इजरायल–इरान द्वन्द्व चर्कँदै, नेपाली सुरक्षित
काठमाडौं : इजरायल र इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल इजरायलमा करिब
५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली छन् ।
इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई सम्पर्क गरी त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन् । परराष्ट्रमन्त्री देउवाले नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बिन्धित मुलुकले जारी गरेको सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न पनि भनेकी छन् ।
इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने तेल अभिभ र दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
आइतबार तेहरानभरि विस्फोटहरू सुनिए । इरानी मिडियाले तेहरान प्रहरी मुख्यालयमा आक्रमण भएको जनाएको छ भने अन्य धेरै स्थलहरूमा गोलीबारी भएको छ । रातारात, इजरायलले पनि तेहरानका तेल डिपोहरूमा आक्रमण गर्यो । त्यसैगरी इरानले पनि इजरायलमा ब्यालिस्टिक मिसाइलका दुई छालहरू प्रहार गर्यो, जसमा कम्तीमा १० जनाको मृत्यु भयो । आइतबार पनि अर्को छाल प्रहार गरेको जनाइएको छ । इजरायली सेनाले आइतबार इरानबाट थप क्षेप्यास्त्रहरू प्रहार गरिएको जनाएको छ । ऊर्जा र रक्षा पूर्वाधारमा इजरायली आक्रमण पछि इरान–इजरायल द्वन्द्व झन् चर्किँदै गएको छ । आफूहरूले कुनै एक क्षणका लागि पनि आक्रमण गर्न नछोड्ने इजरायली सेनाले जनाएको छ ।
आक्रमणमा परी इजरायलमा कम्तीमा १३ जनाको मृत्युको पुष्टि भएको छ । इजरायली अपरेसनको एक घोषित लक्ष्य इरानलाई आणविक बम विकास गर्नबाट रोक्नु रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहूले इजरायलको अस्तित्वका लागि इरानी खतरालाई पन्छाउन सैन्य अपरेसन ‘राइजिङ लायन’ सुरु गरेको जनाएका छन् ।
दशकौंदेखि, तेहरानका आतंककारीहरूले इजरायलको विनाशका लागि खुलेआम आह्वान गर्दै आएका, आणविक हतियार विकास गर्ने कार्यक्रमका साथ उनीहरूले आफ्नो नरसंहारको बयानबाजीलाई समर्थन गरेका, हालैका वर्षहरूमा उनीहरूले ९ वटा आणविक बम बनाउन पर्याप्त युरेनियम जम्मा गरेका लगायतका कारणले गर्दा आफूले उक्त अपरेसन सुरु गरेको उनले एक वक्तव्यमार्फत जनाए ।
त्यसैगरी इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानले नागरिक बस्तीहरूमा मिसाइल प्रहार गरेर रातो रेखा पार गरेको र यसका लागि उनीहरूले धेरै ठूलो मूल्य चुकाउनुपर्ने जनाएका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई द्वन्द्व रोक्नका लागि सम्झौता गर्न आग्रह गरेका छन् । दुवै पक्षलाई लडाइँ रोक्नका लागि हाल धेरै टेलिफोन कुराकानी र बैठकहरू भइरहेको पनि उनले जनाएका छन् ।
‘जसरी मैले भारत र पाकिस्तानलाई गर्न लगाएको थिएँ, इरान र इजरायलले पनि सम्झौता गर्नुपर्छ र सम्झौता गर्ने छन्’, ट्रम्पले आइतबार बिहान ट्रुथ सोशलमा लेखेका छन् । उनले सर्बिया र कोसोभो, इजिप्ट र इथियोपिया बीचको लामो समयदेखि चलिरहेको शत्रुतालाई पनि उद्धृत गरे । यी दुवैबीचको द्वन्द्व उनको पहिलो कार्यकालदेखि नै भड्किएको थियो ।
‘म धेरै गर्छु र कहिल्यै कुनै पनि कामको श्रेय पाउँदिन । तर, ठीक छ, मानिसले बुझ्छन् । मध्यपूर्वलाई फेरि महान बनाउनुहोस्’, राष्ट्रपति ट्रम्पले लेखेका छन् ।
रूसी दूतावासले पनि इरानबाट आफ्ना नागरिकहरूलाई बाहिर निकालिरहेको छ । बेलायतले भने कर्मचारीहरूलाई बाहिर निकालेको कुनै जानकारी आएको छैन । द्वन्द्वका क्रममा आइतबार तेहरानका केही बासिन्दा उत्तरतिर सुरक्षित ग्रामीण क्षेत्रहरूमा भागिरहेका थिए भने अन्यले आवश्यक वस्तुहरू भण्डारण गरिरहेका जनाइएको छ । मानिसले आश्रय लिन सकून् भनेर त्यहाँको मेट्रो प्रणाली चौबीसै घण्टा खुला राखिएको थियो । इरानतर्फ मारिएकाहरूको संख्या कुनै आधिकारिक तथ्यांक नदिइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !