मधेसमा कृषिको सम्भावना धेरै, चासो र लगानी थोरै
जनकपुरधाम : देशको खाद्य सुरक्षामा २२ देखि २५ प्रतिशतसम्म योगदान पुर्याउँदै आएको मधेस प्रदेशको कृषि क्षेत्रमा सम्भावना प्रचुर भए पनि न्यून लगानी र सरकारी उदासीनताले गर्दा यो क्षेत्र उपेक्षित बनेको छ ।
प्रदेशमा खेतीयोग्य जग्गाको उपलब्धता ५ लाख ७४ हजार ३ सय ६० हेक्टर र सिञ्चित क्षेत्रफल ८३ प्रतिशत छ । उत्पादनमा लागत कम रहे पनि उन्नत बिउबिजनको उपलब्धता नहुँदा, समयमा मलको पर्याप्तता नहुँदा र कृषि कर्मलाई आधुनिक र प्रविधिमैत्री बनाउन नसकिँदा कृषि क्षेत्रले आस गरिएअनुसारको फड्को मार्न सकेको छैन ।
चालु आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेश सरकारले कुल बजेटको मात्र ५ प्रतिशत रकम कृषि क्षेत्रमा विनियोजन गरेको थियो । मधेस प्रदेश सरकारको चालु आर्थिक वर्षको जम्मा बजेट ४३ अर्ब ८९ करोड २१ लाखभन्दा बढी छ । जसमध्ये भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयका लागि मात्र २ अर्ब ५७ करोड ९० लाख ८९ हजार छ । त्यसमा पनि आर्थिक वर्ष बित्न मात्र एक महिना बाँकी रहँदासम्म कृषि मन्त्रालयको मात्र १६ प्रतिशत बजेट खर्च हुन सकेको छ । मधेश प्रदेश कृषि उत्पादनको लागि निकै उर्वर र देशकै खाद्य भण्डार बन्न सक्ने क्षमता भएको प्रदेश हो तर, पनि सरकारको प्राथमिकतामा कृषि क्षेत्र नपर्दा चाहेअनुसारको उपलब्धि हासिल गर्न सकिएको छैन्,’ मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहाल भन्छन्, ‘यहाँ पूर्वाधार निर्माणका योजनाहरूलाई ठूलो महŒवका साथ अगाडि बढाइन्छ । मनग्य बजेट विनियोजन गरिन्छ तर, कृषि क्षेत्रमा मागअनुसारको बजेटसमेत विनियोजन गरिँदैन यस्तो उपेक्षाले कृषि क्षेत्र कहिल्यै अगाडि बढ्न सक्दैन् ।’
देशको कुल कृषि उत्पादनमा १९.२ प्रतिशत अंश ओगटेको मधेसको कृषि क्षेत्रमा कृषि यान्त्रिकीकरणको उच्च सम्भावना भए पनि सो खालको व्यवस्था हुन सकेको छैन् । प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई समेटेर ‘मधेसले देशलाई खुवाउने अभियान’ सञ्चालनमा ल्याउने नीति ल्याएको छ । त्यसैगरी ‘किसानको बारी, स्वयंसेविकाको छहारी’, ‘आँपको बगैंचा मधेसको समृद्धि’, एक जिल्ला एक शीतभण्डार तथा एक जिल्ला एक कस्टम हायरिंग स्थापना गरिने ।
कृषि उपजहरूको प्रशोधन कार्यक्रमको सुरुवात गरिने, कृषि विद्युतीकरणलाई निरन्तरतालगायतका योजनाहरू समावेश गरेको छ । तर, यी सबै कार्यक्रम सम्पन्न गर्नका लागि आउँदो आर्थिक वर्षमा कृषि क्षेत्रका यी नाराहरू कार्यान्वयन गर्न प्रदेश सरकारले उचित बजेट विनियोजन गर्नुपर्ने प्रदेशसभा सांसद माला राय बताउँछिन् । ‘यहाँ सरकारले कृषि क्षेत्रमा थुपै्र नारा ल्याएको छ तर, के यी नाराहरूलाई सार्थक बनाउन प्रदेश सरकारको योजनाहरू खासै छ जस्तो मलाई लाग्दैन मात्र गफ दिएर भएन्,’ सांसद राय भन्छिन्, ‘कृषि क्षेत्र सधैं उपेक्षित भएको छ । तर, आगामी बजेटमा सरकारले यसलाई महत्वका साथ अगाडि बढाओस् भन्ने आश छ ।’
मधेस प्रदेशका प्राथमिकताका बालीहरूमध्ये प्रदेशमा १४ लाख ४७ हजार ७ सय ८९ हेक्टरमा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको छ । जुनकी कुल उत्पादनमा २५ प्रतिशत योगदान राख्दछ । देशमा धानको कुल आवश्यकता ६० लाख, ४२ हजार ३ सय ४१ टन छ जसमध्ये आयातको परिमाण ५ लाख ५५ हजार ८ सय ३९ टन छ आयात प्रतिस्थापन गर्न मधेस प्रदेशले थप १८ लाख ९ हजार हेक्टरमा चैते धान विस्तार गर्न सकिने सम्भावना रहेको कृषि मन्त्रालयको तथ्यांकले देखाउँछ ।
त्यसैगरी मकैको उत्पादन मधेस प्रदेशमा ९ लाख ४० हजार २ सय ५६ हेक्टरमा हुँदै आएको छ । जसमा उत्पादन २९ लाख ७६ हजार ४ सय ९० टन भएको छ । जुन कुल उत्पादनमा ६.४ प्रतिशत योगदान पुर्याइराखेको छ । देशमा मकै बालीको कुल आवश्यकता ३४ लाख ११ हजार टन रहेको छ भने आयातको परिमाण ४ लाख ३५ हजार २ सय १७ टन छ । आयात प्रतिस्थापन गर्न मधेस प्रदेशले मकै खेतीलाई थप ८७ हजार हेक्टरमा विस्तार गर्न सकिन्छ ।
गहुँ बालीको उत्पादन यस प्रदेशमा ६ लाख ९७ हजार ७ सय ६२ हेक्टरमा हँुदै आएको छ जसमा उत्पादन २० लाख ९८ हजार ४ सय ६२ टन भएको छ जसले कुल उत्पादनको ३२ प्रतिशत योगदान दिएको छ । देशको कुल आवश्यकता गहँुको २७ लाख ५२ हजार ९ सय १ टन छ । जसमा आयातको परिमाण ६५ लाख ४ हजार ४ सय ३९ टन छ ।
मधेसमा आँपको खेती ४२ हजार हेक्टर ७ सय ७३ हेक्टरमा भएको छ । जसमा आँपको उत्पादन ५१ लाख २० हजार ५५ टन भएको छ । जसले कुल उत्पादनमा ७७ प्रतिशत योगदान पुर्याएको छ । प्रदेशमा उखुको खेती ६२ हजार ८ सय ३३ हेक्टरमा भएको छ । जसमा उत्पादन ३१ लाख ३० हजार १ सय ९ टन भएको छ जसले कुल उत्पादनमा ६६ प्रतिशत योगदान पुर्याएको छ ।
तेलहन बालीको खेती २४ लाख ४० हजार हेक्टरमा हुँदै आएको छ । जसमा उत्पादन २७ लाख ४ सय ८२ टन छ । जुन कुल उत्पादनमा २२ प्रतिशत योगदान पुर्याउँछ । दलहन बालीको खेती २९ लाख ६२ हजार हेक्टरमा भएको छ । जसमा ३४ लाख टन उत्पादन भएको छ जसले कुल उत्पादनमा ३७ प्रतिशत योगदान पुर्याएको छ । केरा खेती प्रदेशमा २४ हजार २ सय ८६ हेक्टर क्षेत्रफलमा भएको छ जसमा उत्पादन ८८ हजार ७ सय ४५ टन भएको छ जुन देशको कुल उत्पादनमा २१ प्रतिशत योगदान पुर्याउँछ ।
त्यसैगरी माछापालन १४ हजार ७ सय ४५ हेक्टरमा हुँदै आएको छ जसमा ८२ हजार २ सय ६१ टन उत्पादन भएको छ जसले कुल उत्पादनमा ५७ प्रतिशत योगदान पुर्याएको छ । दूध उत्पादनमा मधेस निकै पछाडि छ यहाँ ४७ लाख ५ हजार ८ सय ७० टन दूध उत्पादन भएको छ । जसले देशको कुल उत्पादनमा मात्र १८ प्रतिशत योगदान पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस !