सरकारी कार्यालयमा प्रशासनको छड्के, ९७ कर्मचारी अनुपस्थित
दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले सोमबार जिल्लास्थित सरकारी कार्यालयहरूको छड्के अनुगमन गरेको छ।
सोमबार बिहान सवा १० बजेदेखि ११ बजेसम्म १८ वटा कार्यालयहरूको छड्के निरीक्षण गर्दा ९७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।
उपस्थितमध्ये ६७ जना कर्मचारीले तोकिएको पोसाक नगलाएको पाइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए। केही कार्यालयहरूमा कर्मचारीले हाजिर गरेको भएपनि कार्यकक्षमा अनुपस्थित रहेको पाइएको उनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा पाँच जना कर्मचारी अनुपस्थित रहेको र चार जना कर्मचारीले पोसाक नलगाएको भेटिएको छ।
यस्तै कोष तथा लेखा नियन्त्रण कार्यालयका २ जना, पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयमा १२ जना कर्मचारी अनुपस्थित रहेको र २ जना कर्मचारीले पोसाक नलगाएको पाइएको प्रशासन कार्यालयले जनाएको छ।
यस्तै शिक्षा विकास समन्वय इकाईमा २, मालपोत कार्यालयमा ८, डिभिजन वन कार्यालयमा ९, जिल्ला हुलाक कार्यालयमा २, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमा एक, स्वास्थ्य सेवा कार्यालयमा ३६, आयुर्वेद स्वास्थ्य केन्द्रमा २, कृषि विकास कार्यालयमा ३, उद्योग तथा उपभोक्ता हित कार्यालयमा २, नारायण नगरपालिकामा १२ जना कर्मचारी कार्यालयमा उपस्थित थिएनन्।
छड्के निरीक्षणका क्रममा कैफियत देखिएको कार्यालय तथा कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुखमार्फत स्पष्टीकरण माग गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए। स्पष्टीकरणको आधारमा प्रचलित कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने उनले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !