मस्कले २०१६ को चुनावअघि सीएनएन र बीबीसीसँगको अन्तर्वार्तामा डेमोक्रेटिक राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टनको आर्थिक र वातावरणीय नीतिहरूको प्रशंसा गरेका थिए । ‘मलाई लाग्छ कि उनी सही मान्छे होइनन्,’ मस्कले त्यतिबेला ट्रम्पको बारेमा भनेका थिए र थपेका थिए– मलाई लाग्दैन कि यो हाम्रो लोकतन्त्रको सबैभन्दा राम्रो क्षण हो । तर, ट्रम्पको पहिलो कार्यकालमा मस्कले केही समय उनीसँग नजिक रहेर काम भने गरेका थिए । मस्क, ट्रम्पको निर्माण रोजगार परिषद्मा रहेर काम गरे । तर, मस्कले पेरिस जलवायु सम्झौताबाट फिर्ता हुने ट्रम्पको घोषणाको समर्थन नगरी आफूलाई दिइएको भूमिकाबाट बाहिरिए । उनले त्यतिखेर २०१७ मा टिट गर्दै भनेका थिए, जलवायु परिवर्तन निकै महत्वपूर्ण विषय हो, पेरिस सम्झौता  छोड्नु अमेरिका वा संसारका लागि राम्रो होइन ।’

तत्कालीन समयमा जिम्मेवारी छाडे पनि मस्कले संघीय सरकारसँग घनिष्ठ सम्बन्ध कायम राख्दै आफ्नो रकेट कम्पनी स्पेस एक्सको नासा र अन्य एजेन्सीहरूसँग सम्झौता गरेका थिए ।  ट्रम्पले फ्लोरिडामा २०२० स्पेसएक्स प्रक्षेपणमा मस्कको प्रशंसा गर्दै उनलाई महान मान्छेको संज्ञा दिएका थिए । एक पछि अर्को घटना परिघटनाले नजिकिएका ट्रम्प र मस्क राजनीतिक रूपमा पनि नजिक भएका थिए । ट्रम्पको पहिलो कार्यकाल अघि पार्टी लाइनको समेत कटु आलोचक मस्क २०२२ पछि भने ट्रम्पको पार्टी लाइनप्रति पनि नरम भएका थिए । मस्कले मे, २०२२ मा आफूले अब डेमोक्रेटलाई सहयोग र समर्थन नगर्ने उद्घोष गरेका थिए । ‘तिनीहरू विभाजन र घृणाको पार्टी बनाउन लागेका छन् । मस्कले डेमोक्रेटलाई प्रहार गर्दै टिटमा भनेका थिए, ‘ त्यसैले म अब तिनीहरूलाई समर्थन गर्न सक्दिनँ र रिपब्लिकनलाई भोट दिनेछु ।’ 

तर राष्ट्रपति दौडमा पुनः ट्रम्प आएपछि मस्कले सहयोग नगर्ने र अन्य पूर्वराष्ट्रपतिहरूलाई पनि सहयोग नगर्न आग्रह गरेका थिए । जसको जवाफमा ट्रम्पले २०२२ को जुलाईमा भएको एक र्‍यालीमा मस्कलाई कलाकारको संज्ञा दिँदै संघीय सरकारको सहयोगबिना मस्कले उनका कम्पनीहरू चलाउन पनि नसक्ने टिप्पणी गरेका थिए । त्यसबीचमा ट्रम्पको तत्कालीन टिटर हाल एक्समा रहेको एकाउन्ट बन्द अवस्थामा रहेको थियो । त्यो टिटर मस्कले २०२२ मा किनेर एक्स बनाएका थिए र ट्रम्पको एकाउन्ट सुचारु भएको थियो । मस्कले सुरुमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिकमा फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसलाई समर्थन गरेका थिए । उनी रोनसँगै एक कार्यक्रममा मे २०२३ मा सँगै देखिएका थिए । तर रिपब्लिकनबाट ट्रम्प नै आउने भएपछि मस्क आफ्नो पहिला गरेका टिप्पणी विपरीत ट्रम्पको समर्थनमा देखा परेका थिए । टेक अर्बपति मस्कले जुलाई १३, २०२४ मा ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए । 

‘म राष्ट्रपति ट्रम्पलाई पूर्ण रूपमा समर्थन गर्छु र उनको शीघ्र स्वास्थ्यलाभको आशा गर्छु,’ चुनावी अभियानका क्रममा पेन्सेलभेनियामा ट्रम्पमाथि भएको आक्रमण पछि मस्कले भनेका थिए । मस्कले ट्रम्पलाई खुलेर सहयोग गरेका थिए । मस्कले अभियान नै सञ्चालन गरी ट्रम्प र अन्य रिपब्लिकन उम्मेदवारहरूलाई निर्वाचित गर्न मद्दत गर्न लगभग ४,२७७ मिलियन खर्च गरेको अमेरिका पीएसी भनिने संस्थाले जनाएको छ । चुनावमा विजयपछि ट्रम्पले विजयी सभामा मस्कको नाम लिँदै उनलाई अद्भुत र चम्किलो ताराको संज्ञा दिएका थिए । पछि कार्यकारी आदेशमार्फत विभाग नै गठन गरी, मस्कलाई त्यसको नेतृत्वको जिम्मेवारी राष्ट्रपति ट्रम्पले दिएका थिए, दुईबीच घनिष्ठ सम्बन्ध बनेको थियो  ।

मस्कको कामको आलोचना हुँदा राष्ट्रपति ट्रम्प त्यसको बचावमा उत्रिने गरेका थिए । पत्रकार सम्मेलनहरूमा पनि सँगै देखिएका थिए भने मस्कले कर नीतिको आलोचना गर्दा पनि ट्रम्प प्रशासन त्यसलाई महत्व दिएर बढावा दिने स्थितिमा देखिएको थिएन । बरु ट्रम्पले टेस्ला किनेर सन्देश प्रवाह गर्न चाहेका थिए । तर विवाद बढ्दै जाँदा मेको  अन्त्यसँगै मस्कको ह्वाइट हाउस बसाइ टुंगियो । राष्ट्रपति ट्रम्पले अब उनी आफ्नो घर टेस्ला फर्कन सक्नेछन् भन्ने अभिव्यक्ति दिए । त्यसको केही दिनमा नै मस्कले जिम्मेवारी छाडेको घोषणासँगै राजीनामा दिए । राजीनामा दिनुअघि नै मस्कले ट्रम्पको दोस्रो कार्यकालको एजेन्डालाई अगाडि बढाउने उद्देश्यले बनाइएको कानुनको आलोचना गर्न थाले । मस्कले सो कानुनलाई ‘घृणित घृणित’ भनी टिप्पणी गरे । जुन ५ मा  ट्रम्पले मस्कको आकर्षक सरकारी सम्झौताहरू रद्द गर्ने धम्की दिए र मस्कले पनि आफूबिना ट्रम्पले राष्ट्रपति पद जित्न नसक्ने दाबी गरे । बजेट बिलमा विद्युतीय सवारी साधनहरूको लागि कर क्रेडिट समाप्त गर्ने प्रावधानले मस्क निराश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

‘ट्रम्पसँग राष्ट्रपतिको रूपमा ३.५ वर्ष बाँकी छ, तर म ४० भन्दा बढी वर्षसम्म रहनेछु,’ मस्कले भनेका छन् । राष्ट्रपति ट्रम्पले कानुनबारे मस्क जानकार थिए भनिरहँदा मस्कले आफू यसको पक्षमा कहिल्यै नहुने र आफूलाई कुनै जानकारी नभएको बताएका छन् । राष्ट्रपति ट्रम्पले मस्कलाई पागलको संज्ञा दिन पछि परिरहेका छैनन् भने मस्क अब राष्ट्रपति ट्रम्पबाट अमेरिकाले हित नहुने बताइरहेका छन् । यसले के देखिन्छ भने ट्रम्प र मस्कबीच सम्बन्ध निकै नै चिसिएको छ । तर विगतलाई हेर्दा चिसिएको सम्बन्ध फेरि सुमधुर नहोला भन्न सकिन्न ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.