यार्सागुम्बाको मेलो सकेर वनलसुनतिर
गोरखा : जडीबुटी संकलनलाई प्रमुख आयस्रोत मान्दै आएका उत्तरी गोरखाका बासिन्दा यार्सागुम्बा संकलनको मेलो सकेर यतिबेला वनलसुन संकलन गर्न तिर लागेका छन् । चुमनुब्री गाउँपालिका—७ छेकम्पारका बासिन्दा यार्सागुम्बा पाइने लेकबाट वनलसुन पाइने तल्लो भेगतिर लागेका वडाध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए ।
‘हाम्रोतिर त यार्सागुम्बाको सिजन सकियो । अहिले सप्पैजना वनलसुन खोज्दैछन्’, उनले भने, ‘किरा टिप्न छेक्या, बाज्यो, फुच्युन, छोस्योङको लेकमा गएका थिए । अहिले उनीहरू त्यही लेकको तल्लो भेग किपु, रोल्मीखर्क, बाज्योखर्क, छेस्योङबेसीतिर वनलसुन खोज्दै छन् ।’ यार्सागुम्बा र वनलसुन बेचेर गरेको आम्दानीले वर्ष दिनको घरखर्च धान्नु पर्ने उनको भनाइ छ । उनका अनुसार यस वर्ष यार्सागुम्बा अपेक्षा गरेअनुसार संकलन भएको छ । तर, भाउ भने दुई तिहाइ घटेको छ ।
‘अहिले यार्सागुम्बा राम्रै पायो तर भाउ पाएन’, वडाध्यक्ष लामाले भने, ‘पोहोर साल किरा पनि राम्रो पायो, भाउ पनि राम्रो पाएको थियो । पोहोर साल ठूलोखाले एउटाको एक हजारमा अनि सानो खाले एउटाको पाँच सयमा बेचेको हो । तर अहिले ठूलोखालेको चार सय, साना खालेको तीन सयमा बेच्नुपर्ने भएको छ ।’ यार्सागुम्बा भने गत वर्ष र यस वर्ष उत्तिकै भेटिएको उनले बताए ।
‘पोहोरसाल सानो ठूलो गरेर ३६ किलो बेचेको हो । हाम्रोतिर एकजनाले सानो ठूलो गरेर कम्तीमा दुई सयदेखि एक हजार वटासम्म संकलन गर्छन्’, उनले भने, ‘यसपालि पनि किरा त त्यस्तै पाइएको छ । तर भाउ नपाएर दुःख त्यसैखेर जाने भयो भनेर गाउँलेहरू निराश भएका छन् ।’
चुमनुब्री—१ सामागाउँ, साम्दोको लेकमा र वडा नं. ७ छेकम्पारको लेकमा उच्च गुणस्तरीय यार्सागुम्बा पाइन्छ । त्यसभन्दा तल ल्हो, प्रोक, सिर्दिबास, उहियाको लेकमा पनि धेरथोर पाइने स्थानीयवासी बताउँछन् । वनलसुन भने सबै वडाको खर्क, चरन तथा पाखापखेरामा पाइने उनीहरू बताउँछन् ।
प्रतिकेजी ३८ हजार रुपैयाँमा किनबेच हुने वनलसुन पनि गाउँमा हरेकले दुई, तीन केजीका दरले संकलन गर्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस !