सभ्य समाजको नैतिक आधारशिला

सभ्य समाजको नैतिक आधारशिला

कतिलाई लोकतन्त्रको यो उन्नत रूप मन परेको छैन भने कति यसको गलत फाइदा लिनमा मग्न छन् ।

महाभारतमा महामन्त्री विदुरले दृष्टिविहीन राजा धृतराष्ट्रलाई सम्झाउँदै भन्छन्–
न सा सभा यत्र न सन्ति वृद्धाः 
वृद्धा न ते ये न वदन्ति धर्मम् ।

धर्मो न वै यत्र च नास्ति सत्यमसतां न तद्यच्छलनानुविद्धम् । ।

जुन सभामा वृद्ध अर्थात् ज्ञानी मानिस हुँदैनन्, त्यो सभा सभा नै होइन । जुन सभासद्ले आपसमा धर्मको चर्चा गर्दैनन्, ती ज्ञानी होइनन् । जुन सभामा सत्य र सदाचार छैन, त्यहाँ धर्मको अस्तित्व हुँदैन । जहाँ छलकपट र धोका हुन्छ, त्यहाँ सत्य हुँदैन ।
प्राचीन सन्दर्भमा सभा भन्नाले राजसभा या राजपरिषद् भन्ने बुझिन्थ्यो, जहाँ राजा र उनका मन्त्रीहरू बसेर निर्णय लिने गर्दथे । वर्तमान सन्दर्भमा संसद्, मन्त्रिपरिषद्, न्यायालय, संवैधानिक अंग, शिक्षण संस्था र निजामती सेवामा कार्यरत सबै मानिस सभाका सभासद् हुन् । सभासद्को अर्थ हो सभ्य, विवेकी र विचारशील व्यक्ति । समाजले सभामा संलग्न व्यक्तिहरू सज्जन, सुसंस्कृत र शिष्ट होऊन् भन्ने अपेक्षा गरेको हुन्छ ।

नेपाल अर्थतन्त्र, शिक्षा र रोजगारीको क्षेत्रमा पिछडिएको भए तापनि राजनीतिक रूपमा पूर्ण लोकतान्त्रिक पद्धतिको अभ्यासमा छ । कतिलाई लोकतन्त्रको यो उन्नत रूप मन परेको छैन भने कति यसको गलत फाइदा लिनमा मग्न छन् । लोकतन्त्रका खातिर संघर्ष गर्नेहरूले यसलाई स्वतन्त्रताको रूपमा मात्र बुझे । लोकतन्त्र केवल स्वतन्त्रता मात्र नभई जीवनपद्धति पनि हो । यस कुरालाई आत्मसात् नगर्दासम्म लोकतान्त्रिक पद्धति मजबुत हुन सक्दैन ।

महात्मा विदुरले माथिको श्लोक कुरु राजसभालाई व्यंग्य गर्दै उल्लेख गरेका थिए । दुर्योधन, शकुनि, कर्ण र दुःशासनको चौकडीले आधिपत्य जमाएको राजसभा उनीहरूका सामु विवश थियो । भीष्म तथा द्रोणलगायतका अनुभवी, दक्ष र प्रवीण सभासद्हरू दुर्योधनको एक हुँकारमा चुप लाग्न लाचार थिए ।

आजको मुख्य चासो नै देशलाई कसरी छलबल र फरेबको चंगुलबाट जोगाउने भन्ने हो। अहिले नेपालका समस्त सार्वजनिक निकायहरू आरोपित र लाञ्छित छन्। यस्तो अवस्थाबाट देशलाई जोगाउनु सबैको दायित्व हो। 

जानाजान या अञ्जानमा नेपालको लोकतन्त्र पनि तर्क एवं वस्तुतथ्यबाट नभई भावनात्मक प्रचारबाट निर्देशित हुन गयो । राजनीतिक मामिलामा सत्य र धर्म भनेको पारदर्शिता र निष्कपटता हो । व्यक्तिगत र सामाजिक नैतिकताबीचको सन्तुलन बडो नाजुक हुन्छ । व्यक्तिगत नैतिकतमा आउने विचलनलाई सामाजिक मान्यता प्राप्त हुँदै गयो भने समग्र राष्ट्रिय जीवन नै प्रदूषित हुन पुग्दछ । माथि उल्लेख गरिएका सभासद्हरू समाजका अगुवा हुन् । अगुवाका हरेक क्रियाकलापमा समाजको नजर हुन्छ । अगुवाहरूले जस्तो चरित्रलाई अंगीकार गर्दछन्, सर्वसाधारण मानिसहरूले त्यसैको अनुगमन गर्दछन् ।

