ईभी क्रेज : स्वच्छ वातावरण, स्वस्थ जीवन
काठमाडौं : विश्व बजारको प्रभावस्वरूप नेपालमा पनि विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग तीव्र गतिमा बढेको छ । केही वर्षअघिसम्म केवल प्रविधिमैत्री र पर्यावरण प्रेमीहरूमाझ सीमित ईभी अहिले धेरैको रोजाइमा परेको छ । राजधानी सहर काठमाडौंदेखि पोखरा, चितवन, विराटनगर, वीरगन्जलगायत सहरहरूमा पनि यो निकै लोकप्रिय बन्दै गएको छ ।
ईभीको प्रयोग बढिरहेको भन्सार विभागको तथ्यांकले पनि पुष्टि गर्छ । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख (१० महिना) सम्म नेपालमा ४२ हजार १ सय २ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म २८ हजार ८ सय ५६ वटा विद्युतीय सवारी आयात भएको थियो ।
तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष १३ हजार २ सय ४६ विद्युतीय सवारीसाधन बढी भित्रिएका छन् । समीक्षा अवधिमा ३३ अर्ब ३२ करोड २१ लाख ६६ हजार रुपैयाँ बराबरको ईभी भित्रिएको हो, जुन गत वर्षको तुलनामा २७.९२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको वैशाखसम्म २६ अर्ब ४ करोड ९५ लाख ९८ हजार रुपैयाँ बराबरको ईभी भित्रिएको थियो । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको तथ्यांकअनुसार हाल नेपालमा ३० प्रतिशत पेट्रोलियम पदार्थबाट चल्ने र ७० प्रतिशत ईभी आयात भइरहेको छ । विद्युतीय सवारीसाधनमा चारपांग्रेदेखि इलेक्ट्रिक स्कुटर र मोटरसाइकलको बिक्री झन् बढेको छ ।
वातावरणमैत्री, पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि र सरकारले प्रदान गरेका कर छुटजस्ता नीतिगत प्रोत्साहनहरूले गर्दा ईभी प्रयोगमा उल्लेखनीय वृद्धि भइरहेको यातायात क्षेत्रका विज्ञ इन्जिनियर आशिष गजुरेल बताउँछन् । आर्थिक वर्ष २०७५/०७६ यता ईभीको प्रयोग बढेको उनको भनाइ छ । तर, यसको एकिन सरकारी तथ्यांक भने छैन । हालसम्म करिब ३० हजार ईभी सवारी दर्ता भएको विज्ञ गजुरेल बताउँछन् । ईभी व्यावसायिकभन्दा पनि व्यक्तिगत प्रयोजनका लागि प्रयोग भइरहेको छ ।
सरकारले ईभीमैत्री नीति लिएकाले यसको प्रयोग बढिरहेको निजी क्षेत्रको भनाइ छ । बर्सेनि करिब ४ खर्बको पेट्रोलियम पदार्थ आयात हुँदै आइरहेको छ । यो आयातलाई कम गर्दै ईभीको प्रयोग बढिरहेको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेती बताउँछन् । जलस्रोतको धनी देश, बढ्दो विद्युतीय ऊर्जा उत्पादन, वातावरणमैत्री हुनुलगायत कारण पनि ईभी नेपालमा सवारीको प्रमुख विकल्प बनेको उप्रेतीको भनाइ छ ।
ईभीमा करका दर कुनमा कति ?
हालसम्म ईभीको रेन्जअनुसार ५० किलोवाटसम्मलाई १५ प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्त : शुल्क लाग्ने गरेको छ । यस्तै, ५० देखि १०० किलोवाटसम्मलाई २० प्रतिशत भन्सार शुल्क र १५ प्रतिशत अन्त : शुल्क लाग्ने गरेको छ । यसपछि १०० देखि २०० किलोवाटसम्मलाई ३० प्रतिशत भन्सार शुल्क र २० प्रतिशत अन्त : शुल्क तिर्नुपर्छ । यससँगै, २०० देखि ३०० किलोवाटसम्मलाई ६० प्रतिशत भन्सार शुल्क र ३५ प्रतिशत अन्त : शुल्क लाग्ने गरेको छ ।
यसबाहेक ३०० किलोवाटभन्दा माथिका ईभीलाई ८० प्रतिशत भन्सार शुल्क र ५० प्रतिशत अन्त : शुल्क लाग्ने गरेको छ । यसैगरी, १० सिटसम्मका अन्य विद्युतीय गाडीलाई १५ प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्त : शुल्क लाग्ने व्यवस्था छ । सरकारले आगामी आर्थिक वर्षका लागि पनि यही दर यथावत् राखेको छ । साथै, सरकारले विद्युतीय सवारीसाधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरेको छ ।
विद्युतीय ऊर्जा खपत बढाउन पनि ईभीलाई आवश्यक
जलविद्युत् उत्पादनमा नेपालले फड्को मारिरहेको छ । यहाँ बग्ने ६ हजारभन्दा बढी नदीनालाबाट करिब ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सरकारी तथ्यांक छ ।
आजको दिनमा करिब ३५ सय मेगावाट विद्युत् उत्पादन भएको छ । चालु आर्थिक वर्षमा ४ हजार मेगावाट उत्पादन पुग्ने सरकार बताउँछ । यससँगै करिब ३ हजार निर्माणको विभिन्न चरणमा छन् । पेट्रोलियम इन्धनको विश्वव्यापी बढ्दो माग र आकासिँदो मूल्य र यसको सीमितताका कारण नेपालले विद्युतीय सवारीको विकासमा शीघ्र जोड दिनुपर्ने विशेषज्ञ बताउँछन् ।
विगतमा ट्रली बस र ६०० वटाभन्दा बढी सफा टेम्पो सञ्चालनमा ल्याइएको भए तापनि यसको सही रूपमा व्यवस्थापन हुन नसकेका कारण ट्रली बस बन्द भयो । सफा टेम्पोलगायत अन्य विद्युतीय सवारी तथा यातायातका साधनको पनि पर्याप्त विकास हुन सकेन ।
बढ्दो संख्या, चार्जिङ पूर्वाधार कमजोर
ईभीको बढ्दो संख्याको तुलनामा चार्जिङ पूर्वाधार निकै कमजोर अवस्थामा छ । हाल देशभर करिब ४ सय सार्वजनिक चार्जिङ स्टेसन छन् । अधिकतम हिस्सा काठमाडौं, पोखरा र तराईका सहरहरूमा सीमित छन् । लामो यात्रा वा व्यावसायिक प्रयोगका लागि पर्याप्त र विश्वसनीय चार्जिङ नेटवर्क अभाव अझै चुनौती बनेको छ ।
प्रदूषण नियन्त्रणमा ईभी
पछिल्ला केही वर्षदेखि काठमाडौंको वायु गुणस्तर सूचकांक प्राय : १५० भन्दा माथि रहने गर्छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ । गत चैतमा विश्वमा कम गुणस्तरी वायुका कारण नेपाल पहिलो स्थानमा नै पुगेको थियो । पीएम २.५ (सूक्ष्म धूलो कण) को मात्रा नेपालमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डभन्दा ४–५ गुणा बढी पाइन्छ । सवारीसाधनबाट उत्सर्जन हुने धुवाँले यो स्थितिमा उल्लेखनीय योगदान पुर्याएको तथ्यांकले देखाउँछ । वातावरण विभागका अनुसार काठमाडौं उपत्यकामा मात्र करिब ४० प्रतिशत वायु प्रदूषण सवारीसाधनजन्य उत्सर्जनबाट हुने गरेको छ ।
सन् २०१७ मा गरिएको ‘वायु गुणस्तर तथा स्वास्थ्य प्रभाव’ सम्बन्धी अध्ययनअनुसार प्रत्येक वर्ष वायु प्रदूषणका कारण नेपालमा करिब ९ हजार मृत्यु हुने गरेको छ । यो स्थितिबाट माथि उठ्न ईभी प्रदूषण नियन्त्रणको उपयुक्त विकल्प हुन सक्छ । सवारीमा पेट्रोल वा डिजेलको प्रयोगले कार्बन डाइअक्साइड, नाइट्रोजन, अक्सीजन र पीएम २.५ कणको उत्सर्जन हुने गर्छ । ईभीले प्राय : शून्य प्रदूषण उत्सर्जन गर्छ । सरकारले ‘स्वच्छ सवारी नीति २०७८’ अन्तर्गत सन् २०४५ सम्म सम्पूर्ण सवारीसाधन विद्युतीय बनाउने लक्ष्य लिएको हुँदा ईभीको पहुँच वृद्धिको विकल्प देखिँदैन ।
नेपालमा ईभीको विकास क्रम
नेपालमा विद्युतीय यातायातको सुरुवात गर्ने पहिलो प्रयासको रूपमा धोर्सिङ मातातीर्थ मालवाहन रज्जु(रोपवे) मार्गको स्थापना भएको इतिहास छ । यसपछि बारपाकलगायत विभिन्न स्थानमा मालवाहन रज्जुमार्गको स्थापना भए तापनि यात्रुवाहन रज्जुमार्ग भने पहिलोपटक २०५५ सालमा कुरिनटारदेखि मनकामनासम्म मनकामना केबलकारको रूपमा सुरु भएको देखिन्छ । तर, विद्युतीय मालवाहन रज्जुमार्ग सञ्चालनमा विभिन्न व्यवधान आई सुचारु रूपमा सञ्चालन हुन सकेको छैन ।
विगतमा काठमाडौं उपत्यकामा विद्युतीय ट्रली बस र सफा टेम्पो जस्ता वातावरणमैत्री सवारी तथा यातायातको विकासमा नेपाल सरकारले जोड दिएको देखिन्छ । मित्र राष्ट्र चीनको सहयोगमा २०३२ सालमा २२ वटा ट्रली बस र त्यसका लागि आवश्यक पूर्वाधारहरूको निर्माण भएपछि नेपालमा विद्युतीय सवारीसाधनको सुरुवात भएको पाइन्छ । सो ट्रली बसको सेवा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म १३ किलोमिटरको रुटमा चलेको थियो । यसले सस्तो र सर्वसुलभ सेवा प्रदान गर्दै आएको भए तापनि व्यवस्थापनमा देखिएका विविध कमजोरीका कारण सेवाले निरन्तरता पाउन सकेन ।
नेपाल सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संस्थाहरूको सहयोगबाट २०५६ सालमा विद्युतीय सवारीसाधनको रूपमा सफा टेम्पो सञ्चालनमा आएको हो ।
विश्वमा विद्युतीय गाडीको इतिहास
सन् १८३० को दशकमा विद्युत्बाट चल्ने सवारीसाधनको अवधारणा पहिलोपटक देखिएको थियो । स्कटल्यान्डका रबर्ट एन्डरसनले ब्याट्रीबाट चल्ने रथ बनाएका थिए । सन् १८७० देखि १८८० को दशकमा बेलायत र अमेरिकालगायत देशमा पुन : चार्ज गर्न मिल्ने ब्याट्रीको विकाससँगै अझै बढी व्यावहारिक हुने खालको विद्युतीय गाडीको निर्माण गरियो । यसको एक दशकपछि अमेरिकामा विलियम मोरिसनले करिब ६ जना अट्ने विद्युतीय गाडी निर्माण गरे । यसलाई आधुनिक ईभीको सुरुवातको रूपमा लिन सकिन्छ । सन् १९०० देखि १९१० लाई विद्युतीय गाडीको सुनौलो युगको रूपमा मानिन्छ । सन् १९००को दशकसम्म आइपुग्दा अमेरिकामा झन्डै एकतिहाई सवारीसाधनहरू विद्युत्बाट चल्ने आइसकेका थिए ।
यद्यपि, सन् १९०८ मा फोर्ड मोडेलको आगमनसँगै पेट्रोल कारहरू सस्तो, छिटो र लामो दूरीको यात्रा गर्न सक्ने भए । यसले गर्दा पेट्रोल गाडीहरूले बजार कब्जा गरे र विद्युतीय गाडीको विकास रोकियो । सन् १९६० देखि १९९० सम्मको समयमा इन्धन संकट र बढ्दो प्रदूषणका कारणले विद्युतीय गाडीप्रति मानिसको चासो बढ्न थाल्यो । सन् १९९०को दशकमा जीएमको ईभी १, टोयोटाको आरएभी ४ ईभीजस्ता गाडी बजारमा आए तर तिनले दीर्घकालीन सफलता भने पाएनन् । सन् २०१० मा निसान लिफ र सेबरलेट भोल्ट बजारमा प्रवेश गरे । यसको करिब दुई वर्षपछि टेस्ला मोडेल एसले उच्च दायराका साथ ईभीलाई प्रिमियम बजारमा स्थापित गर्यो । आजको दिनमा संसारभर विद्युतीय गाडीको प्रयोग तीव्र रूपमा बढ्दैछ । विभिन्न कम्पनीहरूले ग्राहकको चाहनाअनुसार नयाँ मोडेलहरू बजारमा भित्र्याइरहेका छन् । विभिन्न देशका सरकारहरूबाट अनुदान, ब्याट्रीको प्रविधिमा सुधार र वातावरणमैत्री भएकाले यसको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ ।
नेपालमा प्रयोग हुने विद्युतीय सवारी
दुईपांग्रे (स्कुटर र बाइक) यो सबैभन्दा धेरै प्रयोगमा आइरहेको साधन हो । एनआईयू, याडीए, टेलजीजस्ता ब्रान्डका विद्युतीय स्कुटर र बाइक बजारमा देख्न सकिन्छ । दैनिक यात्रा गर्ने विद्यार्थी र कार्यालय जाने कर्मचारीहरूका लागि यो किफायती र सजिलो विकल्प बन्दै गइरहेको छ ।
चारपांग्रे सवारीसाधन
चारपांग्रे ईभी सवारीमा टाटा नेक्सन, एमजी, नेटा भी, हुन्डाइ, बीवाईडी, दिक्पाललगायत मोडेलहरू नेपालमा लोकप्रिय छन् । यी सवारी नेपालका सहरहरूका लागि उपयुक्त डिजाइन भएका छन् ।
विद्युतीय तीनपांग्रे (टेम्पो)
२०६० सालतिर सफा टेम्पोको रूपमा नेपालमा विद्युतीय तीनपांग्रे टेम्पो भित्रिएको हो । काठमाडौं, विराटनगर, जनकपुर, नेपालगन्जलगायत सहरहरूमा इलेक्ट्रिक टेम्पो सार्वजनिक यातायातको महत्वपूर्ण साधन बनेका छन् ।
विद्युतीय बस र भ्यान
नेपालका सहरी भू–भागमा ईभी बस र भ्यान देख्न सकिन्छ । साझाले ईभी सार्वजनिक यातयात चलाउँदै आएको छ भने विभिन्न विद्यालय, कलेज र अन्य कर्पोरेट अफिसहरूमा ईभी भ्यानको प्रयोग बढिरहेको छ ।
विद्युतीय पिकअप तथा व्यावसायिक गाडी
टाटा, बीवाईडीजस्ता कम्पनीहरूले साना उद्योग र व्यवसायका लागि ईभी पिकअप र मालवाहक गाडीहरू उपलब्ध गराइरहेका छन् ।
किन बढ्दै छ ईभीप्रतिको जनचासो ?
विद्युतीय गाडीहरू आजको युगमा स्वच्छ ऊर्जा, आधुनिक प्रविधि र भविष्यको सफल र सुरक्षित यात्राको प्रतीक बनेको छ । त्यसैले पनि पेट्रोल गाडीहरूको तुलनमा यसप्रति जनचासो बढेको देखिन्छ । विद्युतीय गाडीहरूले शून्य उत्सर्जन (जिरो इमिसन) प्रदान गर्छन् । यसले गर्दा वायु प्रदूषण न्यूनीकरण गरी जलवायु परिवर्तनमा कमी ल्याउन मदत गर्छ । यसले जनमानसको स्वास्थ्यमा सुधार ल्याउँछ र दीर्घकालीन रूपमा वातावरणीय प्रभाव घटाउन सहयोग पुर्याउँछ । विद्युतीय गाडीहरूलाई कम इन्धन खर्च र कम मर्मत खर्च लाग्छ ।
ब्याट्री प्रविधिको सुधार र चार्जिङ स्टेसनहरूको विस्तारले विद्युतीय गाडीहरूको प्रयोगलाई सहज बनाएको छ । धेरैमा त घरमै चार्ज गर्ने सुविधा पनि उपलब्ध हुन्छन् । विश्वका विभिन्न देशमा सरकारले नै विद्युतीय गाडीहरूका लागि कर छुट, विभिन्न सहुलियत र प्रोत्साहन प्रदान गरेका छन् । यसले पनि उपभोक्तालाई विद्युतीय गाडीतर्फ आकर्षित गरेको छ । विद्युतीय गाडीहरू स्थानीय ऊर्जा स्रोत जस्तै जलविद्युत्बाट चार्ज गर्न सकिने हुनाले यसले ऊर्जा सुरक्षा र आर्थिक स्थिरतामा योगदान पुर्याउँछ ।
चीनमा २४ प्रतिशतले बढ्यो बिक्री
गत महिना विश्वव्यापी रूपमा विद्युतीय सवारीसाधनको बिक्री बढेको बजार अनुसन्धान गर्ने एक अन्तर्राष्ट्रिय फर्म रो मोसनले जनाएको छ । संस्थाका अनुसार चीनमा विद्युतीय र प्लग–इन हाइब्रिड सवारीसाधनको विश्वव्यापी बिक्री गत वर्षको सोही महिनाको तुलनामा २४ प्रतिशतले बढेको छ । चीनमा यस वर्ष पहिलोपटक विद्युतीय सवारीसाधनको बिक्री एकै महिनामा १० लाख युनिटभन्दा बढी नाघेको छ । चीनका गाडी निर्माण कम्पनीहरू जस्तै बीवाईडीले घरेलु माग र निर्यातमा वृद्धि गर्दै बजारमा आफ्नो स्थान मजबुत बनाएका छन् ।
रो मोसनका डेटा प्रबन्धक चाल्र्स लेस्टरका अनुसार उज्बेकिस्तानसँगै मेक्सिको र दक्षिण पूर्वएसियामा बीवाईडीको निर्यातले यी क्षेत्रहरूमा बिक्रीमा उल्लेखनीय वृद्धि गरेको छ । संस्थाको तथ्यांकले देखाएअनुसार ब्याट्री–इलेक्ट्रिक सवारीसाधन र प्लग–इन हाइब्रिडहरूको विश्वव्यापी बिक्री मे महिनामा १६ लाख युनिटले बढेको छ । युरोपमा ३६.२ प्रतिशतले वृद्धि भई ३३ लाख युनिट पुगेको छ भने उत्तर अमेरिकामा बिक्री केवल ७.५ प्रतिशतले बढेर १.६ लाख पुगेको छ । यसमा क्यानडाको ईभी सब्सिडीको समाप्ति र अमेरिकी व्यापार नीतिहरूको प्रभाव परेको छ । विश्वको बाँकी भागमा बिक्री ३८ प्रतिशतले बढेर १.५ लाख सवारीसाधन पुगेको छ । विश्लेषकका अनुमानअनुसार सन् २०३० सम्ममा विद्युतीय गाडीहरूको बिक्री ४० प्रतिशत पुग्नेछ ।
यस वर्षको बिक्री २ करोड नाघ्ने अनुमान
सन् २०२५ मा विद्युतीय कारको बिक्री करिब २ करोड नाघ्ने अनुमान गरिएको छ । यो कुल कार बिक्रीको एक चौथाइ हिस्सा हो । २०२५ को पहिलो त्रैमासिकमा ४० लाखभन्दा बढी विद्युतीय कारहरू बिक्री भएको एक अध्ययनले देखाएको छ । इन्टरनेसनल इनर्जी एजेन्सी नामक अन्तर्राष्ट्रिय संस्थाको ‘ग्लोबल ईभी आउटलुक २०२५’ रिपोर्टका अनुसार २०२४ को पहिलो त्रैमासिकको तुलनामा ईभीको बिक्री ३५ प्रतिशतले बढेको हो, जुन अघिल्लो २ वर्षको पहिलो त्रैमासिकमा देखिएको वृद्धि दरभन्दा बढी थियो । सन् २०२४ को सोही अवधिको तुलनामा २०२५ को पहिलो तीन महिनामा १० लाखभन्दा बढी विद्युतीय कारहरू बिक्री भएका थिए र यीमध्ये करिब ६० प्रतिशत चीनमा बिक्री भएका थिए ।
जनवरी र मार्च २०२५ को अवधिमा चीनले मासिक रूपमा करिब ८ लाख ७५ हजार विद्युतीय कारहरू बिक्री गर्यो । यस अवधिमा कुल बिक्री २५ लाखभन्दा बढी भएको थियो ।
युरोपमा २०२५ को पहिलो त्रैमासिकमा विद्युतीय कार बिक्री ९ लाखभन्दा बढी पुगेको थियो । जसमध्ये ६ लाख २५ हजार युरोपेली संघमा बिक्री भएको थियो । त्यसैगरी, संयुक्त राज्य अमेरिकामा ३ लाख ६० हजारभन्दा बढी विद्युतीय कारहरू बिक्री भएका थिए, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत बढी हो ।
ब्राजिलमा २०२५ को पहिलो तीन महिनामा विद्युतीय कार बिक्री ३० हजार नाघेको छ, जुन २०२४ को सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । भियतनाममा पनि पहिलो त्रैमासिकमा विद्युतीय कार बिक्री ३५ हजार पुगेको छ, जुन २०२४ को पहिलो त्रैमासिकमा बिक्री भएको भन्दा करिब चार गुणा बढी हो । दक्षिण–पूर्वी एसियाभरि बिक्री दोब्बर भएर एक लाखभन्दा बढी पुगेको छ । भारतमा बिक्री वार्षिक रूपमा ४५ प्रतिशतले बढेको छ, जुन २०२५ को पहिलो त्रैमासिकमा ३५ हजार विद्युतीय कार बिक्री भएको छ ।
सन् २०२५ को अवधिभर विश्वव्यापी रूपमा विद्युतीय कारको बिक्री २५ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । फलस्वरूप, विश्वव्यापी रूपमा विद्युतीय कारको बिक्री २ करोडभन्दा माथि पुग्ने अनुमान छ ।
कुन मोडलको ईभीको कति मूल्य
स्कुटर/बाइक : २ लाख – ५ लाख रुपैयाँ , न्यू, याडीआ, सुपर सोको आदि बढी रुचाइएको ।
साना कार/ह्याचब्याक : २५ लाख –४० लाख रुपैयाँसम्म टाटा टियागो ईभी, नेटा भी आदि बढी रुचाइएको ।
ईभी एसयूभी र ठूला कार : ४० लाख–१ करोड रुपैयाँसम्म, एमजी जेड एस, हुन्डाई कोना, बीवाईडी अटो आदि बढी रुचाइएको ।
ईभी बस : १.५ करोड – २.५ करोड रुपैयाँसम्म बिवाइडी, सुन्दर यातायात आदि रुचाइएको ।
ईभी भ्यान/पिकअप : ५० लाख – ९० लाख रुपैयाँसम्म डिएफएसके इसी, बिवाइडी, टाटा एस ईभीलगायत बढी रुचाइएको ।
प्रतिक्रिया दिनुहोस !