भारतीय बिरामीसँग घूस लिएको आरोप, असईसहित ३ जना प्रहरीमाथि कारबाही

भारतीय बिरामीसँग घूस लिएको आरोप, असईसहित ३ जना प्रहरीमाथि कारबाही

विराटनगर : विराटनगरमा प्रहरीमाथि भारतीय बिरामीसँग घूस लिएको आरोप लागेको छ। उक्त आरोपसँगै इलाका प्रहरी कार्यालय रानीमा कार्यरत जुनियर अधिकृतसहितका प्रहरी कारबाहीमा परेका छन्। 

विराटनगरमा आँखाको उपचार गराउन आएका भारतीय बिरामीसँग पैसा उठाएको आरोप लागेपछि नेपाल प्रहरीका २ जना सहायक हवल्दार निलम्बित भएका छन्। १ जना असई (प्रहरी सहायक निरीक्षक)लाई निलम्बनको तयारी गरिएको छ। इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी सहायक हवल्दारहरू विक्रम माझी र अम्बरबहादुर श्रेष्ठ निलम्बनमा परेका हुन्। 

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार निलम्बन गरेर थप छानबिन एवं कारबाहीको प्रक्रिया अघि बढाएको छ। रानीमै कार्यरत असई खम्बबहादुर विकलाई निलम्बनको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। कार्यालयका अनुसार विकलाई निलम्बन गर्नका लागि लेखापढी गरेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पठाएको छ। 

प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की विभिन्न जिल्लाको निरीक्षणमा रहेकाले निलम्बनको प्रक्रिया पूरा गर्न बाँकी छ। हवल्दारसम्मको एसपी (प्रहरी उपरीक्षक) र जुनियर अधिकृतको निलम्बन डीआईजी (प्रहरी नायव महानिरीक्षक)बाट मात्रै हुनसक्ने व्यवस्था छ। ‘२ जना हवल्दार निलम्बनमा परिसकेका छन्। असईका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट सिफारिस भएर आएको छ,’ प्रदेश प्रहरी कार्यालय स्रोतले भन्यो, ‘डीआईजी साब् बाहिरी जिल्लाको निरीक्षणमा भएकाले हो। उहाँ आइसकेपछि थप कारबाही अघि बढ्छ।’
 
विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटमा ड्युटिमा खटिएका असई विक र सहायक हवल्दारहरूले बुधबार बिहान घूस लिएको आरोप लागेको हो। भारतबाट आँखाको उपचारका लागि विराटनगर आएका बिरामीसँग ६ हजार भारतीय रूपैयाँ (भारु) लिएको आरोप लागेको हो। ‘उपचारका लागि आएकाहरूको साथमा ४२ हजार भारु रहेछ। ड्युटिमा रहेका प्रहरीले २५ हजार रूपैयाँभन्दा बढी भारु बोक्न पाइँदैन भनेर अवरोध गरेछन्,’ प्रदेश प्रहरीका १ अधिकृतले भने, ‘त्यसपछि ‘बार्गेनिङ’ सुरु भएछ। पछि घूसबापत ६ हजार भारु लिएर छाडेको कुरा आएको छ।’ 

उनका अनुसार अघिल्लो दिन प्रहरीलाई पैसा बुझाएका पीडितहरू भोलिपल्ट उजूरी लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका थिए। त्यसलगत्तै असई र २ जना सहायक हवल्दारलाई रानीबाट जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर छानबिन सुरु गरिएको हो। यद्यपि, उनीहरूले घूस लिएको अस्वीकार गरेका छन्। धेरै मात्रामा भारतीय रूपैयाँ बोकेर हिँड्न पाइँदैन भनेर आफूहरूले सम्झाइबुझाइ गरेको र उपचारका लागि आएको थाहा पाएपछि छाडिदिएको बताएका छन्। 

नेपालमा ५ सय र १ हजार दरका भारतीय नोट बोक्न प्रतिबन्ध छ। तर, उपचारका लागि आउने भारतीय नागरिकहरूसँग भारु नै हुने भएकाले आवश्यक कागजातलगायतका आधारमा प्रहरीले सहजीकरण गर्दै आएको छ। यस विषयमा आन्तरिक हिसाबले छानबिन एवं अनुसन्धान भइरहेको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलले बताए। उनले भने, ‘आर्थिक विवादमा प्रहरी मुछिएकाले त्यससँग सम्बन्धित तहकिकातको काम भइरहेको छ। छानबिनको प्रक्रिया अघि बढिसक्यो। अब बाँकी कुरा खुल्दै जान्छ। वास्तविकता पत्ता लगाएपछि मात्रै थप कारबाहीको निर्णय लिइने छ।’ 

यसअघि पनि विराटनगरकै सीआरभी केसलियामा कार्यरत असई रामअवतार यादवमाथि पनि सर्वसाधारणसँग १३ हजार रूपैयाँ घूस लिएको आरोप लागेको थियो। त्यसपछि जिम्मेवारीबाट हटाउँदै जिल्ला प्रहरी तानेर निलम्बन गर्दै उनीमाथि थप छानबिन अघि बढाइएको छ। असई यादवमाथि जेठ १७ गते राति घूस लिएको आरोप लागेको थियो। इन्चार्जको जिम्मेवारी पाएर सीआरभी गएको केही दिनमै घूस विवादमा मुछिएपछि असई यादव कारबाहीमा परेका हुन्। त्यसअघि उनी वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.