सभ्य समाजको नैतिक आधारशिला
कतिलाई लोकतन्त्रको यो उन्नत रूप मन परेको छैन भने कति यसको गलत फाइदा लिनमा मग्न छन् ।
महाभारतमा महामन्त्री विदुरले दृष्टिविहीन राजा धृतराष्ट्रलाई सम्झाउँदै भन्छन्–
न सा सभा यत्र न सन्ति वृद्धाः
वृद्धा न ते ये न वदन्ति धर्मम् ।
जुन सभामा वृद्ध अर्थात् ज्ञानी मानिस हुँदैनन्, त्यो सभा सभा नै होइन । जुन सभासद्ले आपसमा धर्मको चर्चा गर्दैनन्, ती ज्ञानी होइनन् । जुन सभामा सत्य र सदाचार छैन, त्यहाँ धर्मको अस्तित्व हुँदैन । जहाँ छलकपट र धोका हुन्छ, त्यहाँ सत्य हुँदैन ।
प्राचीन सन्दर्भमा सभा भन्नाले राजसभा या राजपरिषद् भन्ने बुझिन्थ्यो, जहाँ राजा र उनका मन्त्रीहरू बसेर निर्णय लिने गर्दथे । वर्तमान सन्दर्भमा संसद्, मन्त्रिपरिषद्, न्यायालय, संवैधानिक अंग, शिक्षण संस्था र निजामती सेवामा कार्यरत सबै मानिस सभाका सभासद् हुन् । सभासद्को अर्थ हो सभ्य, विवेकी र विचारशील व्यक्ति । समाजले सभामा संलग्न व्यक्तिहरू सज्जन, सुसंस्कृत र शिष्ट होऊन् भन्ने अपेक्षा गरेको हुन्छ ।
नेपाल अर्थतन्त्र, शिक्षा र रोजगारीको क्षेत्रमा पिछडिएको भए तापनि राजनीतिक रूपमा पूर्ण लोकतान्त्रिक पद्धतिको अभ्यासमा छ । कतिलाई लोकतन्त्रको यो उन्नत रूप मन परेको छैन भने कति यसको गलत फाइदा लिनमा मग्न छन् । लोकतन्त्रका खातिर संघर्ष गर्नेहरूले यसलाई स्वतन्त्रताको रूपमा मात्र बुझे । लोकतन्त्र केवल स्वतन्त्रता मात्र नभई जीवनपद्धति पनि हो । यस कुरालाई आत्मसात् नगर्दासम्म लोकतान्त्रिक पद्धति मजबुत हुन सक्दैन ।
महात्मा विदुरले माथिको श्लोक कुरु राजसभालाई व्यंग्य गर्दै उल्लेख गरेका थिए । दुर्योधन, शकुनि, कर्ण र दुःशासनको चौकडीले आधिपत्य जमाएको राजसभा उनीहरूका सामु विवश थियो । भीष्म तथा द्रोणलगायतका अनुभवी, दक्ष र प्रवीण सभासद्हरू दुर्योधनको एक हुँकारमा चुप लाग्न लाचार थिए ।
आजको मुख्य चासो नै देशलाई कसरी छलबल र फरेबको चंगुलबाट जोगाउने भन्ने हो। अहिले नेपालका समस्त सार्वजनिक निकायहरू आरोपित र लाञ्छित छन्। यस्तो अवस्थाबाट देशलाई जोगाउनु सबैको दायित्व हो।
जानाजान या अञ्जानमा नेपालको लोकतन्त्र पनि तर्क एवं वस्तुतथ्यबाट नभई भावनात्मक प्रचारबाट निर्देशित हुन गयो । राजनीतिक मामिलामा सत्य र धर्म भनेको पारदर्शिता र निष्कपटता हो । व्यक्तिगत र सामाजिक नैतिकताबीचको सन्तुलन बडो नाजुक हुन्छ । व्यक्तिगत नैतिकतमा आउने विचलनलाई सामाजिक मान्यता प्राप्त हुँदै गयो भने समग्र राष्ट्रिय जीवन नै प्रदूषित हुन पुग्दछ । माथि उल्लेख गरिएका सभासद्हरू समाजका अगुवा हुन् । अगुवाका हरेक क्रियाकलापमा समाजको नजर हुन्छ । अगुवाहरूले जस्तो चरित्रलाई अंगीकार गर्दछन्, सर्वसाधारण मानिसहरूले त्यसैको अनुगमन गर्दछन् ।
आजको मुख्य चासो नै देशलाई कसरी छलबल र फरेबको चंगुलबाट जोगाउने भन्ने हो । अहिले नेपालका समस्त सार्वजनिक निकायहरू आरोपित र लाञ्छित छन् । राज्य व्यवस्थाको सर्वांगीण आयाम विचलनको मार्गतर्फ उन्मुख हुँदै गएको आम आशंका छ । सार्वजनिक निकायका अधिकारीहरू निर्णय गर्यो कि आक्षेप लाग्ने अवस्थामा छन् । राम्रै काम गरेको ठान्दाठान्दै पनि कहाँनिर कुन वितण्डाकारी घुसेर बर्बाद पार्ने हो भन्ने त्रास छ । असल र खराबको विभाजन रेखा मेटिन जाँदा सबै एउटौ भकारीमा भरिएको विजातीय धानजस्ता बन्न पुगेका छन् । कतिपय सार्वजनिक सेवकहरू ‘संसर्ग दोष’को सिकार बनेका छन् । अदालत र अख्तियारलगायतका महत्त्वपूर्ण सार्वजनिक निकायहरूलाई कपटपूर्ण निर्णयको आरोप लाग्न थालेको छ ।
दार्शनिक दृष्टिले हेर्दा सरकार फगत एक भौतिक अस्तित्व मात्र होइन । सरकार वास्तवमा राष्ट्रिय चेतनाको प्रतीक र प्रतिनिधि हो । मुलुकको राष्ट्रिय जीवन जस्तो छ, त्यसैको दुरुस्त प्रतिरूप हो सरकार । यहाँ इमान मात्र नभई समझदारीपूर्ण बुद्धिमानीको समेत दरकार छ । यहाँ समग्र राष्ट्रिय जीवनलाई पतनको मार्गमा जानबाट जोगाउनु जरुरी छ । यहाँ नैतिक परिपक्वताका साथसाथै कुशाग्र दक्षता र दायित्वबोधको समेत उत्तिकै आवश्यकता छ । हामीकहाँ आर्थिक विचलन मात्र नभई अकर्मण्यता र नैतिक मूल्यमा ह्रास पनि राष्ट्रिय पिछडापनको प्रमुख कारक हो । यहाँ सदाचार, दक्षता र दत्तचित्तताको सुन्दर त्रिवेणीको प्रचुर खाँचो छ । अल्बर्ट आइन्स्टाइनको शब्दमा ‘सच्चा मानवता तब मात्र सम्भव हुन्छ, जब हामी नैतिक मूल्यलाई सर्वोच्च स्थान दिन्छौं ।’
जिम्मेवार स्थान ओगटेर बसेका वयोवृद्ध मानिसहरूको आपसी गालीगलौज, निन्दा र उपहासले समाज नै आक्रान्त छ । सामाजिक सञ्जाल निर्मम तवरले छाडा भएको छ । समग्र समाज विपथनको संघारमा छ । अब प्रश्न उठ्छ, त्यसो भए स्वस्थ समाज निर्माण गर्ने जिम्मेवारी कसको हो ? केही हुँदैछ भन्ने भरोसा जगाउने अभिभारा कसको हो ? सर्वत्र छाएको निराशाको कुहिरो हटाउने जवाफदेही कसको हो ? सच्चा नियतका मानिसहरू समेत डराउनुपर्ने परिस्थितिको निराकरण कसले गर्ने हो ? कोही केही बोल्यो या लेख्यो कि अनर्गल गालीको वर्षा हुने भयले चुप लाग्नुपर्ने परिस्थितिको जिम्मेवार को हो ? यसैगरी, नैतिक संरचनाको जग खल्बलिँदै जाने हो भने हाम्रो समाजको परिणति कस्तो होला ? ग्रिक विचारक अरस्तु भन्छन्, ‘कुनै पनि समाज तबसम्म मात्र टिकाउ हुन्छ, जबसम्म त्यहाँ नैतिक गुणको प्रधानता रहन्छ ।’
जहाँ समाजका अगुवा नै स्वार्थी, लोलुप र परनिन्दक हुन्छन्, त्यहाँ नैतिक शून्यताको स्थिति सिर्जना हुन्छ । विचलित समाजमा मनुष्यको सामूहिक चेतना शिथिल हुँदै जान्छ । सर्वसाधारणलाई कुन अगुवा सत्य र कुन चाहिँ धोकेबाज भनेर चिन्नै गाह्रो हुन्छ । यस्तो अवस्थामा समाजको साधारण व्यक्तिले सार्वजनिक जीवनको प्रत्येक व्यक्तिमा खोट देख्न थाल्दछ । यस परिस्थितिमा सत्य र असत्य, सज्जनता र दुर्जनता एवं सदाचार र कदाचार सबै कुरा उस्तै प्रतीत हुन थाल्दछ ।
समाजको आधारशिला अव्यक्त सामाजिक अनुबन्धको जगमा खडा भएको हुन्छ । सामाजिक र राष्ट्रिय भलाइका लागि प्रत्येक व्यक्तिले हरेक व्यक्तिको हितमा आफ्ना केही अधिकारको त्याग गरेको हुन्छ । यही अनुबन्धले नै छिमेक, कुटुम्ब, समाज र समग्र राष्ट्रमै सहमतिको जग खडा हुने हो । यस्तो अनुबन्धको डोरी छिन्नभिन्न हुन गयो भने समाजमा आपसी भरोसा टुटेर जान्छ । युवाहरूले आफ्नो भविष्य अन्धकार देख्न थाल्छन् । अनि भएको बाघ मात्र होइन, हुँदै नभएको मनोगत बाघले समेत झम्टा हान्न थाल्दछ । लोकतन्त्रमा समाजको प्रत्येक व्यक्ति स्वतन्त्र हुन्छ । लोकतन्त्रमा जननिर्वाचित सरकार पनि लोककल्याणकारी कार्य गर्न स्वतन्त्र हुन्छ । अन्य संवैधानिक संस्था पनि प्रचलित कानुन, सार्वजनिक नैतिकता र सदाचारका अधीन रहेर आआफ्नो कर्तव्य निर्वाह गर्न स्वतन्त्र हुन्छन् । लोकतन्त्रमा आफू स्वतन्त्र हुनुको अर्थ आफूजस्ता अरू सबै पनि स्वतन्त्र हुनु हो । वास्तवमा स्वतन्त्रताको यो नाजुक कडीको सन्तुलनमै राष्ट्रिय जीवन टिकेको हुन्छ । अनि राष्ट्रिय जीवनका सारा पहलुहरूको कर्तव्यपालनमै राष्ट्रिय समृद्धिको भरोसा टिकेको हुन्छ ।
जब कुनै व्यक्ति या संस्थाले आफ्नो अधिकारको प्रयोग गर्दा आफू जस्तै अर्को पक्षको अधिकारको ख्याल गर्दैन, तब नै सन्तुलनको तन्तु छिन्नभिन्न हुन पुग्दछ । राज्यको कुनै एउटा संस्थामा उत्पन्न भएको बदनियतको जालो अन्यत्र फैलिन नपाउँदै बेलैमा शमन हुन सकेन भने त्यसले सबैलाई ग्रस्त पार्छ । महामारीको रूपमा फैलिएपछि त्यसले सदाचारी र कदाचारी भनेर चिन्दैन । महामारीको नजरमा बाटामा भेटिने साराका सारा बटुवा बराबर हुन्छन् ।
अन्त्यमा, सभ्य हुनुको अभिप्राय केवल नैतिक नियमको पालनामा सीमित छैन । सभ्यता एक राष्ट्रिय आत्मचेतना हो, जसले गलत र सहीको छ्यानविवेक राख्दछ । सभ्य समाजमा अधिकार र दायित्वको नाजुक कडीलाई संयम र दक्षतापूर्वक आपसमा जोडिएको हुन्छ । नैतिक जग मजबुत नभएको समाज बाहिरबाट हेर्दा सभ्य देखिए तापनि भित्रीरूपमा खोक्रो हुन्छ ।
प्रतिक्रिया दिनुहोस !