अहमदाबादमा यात्रुवाहक विमान दुर्घटनाबारे एयर इन्डियाले के भन्यो ?
काठमाडौं : भारतको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ।
अहमदाबाद जोन–४ का डीसीपी कानन देसाईले उक्त क्षेत्रमा विमान दुर्घटना भएको पुष्टि गरेका छन्। दमकलहरू दुर्घटनास्थलमा पुगेका छन्।
अहमदाबाद विमानस्थलको टर्मिनल–१ प्रबन्धकले बीबीसी हिन्दीलाई बताएअनुसार विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएको थियो। त्यसपछि अनुसन्धानको लागि सम्पूर्ण टोली घटनास्थलमा पठाइएको छ।
यद्यपि बाहिर आएका तस्बिरहरूमा धुवाँको बाक्लो बादल देख्न सकिन्छ। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले समाचार एजेन्सी पीटीआईलाई भने, ‘विमानस्थल नजिकै मेघनानगर क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको छ।’
अग्नि नियन्त्रक जयेश खारियाले भने,‘विमान दुर्घटनाग्रस्त भएपछि आगो लागेको थियो। आगो निभाउन दमकलका गाडीहरू पठाइएको छ।’
एयर इन्डियाले के भन्यो ?
एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गरेको छ। उसले लेखेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’
एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू सार्वजनिक गर्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस !