ईभी क्रेज : स्वच्छ वातावरण, स्वस्थ जीवन

ईभी क्रेज : स्वच्छ वातावरण, स्वस्थ जीवन

काठमाडौं : विश्व बजारको प्रभावस्वरूप नेपालमा पनि विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग तीव्र गतिमा बढेको छ । केही वर्षअघिसम्म केवल प्रविधिमैत्री र पर्यावरण प्रेमीहरूमाझ सीमित ईभी अहिले धेरैको रोजाइमा परेको छ । राजधानी सहर काठमाडौंदेखि पोखरा, चितवन, विराटनगर, वीरगन्जलगायत सहरहरूमा पनि यो निकै लोकप्रिय बन्दै गएको छ । 

ईभीको प्रयोग बढिरहेको भन्सार विभागको तथ्यांकले पनि पुष्टि गर्छ । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख (१० महिना) सम्म नेपालमा ४२ हजार १ सय २ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म २८ हजार ८ सय ५६ वटा विद्युतीय सवारी आयात भएको थियो । 

तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष १३ हजार २ सय ४६ विद्युतीय सवारीसाधन बढी भित्रिएका छन् । समीक्षा अवधिमा ३३ अर्ब ३२ करोड २१ लाख ६६ हजार रुपैयाँ बराबरको ईभी भित्रिएको हो, जुन गत वर्षको तुलनामा २७.९२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको वैशाखसम्म २६ अर्ब ४ करोड ९५ लाख ९८ हजार रुपैयाँ बराबरको ईभी भित्रिएको थियो । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको तथ्यांकअनुसार हाल नेपालमा ३० प्रतिशत पेट्रोलियम पदार्थबाट चल्ने र ७० प्रतिशत ईभी आयात भइरहेको छ । विद्युतीय सवारीसाधनमा चारपांग्रेदेखि इलेक्ट्रिक स्कुटर र मोटरसाइकलको बिक्री झन् बढेको छ ।

वातावरणमैत्री, पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि र सरकारले प्रदान गरेका कर छुटजस्ता नीतिगत प्रोत्साहनहरूले गर्दा ईभी प्रयोगमा उल्लेखनीय वृद्धि भइरहेको यातायात क्षेत्रका विज्ञ इन्जिनियर आशिष गजुरेल बताउँछन् । आर्थिक वर्ष २०७५/०७६ यता ईभीको प्रयोग बढेको उनको भनाइ छ । तर, यसको एकिन सरकारी तथ्यांक भने छैन । हालसम्म करिब ३० हजार ईभी सवारी दर्ता भएको विज्ञ गजुरेल बताउँछन् । ईभी व्यावसायिकभन्दा पनि व्यक्तिगत प्रयोजनका लागि प्रयोग भइरहेको छ । 

सरकारले ईभीमैत्री नीति लिएकाले यसको प्रयोग बढिरहेको निजी क्षेत्रको भनाइ छ । बर्सेनि करिब ४ खर्बको पेट्रोलियम पदार्थ आयात हुँदै आइरहेको छ । यो आयातलाई कम गर्दै ईभीको प्रयोग बढिरहेको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेती बताउँछन् । जलस्रोतको धनी देश, बढ्दो विद्युतीय ऊर्जा उत्पादन, वातावरणमैत्री हुनुलगायत कारण पनि ईभी नेपालमा सवारीको प्रमुख विकल्प बनेको उप्रेतीको भनाइ छ । 

ईभीमा करका दर कुनमा कति ? 
हालसम्म ईभीको रेन्जअनुसार ५० किलोवाटसम्मलाई १५ प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्त : शुल्क लाग्ने गरेको छ । यस्तै, ५० देखि १०० किलोवाटसम्मलाई २० प्रतिशत भन्सार शुल्क र १५ प्रतिशत अन्त : शुल्क लाग्ने गरेको छ । यसपछि १०० देखि २०० किलोवाटसम्मलाई ३० प्रतिशत भन्सार शुल्क र २० प्रतिशत अन्त : शुल्क तिर्नुपर्छ । यससँगै, २०० देखि ३०० किलोवाटसम्मलाई ६० प्रतिशत भन्सार शुल्क र ३५ प्रतिशत अन्त :  शुल्क लाग्ने गरेको छ । 

यसबाहेक ३०० किलोवाटभन्दा माथिका ईभीलाई ८० प्रतिशत भन्सार शुल्क र ५० प्रतिशत अन्त : शुल्क लाग्ने गरेको छ । यसैगरी, १० सिटसम्मका अन्य विद्युतीय गाडीलाई १५ प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्त :  शुल्क लाग्ने व्यवस्था छ । सरकारले आगामी आर्थिक वर्षका लागि पनि यही दर यथावत् राखेको छ । साथै, सरकारले विद्युतीय सवारीसाधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरेको छ ।

विद्युतीय ऊर्जा खपत बढाउन पनि ईभीलाई आवश्यक
जलविद्युत् उत्पादनमा नेपालले फड्को मारिरहेको छ । यहाँ बग्ने ६ हजारभन्दा बढी नदीनालाबाट करिब ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सरकारी तथ्यांक छ । 
आजको दिनमा करिब ३५ सय मेगावाट विद्युत् उत्पादन भएको छ । चालु आर्थिक वर्षमा ४ हजार मेगावाट उत्पादन पुग्ने सरकार बताउँछ । यससँगै करिब ३ हजार निर्माणको विभिन्न चरणमा छन् । पेट्रोलियम इन्धनको विश्वव्यापी बढ्दो माग र आकासिँदो मूल्य र यसको सीमितताका कारण नेपालले विद्युतीय सवारीको विकासमा शीघ्र जोड दिनुपर्ने विशेषज्ञ बताउँछन् । 

विगतमा ट्रली बस र ६०० वटाभन्दा बढी सफा टेम्पो सञ्चालनमा ल्याइएको भए तापनि यसको सही रूपमा व्यवस्थापन हुन नसकेका कारण ट्रली बस बन्द भयो । सफा टेम्पोलगायत अन्य विद्युतीय सवारी तथा यातायातका साधनको पनि पर्याप्त विकास हुन सकेन ।

बढ्दो संख्या, चार्जिङ पूर्वाधार कमजोर
ईभीको बढ्दो संख्याको तुलनामा चार्जिङ पूर्वाधार निकै कमजोर अवस्थामा छ । हाल देशभर करिब ४ सय सार्वजनिक चार्जिङ स्टेसन छन् । अधिकतम हिस्सा काठमाडौं, पोखरा र तराईका सहरहरूमा सीमित छन् । लामो यात्रा वा व्यावसायिक प्रयोगका लागि पर्याप्त र विश्वसनीय चार्जिङ नेटवर्क अभाव अझै चुनौती बनेको छ ।

प्रदूषण नियन्त्रणमा ईभी
पछिल्ला केही वर्षदेखि काठमाडौंको वायु गुणस्तर सूचकांक प्राय :  १५० भन्दा माथि रहने गर्छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ । गत चैतमा विश्वमा कम गुणस्तरी वायुका कारण नेपाल पहिलो स्थानमा नै पुगेको थियो । पीएम २.५ (सूक्ष्म धूलो कण) को मात्रा नेपालमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डभन्दा ४–५ गुणा बढी पाइन्छ । सवारीसाधनबाट उत्सर्जन हुने धुवाँले यो स्थितिमा उल्लेखनीय योगदान पुर्‍याएको तथ्यांकले देखाउँछ । वातावरण विभागका अनुसार काठमाडौं उपत्यकामा मात्र करिब ४० प्रतिशत वायु प्रदूषण सवारीसाधनजन्य उत्सर्जनबाट हुने गरेको छ ।

सन् २०१७ मा गरिएको ‘वायु गुणस्तर तथा स्वास्थ्य प्रभाव’ सम्बन्धी अध्ययनअनुसार प्रत्येक वर्ष वायु प्रदूषणका कारण नेपालमा करिब ९ हजार मृत्यु हुने गरेको छ । यो स्थितिबाट माथि उठ्न ईभी प्रदूषण नियन्त्रणको उपयुक्त विकल्प हुन सक्छ । सवारीमा पेट्रोल वा डिजेलको प्रयोगले कार्बन डाइअक्साइड, नाइट्रोजन, अक्सीजन र पीएम २.५ कणको उत्सर्जन हुने गर्छ । ईभीले प्राय :  शून्य प्रदूषण उत्सर्जन गर्छ । सरकारले ‘स्वच्छ सवारी नीति २०७८’ अन्तर्गत सन् २०४५ सम्म सम्पूर्ण सवारीसाधन विद्युतीय बनाउने लक्ष्य लिएको हुँदा ईभीको पहुँच वृद्धिको विकल्प देखिँदैन । 

नेपालमा ईभीको विकास क्रम
नेपालमा विद्युतीय यातायातको सुरुवात गर्ने पहिलो प्रयासको रूपमा धोर्सिङ मातातीर्थ मालवाहन रज्जु(रोपवे) मार्गको स्थापना भएको इतिहास छ । यसपछि बारपाकलगायत विभिन्न स्थानमा मालवाहन रज्जुमार्गको स्थापना भए तापनि यात्रुवाहन रज्जुमार्ग भने पहिलोपटक २०५५ सालमा कुरिनटारदेखि मनकामनासम्म मनकामना केबलकारको रूपमा सुरु भएको देखिन्छ । तर, विद्युतीय मालवाहन रज्जुमार्ग सञ्चालनमा विभिन्न व्यवधान आई सुचारु रूपमा सञ्चालन हुन सकेको छैन ।

विगतमा काठमाडौं उपत्यकामा विद्युतीय ट्रली बस र सफा टेम्पो जस्ता वातावरणमैत्री सवारी तथा यातायातको विकासमा नेपाल सरकारले जोड दिएको देखिन्छ । मित्र राष्ट्र चीनको सहयोगमा २०३२ सालमा २२ वटा ट्रली बस र त्यसका लागि आवश्यक पूर्वाधारहरूको निर्माण भएपछि नेपालमा विद्युतीय सवारीसाधनको सुरुवात भएको पाइन्छ । सो ट्रली बसको सेवा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म १३ किलोमिटरको रुटमा चलेको थियो । यसले सस्तो र सर्वसुलभ सेवा प्रदान गर्दै आएको भए तापनि व्यवस्थापनमा देखिएका विविध कमजोरीका कारण सेवाले निरन्तरता पाउन सकेन ।
नेपाल सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संस्थाहरूको सहयोगबाट २०५६ सालमा विद्युतीय सवारीसाधनको रूपमा सफा टेम्पो सञ्चालनमा आएको हो । 

विश्वमा विद्युतीय गाडीको इतिहास
सन् १८३० को दशकमा विद्युत्बाट चल्ने सवारीसाधनको अवधारणा पहिलोपटक देखिएको थियो । स्कटल्यान्डका रबर्ट एन्डरसनले ब्याट्रीबाट चल्ने रथ बनाएका थिए । सन् १८७० देखि १८८० को दशकमा बेलायत र अमेरिकालगायत देशमा पुन :  चार्ज गर्न मिल्ने ब्याट्रीको विकाससँगै अझै बढी व्यावहारिक हुने खालको विद्युतीय गाडीको निर्माण गरियो । यसको एक दशकपछि अमेरिकामा विलियम मोरिसनले करिब ६ जना अट्ने विद्युतीय गाडी निर्माण गरे । यसलाई आधुनिक ईभीको सुरुवातको रूपमा लिन सकिन्छ । सन् १९०० देखि १९१० लाई विद्युतीय गाडीको सुनौलो युगको रूपमा मानिन्छ । सन् १९००को दशकसम्म आइपुग्दा अमेरिकामा झन्डै एकतिहाई सवारीसाधनहरू विद्युत्बाट चल्ने आइसकेका थिए । 