आजको मुख्य चासो नै देशलाई कसरी छलबल र फरेबको चंगुलबाट जोगाउने भन्ने हो । अहिले नेपालका समस्त सार्वजनिक निकायहरू आरोपित र लाञ्छित छन् । राज्य व्यवस्थाको सर्वांगीण आयाम विचलनको मार्गतर्फ उन्मुख हुँदै गएको आम आशंका छ । सार्वजनिक निकायका अधिकारीहरू निर्णय गर्‍यो कि आक्षेप लाग्ने अवस्थामा छन् । राम्रै काम गरेको ठान्दाठान्दै पनि कहाँनिर कुन वितण्डाकारी घुसेर बर्बाद पार्ने हो भन्ने त्रास छ । असल र खराबको विभाजन रेखा मेटिन जाँदा सबै एउटौ भकारीमा भरिएको विजातीय धानजस्ता बन्न पुगेका छन् । कतिपय सार्वजनिक सेवकहरू ‘संसर्ग दोष’को सिकार बनेका छन् । अदालत र अख्तियारलगायतका महत्त्वपूर्ण सार्वजनिक निकायहरूलाई कपटपूर्ण निर्णयको आरोप लाग्न थालेको छ ।

दार्शनिक दृष्टिले हेर्दा सरकार फगत एक भौतिक अस्तित्व मात्र होइन । सरकार वास्तवमा राष्ट्रिय चेतनाको प्रतीक र प्रतिनिधि हो । मुलुकको राष्ट्रिय जीवन जस्तो छ, त्यसैको दुरुस्त प्रतिरूप हो सरकार । यहाँ इमान मात्र नभई समझदारीपूर्ण बुद्धिमानीको समेत दरकार छ । यहाँ समग्र राष्ट्रिय जीवनलाई पतनको मार्गमा जानबाट जोगाउनु जरुरी छ । यहाँ नैतिक परिपक्वताका साथसाथै कुशाग्र दक्षता र दायित्वबोधको समेत उत्तिकै आवश्यकता छ । हामीकहाँ आर्थिक विचलन मात्र नभई अकर्मण्यता र नैतिक मूल्यमा ह्रास पनि राष्ट्रिय पिछडापनको प्रमुख कारक हो । यहाँ सदाचार, दक्षता र दत्तचित्तताको सुन्दर त्रिवेणीको प्रचुर खाँचो छ । अल्बर्ट आइन्स्टाइनको शब्दमा ‘सच्चा मानवता तब मात्र सम्भव हुन्छ, जब हामी नैतिक मूल्यलाई सर्वोच्च स्थान दिन्छौं ।’

जिम्मेवार स्थान ओगटेर बसेका वयोवृद्ध मानिसहरूको आपसी गालीगलौज, निन्दा र उपहासले समाज नै आक्रान्त छ । सामाजिक सञ्जाल निर्मम तवरले छाडा भएको छ । समग्र समाज विपथनको संघारमा छ । अब प्रश्न उठ्छ, त्यसो भए स्वस्थ समाज निर्माण गर्ने जिम्मेवारी कसको हो ? केही हुँदैछ भन्ने भरोसा जगाउने अभिभारा कसको हो ? सर्वत्र छाएको निराशाको कुहिरो हटाउने जवाफदेही कसको हो ? सच्चा नियतका मानिसहरू समेत डराउनुपर्ने परिस्थितिको निराकरण कसले गर्ने हो ? कोही केही बोल्यो या लेख्यो कि अनर्गल गालीको वर्षा हुने भयले चुप लाग्नुपर्ने परिस्थितिको जिम्मेवार को हो ? यसैगरी, नैतिक संरचनाको जग खल्बलिँदै जाने हो भने हाम्रो समाजको परिणति कस्तो होला ? ग्रिक विचारक अरस्तु भन्छन्, ‘कुनै पनि समाज तबसम्म मात्र टिकाउ हुन्छ, जबसम्म त्यहाँ नैतिक गुणको प्रधानता रहन्छ ।’

जहाँ समाजका अगुवा नै स्वार्थी, लोलुप र परनिन्दक हुन्छन्, त्यहाँ नैतिक शून्यताको स्थिति सिर्जना हुन्छ । विचलित समाजमा मनुष्यको सामूहिक चेतना शिथिल हुँदै जान्छ । सर्वसाधारणलाई कुन अगुवा सत्य र कुन चाहिँ धोकेबाज भनेर चिन्नै गाह्रो हुन्छ । यस्तो अवस्थामा समाजको साधारण व्यक्तिले सार्वजनिक जीवनको प्रत्येक व्यक्तिमा खोट देख्न थाल्दछ । यस परिस्थितिमा सत्य र असत्य, सज्जनता र दुर्जनता एवं सदाचार र कदाचार सबै कुरा उस्तै प्रतीत हुन थाल्दछ ।

समाजको आधारशिला अव्यक्त सामाजिक अनुबन्धको जगमा खडा भएको हुन्छ । सामाजिक र राष्ट्रिय भलाइका लागि प्रत्येक व्यक्तिले हरेक व्यक्तिको हितमा आफ्ना केही अधिकारको त्याग गरेको हुन्छ । यही अनुबन्धले नै छिमेक, कुटुम्ब, समाज र समग्र राष्ट्रमै सहमतिको जग खडा हुने हो । यस्तो अनुबन्धको डोरी छिन्नभिन्न हुन गयो भने समाजमा आपसी भरोसा टुटेर जान्छ । युवाहरूले आफ्नो भविष्य अन्धकार देख्न थाल्छन् । अनि भएको बाघ मात्र होइन, हुँदै नभएको मनोगत बाघले समेत झम्टा हान्न थाल्दछ । लोकतन्त्रमा समाजको प्रत्येक व्यक्ति स्वतन्त्र हुन्छ । लोकतन्त्रमा जननिर्वाचित सरकार पनि लोककल्याणकारी कार्य गर्न स्वतन्त्र हुन्छ । अन्य संवैधानिक संस्था पनि प्रचलित कानुन, सार्वजनिक नैतिकता र सदाचारका अधीन रहेर आआफ्नो कर्तव्य निर्वाह गर्न स्वतन्त्र हुन्छन् । लोकतन्त्रमा आफू स्वतन्त्र हुनुको अर्थ आफूजस्ता अरू सबै पनि स्वतन्त्र हुनु हो । वास्तवमा स्वतन्त्रताको यो नाजुक कडीको सन्तुलनमै राष्ट्रिय जीवन टिकेको हुन्छ । अनि राष्ट्रिय जीवनका सारा पहलुहरूको कर्तव्यपालनमै राष्ट्रिय समृद्धिको भरोसा टिकेको हुन्छ ।

जब कुनै व्यक्ति या संस्थाले आफ्नो अधिकारको प्रयोग गर्दा आफू जस्तै अर्को पक्षको अधिकारको ख्याल गर्दैन, तब नै सन्तुलनको तन्तु छिन्नभिन्न हुन पुग्दछ । राज्यको कुनै एउटा संस्थामा उत्पन्न भएको बदनियतको जालो अन्यत्र फैलिन नपाउँदै बेलैमा शमन हुन सकेन भने त्यसले सबैलाई ग्रस्त पार्छ । महामारीको रूपमा फैलिएपछि त्यसले सदाचारी र कदाचारी भनेर चिन्दैन । महामारीको नजरमा बाटामा भेटिने साराका सारा बटुवा बराबर हुन्छन् ।

अन्त्यमा, सभ्य हुनुको अभिप्राय केवल नैतिक नियमको पालनामा सीमित छैन । सभ्यता एक राष्ट्रिय आत्मचेतना हो, जसले गलत र सहीको छ्यानविवेक राख्दछ । सभ्य समाजमा अधिकार र दायित्वको नाजुक कडीलाई संयम र दक्षतापूर्वक आपसमा जोडिएको हुन्छ । नैतिक जग मजबुत नभएको समाज बाहिरबाट हेर्दा सभ्य देखिए तापनि भित्रीरूपमा खोक्रो हुन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.