अष्ट्रेलियाको जहाज छोडेर फर्किएका नन्दनको नयाँ उडान

अष्ट्रेलियाको जहाज छोडेर फर्किएका नन्दनको नयाँ उडान

सिमरा : आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजबाट नेपालका लागि ४२औं एकदिवसीय क्याप लगाउँदै डेब्यु गरेका नन्दन यादव यतिबेला चर्चामा छन्। स्कटल्याण्डको डुण्डीमा नेदरल्याण्डविरुद्ध महत्त्वपूर्ण तीन विकेट लिँदै २६ वर्षीय नन्दनले मंगलबार शानदार डेब्यु गरे। 

नन्दनको डेब्यु खेल सबैका लागि अविस्मरणीय रहने निश्चित नै छ। उनको प्रदर्शनको मद्दतबाट नेपालले नेदरल्याण्डलाई १६ रनले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ। उक्त लिगमा नेपालको यो तेस्रो र नेदरल्याण्डविरुद्धको दोस्रो जित थियो।
 

सिनियर खेलाडी घाइते भएपछि अवसर पाएका नन्दनले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका समेत पाए। यो नन्दनका लागि सुखद् अवसर पनि हो। नेपालको जर्सीमा एकदिवसीय खेल खेल्ने सपना पनि नन्दनले पूरा गरेका छन्। 

पाँच महिनाअघि नेपालबाट अष्ट्रेलिया फर्कन लागेका उनी यही सपना पूरा गर्ने अठोटका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर फर्किएका थिए। विमानस्थलमा बोडिङ गरेर अष्ट्रेलियाको जहाज पर्खिरहेका नन्दनले अचानक आफ्नो निर्णय बद्लिएका थिए। यो निर्णय लिन उनलाई सहज थिएन। तर, अभिभावकले पनि साथ दिए। 

अष्ट्रेलियामा तीन वर्षदेखि व्यवसायिक क्रिकेट खेल्दै आएका नन्दन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न स्वदेश फर्किएका थिए। उनी कर्णाली याक्ससँग ११ लाखमा अनुबन्धित भएका थिए । एनपीएल खेलेर नन्दनको माघ ४ गते अष्ट्रेलिया फर्कने तालिका थियो। 

अष्ट्रेलियामा उनको आम्दानी पनि राम्रै थियो। पारिवारिक स्रोतका अनुसारप्रति सिजन उनले ६ हजार पाँच सय अष्ट्रेलियन डलर पाउँथे। त्यसबाहेक फुर्सदको समयमा काम गर्थे भने साना बालबालिकालाई क्रिकेट सिकाउँथें। त्यसबाट पनि उनको आम्दानी हुन्थ्यो। नेपालबाट क्रिकेट खेल्ने इच्छा हुँदाहुँदै पनि अवसर नपाएर र आर्थिकरूपमा सबल बन्न अष्ट्रेलिया फर्कनुपर्ने उनको बाध्यता थियो।

विमानस्थल जानुअघि नन्दनले सिरहामा रहेकी आमा समिरालाई फोन गरेर आफू अष्ट्रेलिया फर्कन लागेको जानकारी गराउँदै बिदा लिए। उनी सबै तयारीसहित विमानस्थल पुगेका थिए। विमानस्थल भित्र बोडिङ र लगेज चेकिङ गरेर उनी विमानको पर्खाइमा थिए। तर, अचानक नन्दनको मन फेरियो। 

उनले अष्ट्रेलिया नफर्कने निधो गरे। तर, यो कुरा कसलाई भन्ने भनेर नन्दनलाई छटपटी भयो। उनले नेपाल एयरलाइन्समा कार्यरत आफ्नो दाइ इन्जिनियर चन्दनलाई फोन गरे। चन्दन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै थिए। नन्दनको कुरा सुनेर दाइ चन्दन पनि चकित परे। चन्दनले बाराको पथलैयामा रहेका मामा शम्भु मण्डललाई फोन गरेर सबै कुरा सुनाए।  

मण्डलले तत्कालै विमानस्थलको वेटिङ कक्षमा रहेका भान्जा नन्दनसँग कुरा गरे। नन्दनले मामासँग भक्कानिँदै आफू अष्ट्रेलिया नफर्कने र नेपालमै बसेर खेल्ने इच्छा रहेको सुनाए। भान्जाको कुरा सुनेर मण्डलसमेत भावुक भए। उनले भान्जालाई विमानस्थलबाट घर फर्कन हौसला दिए। 

मण्डललगत्तै आमा समिराले पनि नन्दनलाई फोन गरिन्। समिराले पनि नन्दनलाई आफ्नो इच्छा जहाँ छ त्यही बसेर खेल्न सुझाव दिइन्। विमानस्थलमै रहेका दाइ चन्दनले पनि सम्झाए। सबैको हौसलापछि नन्दन अष्ट्रेलियाको जहाज छोडेर घर फर्किए। दाइ चन्दनले चेकिङ गरेर भित्र लगिसकेको नन्दनको लगेजसमेत फिर्ता ल्याइदिए। 

विमानस्थलबाट देशका लागि खेल्ने सपना बोकेर घर फर्किएका नन्दनले त्यसको दुई महिनापछि ४९औं क्याप लगाउँदै पहिलो अन्तर्राष्ट्रिय टी-२० खेल्ने अवसर पाए। आइसीसी टी-२० विश्वकप छनौटको तयारी लागि हङकङमा आयोजना गरिएको सिरिज खेल्ने टोलीमा उनी परेका थिए। उक्त सिरिजअन्तर्गत चार खेल खेलेका नन्दनले ६ विकेट लिए भने कुवेतविरुद्ध ३७ रन पनि बनाए। उक्त सिरिजमा नेपालसहित कुवेत, हङकङ र कतार सहभागी थिए। 

उक्त सिरिजपछि नेपालको राष्ट्रिय क्याम्पमा परेका नन्दन आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने टोलीमा छनोट हुँदै स्कटल्याण्ड गएका थिए। अघिल्लो तीन खेलमा अवसर नपाएका उनले चौथो खेलमार्फत डेब्यु गरेका हुन्। उक्त खेलमै नन्दनले आफ्नो क्षमता देखाएका छन्। उनको शानदार प्रदर्शनले देशभर चर्चा बटुलिरहँदा पथलैयामा रहेका मामा शम्भु पनि निकै भावुक बनेका छन्। 

‘देशका लागि खेल्ने भान्जाको ठूलो सपना थियो। उनले आफ्नो सपना पूरा गरेका छन्,’ मण्डलले भने, ‘त्योभन्दा बढी देशको जितमा महत्त्वपूर्ण योगदान गरेका छन्। त्यसले हामीलाई निकै खुशी तुल्याएको छ।’ 

भान्जाको प्रदर्शनले हौसिएका शम्भु नन्दनको क्रिकेट यात्रामा सहयोग गर्ने महत्त्वपूर्ण पात्र हुन्। उनले नन्दनलाई सानैदेखि हौसला दिँदै आएका थिए। नन्दन पथलैयास्थित मामाघरमै जन्मिएका थिए। उनको घर सिरहाको बरियारपट्टी गाउँपालिका ४ तेनुवापट्टी हो। 

नन्दनले कक्षा १० सम्मको अध्ययन लहानको शारदा इङलिस बोर्डिङ स्कुलबाट गरेका थिए। त्यसपछि उनले पथलैयास्थित मामाघर बसेर कक्षा ११ र १२ को अध्ययन पूरा गरे। सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट २०७१ सालमा विज्ञान संकायमा कक्षा १२ उतिर्ण गरेका नन्दन त्यसपछि काठमाडौं गए।

काठमाडौंमा उनले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा एक वर्ष प्रशिक्षण लिए। त्यसपछि उनी क्रिकेट सिक्नकै लागि दिल्ली पुगे। दिल्लीमा ६ महिना क्रिकेट प्रशिक्षण गरेर नन्दन नेपाल फर्किए। २०७२ सालमा मामा शम्भुले नन्दनलाई चितवनको गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा लगेर भर्ना गराए। नन्दनको भर्ना गर्न उनले एक लाख नगदसमेत बुझाए। त्यसबाहेक अन्य तयारीमा उनको थुप्रै रकम खर्च भयो। 

नन्दन केही दिन कलेज पनि गए। तर, एक साता नवित्दै १९ वर्षमुनिको एसिया कपको क्याम्पमा परेको खबर आएपछि नन्दन कलेज छोडेर काठमाडौं पुगे। सन् २०१६ मा श्रीलंकामा भएको यु-१९ एसिया कपका लागि नन्दन छनौट पनि भए। राष्ट्रिय टोलीका अहिलेका कप्तान रोहित पौडेल उक्त टिममा सहभागी थिए। 

श्रीलंकाबाट फर्केपछि उनको इन्जिनियरिङको अध्ययन त्यही रोकियो। उनले विभिन्न घरेलु क्रिकेटमा सक्रिय सहभागिता जनाउन थाले। नेपालले भाग लिने विभिन्न अन्तर्राष्ट्रिय क्रिकेटको क्याम्पमा परेपनि त्यसयता उनले खेल्ने अवसर भने पाएनन्।

अवसर नपाएपछि उनी व्यवसायिक क्रिकेट खेल्न अष्ट्रेलिया उडेका थिए। एनपीएल खेल्न नेपाल आएका उनले अष्ट्रेलिया फर्कने अघिल्लो दिन नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालाई समेत भेट गरेका थिए। उक्त भेटमा खड्काले नन्दनलाई नेपालमै बसेर क्रिकेट खेल्न सुझाव दिएको समेत बुझिएको छ। 
 
‘अष्ट्रेलिया उड्ने अघिल्लो दिन भान्जा (नन्दन)ले पारस खड्कासंग पनि भेटेको रहेछ,’ नन्दनको भनाइलाई उद्धृत गर्दै मामा शम्भुले भने, ‘उक्त भेटमा क्षमता रहेको र देशका लागि खेल्ने सम्भावना समेत बोकेको भन्दै नेपालमै बस्न खड्काले सुझाव दिएका थिए।’ क्यानका सचिव खड्काको हौसलापछि नन्दन अष्ट्रेलिया फर्कने योजनाबाट पछि हटेर नेपालमै बसेको मामा शम्भुको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.