यद्यपि, सन् १९०८ मा फोर्ड मोडेलको आगमनसँगै पेट्रोल कारहरू सस्तो, छिटो र लामो दूरीको यात्रा गर्न सक्ने भए । यसले गर्दा पेट्रोल गाडीहरूले बजार कब्जा गरे र विद्युतीय गाडीको विकास रोकियो । सन् १९६० देखि १९९० सम्मको समयमा इन्धन संकट र बढ्दो प्रदूषणका कारणले विद्युतीय गाडीप्रति मानिसको चासो बढ्न थाल्यो । सन् १९९०को दशकमा जीएमको ईभी १, टोयोटाको आरएभी ४ ईभीजस्ता गाडी बजारमा आए तर तिनले दीर्घकालीन सफलता भने पाएनन् । सन् २०१० मा निसान लिफ र सेबरलेट भोल्ट बजारमा प्रवेश गरे । यसको करिब दुई वर्षपछि टेस्ला मोडेल एसले उच्च दायराका साथ ईभीलाई प्रिमियम बजारमा स्थापित गर्‍यो । आजको दिनमा संसारभर विद्युतीय गाडीको प्रयोग तीव्र रूपमा बढ्दैछ । विभिन्न कम्पनीहरूले ग्राहकको चाहनाअनुसार नयाँ मोडेलहरू बजारमा भित्र्याइरहेका छन् । विभिन्न देशका सरकारहरूबाट अनुदान, ब्याट्रीको प्रविधिमा सुधार र वातावरणमैत्री भएकाले यसको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ ।  

नेपालमा प्रयोग हुने विद्युतीय सवारी  
दुईपांग्रे (स्कुटर र बाइक) यो सबैभन्दा धेरै प्रयोगमा आइरहेको साधन हो । एनआईयू, याडीए, टेलजीजस्ता ब्रान्डका विद्युतीय स्कुटर र बाइक बजारमा देख्न सकिन्छ । दैनिक यात्रा गर्ने विद्यार्थी र कार्यालय जाने कर्मचारीहरूका लागि यो किफायती र सजिलो विकल्प बन्दै गइरहेको छ ।
चारपांग्रे सवारीसाधन 
चारपांग्रे ईभी सवारीमा टाटा नेक्सन, एमजी, नेटा भी, हुन्डाइ, बीवाईडी, दिक्पाललगायत मोडेलहरू नेपालमा लोकप्रिय छन् । यी सवारी नेपालका सहरहरूका लागि उपयुक्त डिजाइन भएका छन् ।
विद्युतीय तीनपांग्रे (टेम्पो) 
२०६० सालतिर सफा टेम्पोको रूपमा नेपालमा विद्युतीय तीनपांग्रे टेम्पो भित्रिएको हो । काठमाडौं, विराटनगर, जनकपुर, नेपालगन्जलगायत सहरहरूमा इलेक्ट्रिक टेम्पो सार्वजनिक यातायातको महत्वपूर्ण साधन बनेका छन् । 
विद्युतीय बस र भ्यान 
नेपालका सहरी भू–भागमा ईभी बस र भ्यान देख्न सकिन्छ । साझाले ईभी सार्वजनिक यातयात चलाउँदै आएको छ भने विभिन्न विद्यालय, कलेज र अन्य कर्पोरेट अफिसहरूमा ईभी भ्यानको प्रयोग बढिरहेको छ । 
विद्युतीय पिकअप तथा व्यावसायिक गाडी
टाटा, बीवाईडीजस्ता कम्पनीहरूले साना उद्योग र व्यवसायका लागि ईभी पिकअप र मालवाहक गाडीहरू उपलब्ध गराइरहेका छन् ।

किन बढ्दै छ ईभीप्रतिको जनचासो ?

विद्युतीय गाडीहरू आजको युगमा स्वच्छ ऊर्जा, आधुनिक प्रविधि र भविष्यको सफल र सुरक्षित यात्राको प्रतीक बनेको छ । त्यसैले पनि पेट्रोल गाडीहरूको तुलनमा यसप्रति जनचासो बढेको देखिन्छ । विद्युतीय गाडीहरूले शून्य उत्सर्जन (जिरो इमिसन) प्रदान गर्छन् । यसले गर्दा वायु प्रदूषण न्यूनीकरण गरी जलवायु परिवर्तनमा कमी ल्याउन मदत गर्छ । यसले जनमानसको स्वास्थ्यमा सुधार ल्याउँछ र दीर्घकालीन रूपमा वातावरणीय प्रभाव घटाउन सहयोग पुर्‍याउँछ । विद्युतीय गाडीहरूलाई कम इन्धन खर्च र कम मर्मत खर्च लाग्छ । 

ब्याट्री प्रविधिको सुधार र चार्जिङ स्टेसनहरूको विस्तारले विद्युतीय गाडीहरूको प्रयोगलाई सहज बनाएको छ । धेरैमा त घरमै चार्ज गर्ने सुविधा पनि उपलब्ध हुन्छन् । विश्वका विभिन्न देशमा सरकारले नै विद्युतीय गाडीहरूका लागि कर छुट, विभिन्न सहुलियत र प्रोत्साहन प्रदान गरेका छन् । यसले पनि उपभोक्तालाई विद्युतीय गाडीतर्फ आकर्षित गरेको छ । विद्युतीय गाडीहरू स्थानीय ऊर्जा स्रोत जस्तै जलविद्युत्बाट चार्ज गर्न सकिने हुनाले यसले ऊर्जा सुरक्षा र आर्थिक स्थिरतामा योगदान पुर्‍याउँछ । 

चीनमा २४ प्रतिशतले बढ्यो बिक्री

गत महिना विश्वव्यापी रूपमा विद्युतीय सवारीसाधनको बिक्री बढेको बजार अनुसन्धान गर्ने एक अन्तर्राष्ट्रिय फर्म रो मोसनले जनाएको छ । संस्थाका अनुसार चीनमा विद्युतीय र प्लग–इन हाइब्रिड सवारीसाधनको विश्वव्यापी बिक्री गत वर्षको सोही महिनाको तुलनामा २४ प्रतिशतले बढेको छ । चीनमा यस वर्ष पहिलोपटक विद्युतीय सवारीसाधनको बिक्री एकै महिनामा १० लाख युनिटभन्दा बढी नाघेको छ । चीनका गाडी निर्माण कम्पनीहरू जस्तै बीवाईडीले घरेलु माग र निर्यातमा वृद्धि गर्दै बजारमा आफ्नो स्थान मजबुत बनाएका छन् ।

रो मोसनका डेटा प्रबन्धक चाल्र्स लेस्टरका अनुसार उज्बेकिस्तानसँगै मेक्सिको र दक्षिण पूर्वएसियामा बीवाईडीको निर्यातले यी क्षेत्रहरूमा बिक्रीमा उल्लेखनीय वृद्धि गरेको छ । संस्थाको तथ्यांकले देखाएअनुसार ब्याट्री–इलेक्ट्रिक सवारीसाधन र प्लग–इन हाइब्रिडहरूको विश्वव्यापी बिक्री मे महिनामा १६ लाख युनिटले बढेको छ । युरोपमा ३६.२ प्रतिशतले वृद्धि भई ३३ लाख युनिट पुगेको छ भने उत्तर अमेरिकामा बिक्री केवल ७.५ प्रतिशतले बढेर १.६ लाख पुगेको छ । यसमा क्यानडाको ईभी सब्सिडीको समाप्ति र अमेरिकी व्यापार नीतिहरूको प्रभाव परेको छ । विश्वको बाँकी भागमा बिक्री ३८ प्रतिशतले बढेर १.५ लाख सवारीसाधन पुगेको छ । विश्लेषकका अनुमानअनुसार सन् २०३० सम्ममा विद्युतीय गाडीहरूको बिक्री ४० प्रतिशत पुग्नेछ ।null

