रास्वपालाई सभामुखले भने- सधैं विरोध गरेर हुँदैन, बजेट पारित गर्नैपर्छ
काठमाडौं : सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग भेट गरेका छन्। आज बिहान सरकारी निवास बालुवाटारमा संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
छलफलका क्रममा सभामुख घिमिरेले बजेट पारित गराउनका लागि रास्वपालाई आग्रह गरेका थिए।
'दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो । बजेटबारे ब्यापक छलफल गर्नुपर्ने,समृद्ध बनाउने बेला संसद अवरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ । विपक्षीले उठाएका मुद्दा गम्भीर छन्,त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ । तर,अब रोक्ने अवस्था छैन । संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौं ,'सभामुखले भने।
तर,रास्वपाले भने अहिलेकै अवस्थाबाट पछाडि हट्ने अवस्था नरहेको बताएको थियो। 'विपक्षीले उठाएका माग गम्भीर छन् । जनताको वास्तविक समस्या उठाएका छौं । हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अबरोध बाध्यात्मक भएको हो । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौं । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौं ,'रास्वपाले भन्यो।'
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा, राप्रपालगायतका दलको अवरोध जारी रहेपछि सभामुखले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन्।
छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन्।
प्रतिक्रिया दिनुहोस !