मोटरसाइकल दुर्घटनामा घाइते भएका पुरुषको मृत्यु
विराटनगर : कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित तिरुपति पेट्रोल पम्प अगाडि दुर्घटनामा परेर घाइते भएका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार दूध फारमबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३४ प २४३४ नम्बरको मोटरसाइकल र कञ्चनबारीतर्फ नै आउँदै गरेको प्रदेश १–०२–०४४ प ९५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर आइतबार राति ८:४० बजेतिर दुर्घटना भएको थियो। दुर्घटनामा परेर विराटनगर–५ का ४२ वर्षीय नवीन खनालको मृत्यु भएको हो। उनी ९५७२ नम्बरको मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका खनाललाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा सोमबार दिउँसो ४ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ। लाइन्स क्लब अफ विराटनगर गुराँसका सदस्य रहेका खनालको विराटनगरमा मुनलाइट फोटो स्टुडियोसमेत थियो।
दुर्घटनामा परेर अर्को मोटरसाइकलको पछाडि सवार भारत झारखण्ड घर भइ विराटनगर–६ रामपुरस्थित माइतीमा बस्दै आएकी २९ वर्षीया सपना दास घाइते भएकी थिइन्। उनको नोबेलमा उपचार भइरहेको छ। अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटना लगत्तै प्रहरीले २४३४ नम्बरको मोटरसाइकलका चालक भारतको झारखण्डका ३४ वर्षीय राकेश रन्जनलाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रतिक्रिया दिनुहोस !