ऋण दिने भन्दै व्यवसायीसँग घुस उठाउँदै

नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध अख्तियारले हाल्यो मुद्दा

ऋण दिने भन्दै व्यवसायीसँग घुस उठाउँदै

काठमाडौं : नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले ऋण उपलब्ध गराइदिने भन्दै व्यवसायीसँग घुस लिने गरेको तथ्य बाहिर आएको छ । भुसाल हस्पिटालिटीअन्तर्गत र्‍याडिसन प्रोजेक्ट, हिमाल–तराई कन्स्ट्रक्सन प्रालि, अकलादेवी टे«डर्ससँग डा. अधिकारीले ऋण दिलाउन सहजीकरण गरिदिन्छु भनी घुस लिएको पाइएको छ । 

तत्कालीन अध्यक्ष डा. अधिकारीसहित घुस उपलब्ध गराउने व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन फरकफरक मुद्दा दायर गरेको छ । विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा तीनवटा कम्पनीबाट डा. अधिकारीले ७४ लाख घुस लिइएको देखिएको छ । 

१ अर्ब ७७ करोड २९ लाख ऋण दिन १९ लाख घुस 

अध्यक्ष अधिकारीले भुसाल हस्पिटालिटीलाई ऋण उपलब्ध गराउन सहजीकरण गरिदिन्छु भनी बालकृष्ण भुसाल, अमृत भुसाल र अंकित भुसालसँग १९ लाख घुस लिएको अनुसन्धानमा देखिएको छ । रुपन्देही सिद्धार्थनगर १ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गत र्‍याडिसन प्रोजेक्टले १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६६ ऋण लिन नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा कागजात पेस गरी प्रक्रिया अगाडि बढाइएको अनुसन्धानमा देखिएको छ । 

ऋण प्रक्रियाका लागि नेपाल बैंकले कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण र उनका छोरा तथा भुसाल हस्पिटालिटीका सेयर सदस्य अंकितको सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. अधिकारीसँग पटक–पटक ह्वाट्स एपमार्फत कुराकानी, भेटघाट हुने गरेको पाइएको छ । 

डा. अधिकारीले नेपाल बैंकबाट ऋण मिलाइदिन सहजीकरण गर्न/गराउन लक्की भन्ने खुसनसिब अन्सारीको मिलेमतोमा २०८१ भदौ ३० गते रकम माग गरेको अनुसन्धानमा देखिएको छ । भुसाल हस्पिटालिटीका सञ्चालक बालकृष्णबाट प्राइम बैंकको चेक प्राप्त गरी भारतीय नागरिक लक्की खानकहाँ काम गर्ने राकेश थापालाई चेक सटही गर्न लगाई ७ लाख, शारदा गुप्ताको नाम दर्ता रहेको अनन्या इन्टरप्राइजेस सिटिजन बैंकको खातामा अमृत भुसालको एभरेस्ट बैंकमार्फत रकम ट्रान्सफर गर्न लगाएको देखिएको छ । यसरी लक्की खानबाट डा. अधिकारीले १९ लाख प्राप्त गरेको अनुसन्धानबाट खुलेको छ । डा. अधिकारी समेतले भुसाल हस्पिटालिटीलाई बैंकबाट ऋण लिन सहजीकरण गराउन १९ लाख घुस हस्पिटालिटीका पदाधिकारी भुसालसँग समेत गरी लिन/दिन मन्जुर भई लिएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यो रकम २०८१ माघ २३ मा डा. अधिकारीको घरको कोठाबाट बरामद भएको थियो । 

६ करोड ऋण दिन ५ लाख घुस
नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. अधिकारीले काठमाडौं ३२ मा रहेको हिमाल–तराई कन्स्ट्रक्सन प्रालिसँग ५ लाख घुस लिएका छन् । डा. अधिकारीले ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनेर ५ लाखको चेक लिइएको अख्तियारको अनुसन्धानमा पाइएको छ । हिमाल–तराई कन्स्ट्रक्सन प्रालि राजमान तामाङको नाम रहेको कम्पनी हो । ऋण प्रक्रियाका लागि रमेश आचार्यले कम्पनीका अध्यक्ष तामाङलाई डा. अधिकारीसँग चिनजान र भेटघाट गराइदिएका थिए । अधिकारीले आचार्यलाई प्रयोग गरेर एसएमएस, फोन र ह्वाट्स एपमार्फत तामाङसँग पटक–पटक सम्पर्क गरी ऋण उपलब्ध गराउन सहजीकरण गर्ने र त्यसका लागि १ प्रतिशत घुस माग गरेको अनुसन्धानमा पाइएको छ । 

अधिकारीले आचार्यमार्फत नै हिमाल–तराई कन्स्ट्रक्सन प्रालिको ऋणका लागि धितोको प्रारम्भिक मूल्यांक गराइदिएका थिए । माग गरेको घुस रकममध्ये तत्काल ५ लाख हिमाल–तराई कन्स्ट्रक्सन प्रालिको प्रभु बैंकको रमेश आचार्यको नाममा खिचिएको चेक राजमानले रमेश हुँदै डा. अधिकारीलाई उपलब्ध गराएको देखिएको छ । यो चेक डा. अधिकारीको घरको कोठाबाट २०८१ माघ २३ मा बरामतसमेत गरिएको थियो । यो प्रकरणमा डा. अधिकारी र रमेश आचार्यविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

अधिकारीले अकला–देवकी ट्रेडर्ससँग पनि लिए घुस 
डा. अधिकारीले तनहुँको आबुखैरेनी १ मा अकला–देवकी ट्रेडर्सलाई २५ करोड ऋण उपलब्ध गराइदिने भन्दै ५० लाख घुस लिइएको पाइएको छ । अख्तियारका अनुसार डा. अधिकारीले सन्तोष सुवेदीमार्फत दानबहादुर कार्की, नारायणप्रसाद बराल र सुन्दरबहादुर बानियाँसँग २५ करोडको दुई प्रतिशत घुस माग गरी लिन/दिन सहमत भएका थिए । 

अनुसन्धानमा दुवै पक्ष सहमत भएपछि २०८१ भदौ १६ मा सन्तोषको नामको एनआइसी एसिया बैंकको खातबाट ७ लाख जम्मा भएको देखिएको छ । यो रकम जम्मा भएको भोलिपल्ट नै त्यो ७ लाख मध्येबाट ५ लाख अविनाश श्रेष्ठको नबिल बैंकको खातामा जम्मा गरिएको थियो ।  यो ५ लाख रकम तत्कालै अविनाशले आफ्नो खाताबाट डा. अधिकारीकी श्रीमती मधुमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिदिएको पाइएका छ । २०८१ भदौ १७ गते १ लाख, १८ गते २ लाख, १९ गते बाँकी २ लाख मुधमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंकको अर्को खातामा स्थानान्तरण गरेको देखिएको छ । मधुमायाको खाताबाट २०८१ भदौ ३० गते ९ लाख ९० हजार लक्की खानले निकालको देखिएको छ । 

त्यो रकम डा. अधिकारीले नेपाल बैंकको खातामा २०८१ असोज ८ मा २ लाख, २०८१ असोज १० मा ४ लाख गरी ६ लाख प्राप्त गरेको देखिएको छ । ५ लाख ट्रान्सफर गर्न लगाएको देखिएको छ । केही समयपछि नारायणप्रसाद बरालले ३० लाख र १५ लाख को चेक काटी सुन्दरबहादुर बानियाँसँग ललितपुरको झम्सीखेल गई सन्तोष सुवेदीलाई दिएको अनुसन्धानमा देखिएको छ । सन्तोष सुवेदीले ती चेक अविनाश श्रेष्ठ हँुदै डा. अधिकारीलाई सवारीचालकमार्फ दिइएको पाइएको छ । ती चेक भारतीय नागरिक लक्की खानलाई दिएपछि खानले नै सुमित्राकुमार घिमिरे र अञ्जन दाहाललाई दिई सटहीका लागि पेस गरेको अनुसन्धानमा पाइएको छ । 

यसरी डा.अधिकारीले सन्तोष सुवेदीमार्फत माग गरी घुस लिन मन्जुर गराई ५० लाखमध्ये ५ लाख बैंकमार्फत ट्रान्सफर गराई लिइएको पाइएको छ भने बाँकी ४५ लाखको चेक नारायणप्रसाद बरालको नबिल बैंकको खाताबाट उपलब्ध गराइएको पाइएको छ । यो प्रकरणमा अधिकारीसहित लक्की खान, सन्तोष सुवेदी, नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँविरुद्ध अख्तियारले मुद्दा हालेको छ । तीनैवटा फरकफरक मुद्दामा डा. अधिकारीसहित १० जनाविरुद्ध बिगो, कैद र जरिवानाको मागसहित मुद्दा दायर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.