यस वर्षको बिक्री २ करोड नाघ्ने अनुमान
सन् २०२५ मा विद्युतीय कारको बिक्री करिब २ करोड नाघ्ने अनुमान गरिएको छ । यो कुल कार बिक्रीको एक चौथाइ हिस्सा हो । २०२५ को पहिलो त्रैमासिकमा ४० लाखभन्दा बढी विद्युतीय कारहरू बिक्री भएको एक अध्ययनले देखाएको छ । इन्टरनेसनल इनर्जी एजेन्सी नामक अन्तर्राष्ट्रिय संस्थाको ‘ग्लोबल ईभी आउटलुक २०२५’ रिपोर्टका अनुसार २०२४ को पहिलो त्रैमासिकको तुलनामा ईभीको बिक्री ३५ प्रतिशतले बढेको हो, जुन अघिल्लो २ वर्षको पहिलो त्रैमासिकमा देखिएको वृद्धि दरभन्दा बढी थियो । सन् २०२४ को सोही अवधिको तुलनामा २०२५ को पहिलो तीन महिनामा १० लाखभन्दा बढी विद्युतीय कारहरू बिक्री भएका थिए र यीमध्ये करिब ६० प्रतिशत चीनमा बिक्री भएका थिए ।

जनवरी र मार्च २०२५ को अवधिमा चीनले मासिक रूपमा करिब ८ लाख ७५ हजार विद्युतीय कारहरू बिक्री गर्‍यो । यस अवधिमा कुल बिक्री २५ लाखभन्दा बढी भएको थियो । 

युरोपमा २०२५ को पहिलो त्रैमासिकमा विद्युतीय कार बिक्री ९ लाखभन्दा बढी पुगेको थियो । जसमध्ये ६ लाख २५ हजार युरोपेली संघमा बिक्री भएको थियो । त्यसैगरी, संयुक्त राज्य अमेरिकामा ३ लाख ६० हजारभन्दा बढी विद्युतीय कारहरू बिक्री भएका थिए, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत बढी हो । 

ब्राजिलमा २०२५ को पहिलो तीन महिनामा विद्युतीय कार बिक्री ३० हजार नाघेको छ, जुन २०२४ को सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । भियतनाममा पनि पहिलो त्रैमासिकमा विद्युतीय कार बिक्री ३५ हजार पुगेको छ, जुन २०२४ को पहिलो त्रैमासिकमा बिक्री भएको भन्दा करिब चार गुणा बढी हो । दक्षिण–पूर्वी एसियाभरि बिक्री दोब्बर भएर एक लाखभन्दा बढी पुगेको छ । भारतमा बिक्री वार्षिक रूपमा ४५ प्रतिशतले बढेको छ, जुन २०२५ को पहिलो त्रैमासिकमा ३५ हजार विद्युतीय कार बिक्री भएको छ ।

सन् २०२५ को अवधिभर विश्वव्यापी रूपमा विद्युतीय कारको बिक्री २५ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । फलस्वरूप, विश्वव्यापी रूपमा विद्युतीय कारको बिक्री २ करोडभन्दा माथि पुग्ने अनुमान छ । 

कुन मोडलको ईभीको कति मूल्य 
स्कुटर/बाइक  :  २ लाख – ५ लाख रुपैयाँ , न्यू, याडीआ, सुपर सोको आदि बढी रुचाइएको ।
साना कार/ह्याचब्याक  :  २५ लाख –४० लाख रुपैयाँसम्म टाटा टियागो ईभी, नेटा भी आदि बढी रुचाइएको । 
ईभी एसयूभी र ठूला कार  :  ४० लाख–१ करोड रुपैयाँसम्म, एमजी जेड एस, हुन्डाई कोना, बीवाईडी अटो आदि बढी रुचाइएको । 
ईभी बस  :  १.५ करोड – २.५ करोड रुपैयाँसम्म बिवाइडी, सुन्दर यातायात आदि रुचाइएको । 
ईभी भ्यान/पिकअप  :  ५० लाख – ९० लाख रुपैयाँसम्म डिएफएसके इसी, बिवाइडी, टाटा एस ईभीलगायत बढी रुचाइएको । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.