उखरमाउलो गर्मीमा असिनपसिनको पढाइ
जनकपुरधाम : मधेसका विद्यालयमा कक्षा कोठामा न एउटा पंखा छ, न त चिसो पानीको बन्दोबस्त नै । केही बेन्च र डेस्क मिलाइएका छन् । पक्की पर्खाल र माथिबाट टिनको छाना हालेर बनाइएको साँघुरो कोठामा हावा छिर्ने एकमात्र उपाय हुन्छ, अगाडि पछाडिको झ्याल । तर, त्यो झ्याल भएर छिर्ने हावा पनि यतिबेला तातै हुन्छ ।
तातो दिनमा तातो हावाको लहरले अझ बढी गर्मी बढाइराखेको हुन्छ । यी सबै कष्टलाई छलेर पसिनाले निथ्रुक्क भिज्दै जेनतेन पढाइ गर्दै भेटिन्छन् अहिले मधेसका अधिकांश सामुदायिक विद्यालयका बालबालिका ।
पछिल्लो केही वर्षयता जलवायु परिवर्तनको असरले मधेस क्षेत्रमा गर्मी अत्यधिक बढ्दै गएको छ । जसको प्रत्यक्ष मारमा छन् बालबालिका । सुविधा सम्पन्न कक्षाकोठामा बसेर पढ्दासमेत गर्मीले समस्या आइरहेको बेला टिनको छाना हालेर बनाइएका प्रदेशका अधिकांश विद्यालयहरूमा बालबालिकालाई अध्ययन गर्नुपर्ने विवशता छ ।
प्रदेशका ८० प्रतिशत विद्यालयहरूमा टिनको छाना प्रयोग गरिएको एक तथ्यांकले देखाएको छ । टिनको छानाबाट निस्कने ताप कक्षाकोठाको वातावरणमा फैलिएपछि पंखाबाट निस्कने हावा पनि तातो भएर जान्छ र प्रभावकारी हुँदैन । यसले गर्मीको प्रभावलाई अझ बढाउँछ ।
गर्मीले बेहोस हुन थाले विद्यार्थी
गत हप्ता धनुषाको सबैला नगरपालिका— २ स्थित रामप्रसाद माध्यमिक विद्यालयमा पढ्दापढ्दै एक्कासि केही छात्राको अवस्था गम्भीर भयो । उनीहरू रुन कराउन थाले । केही त अचेत नै भए । विद्यार्थीलाई प्राथमिक उपचारमा लगिएपछि उनीहरूलाई घर पठाइएको थियो । तर, यस्तो अवस्था आउनुमा विद्यालयको साँघुरो कक्षाकोठा, पर्याप्त खानेपानीको बन्दोबस्त नहुनु र अत्यधिक तातो मौसम रहेको थियो ।
बाराको कलैया उपमहानगरपालिकामा रहेका विद्यालयहरू तीन दिनका लागि बन्द नै गरिएको थियो । ह्वात्तै बढेको गर्मीका कारण विद्यालयहरूमा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा असर देखिन थालेपछि र केही विद्यार्थी बेहोस नै भएपछि उपमहानगरपालिकाले बिदा घोषणा गरेको नगर शिक्षा शाखा प्रमुख राजीवकुमार यादवले बताए ।
‘गर्मी थेगिनसक्नु छ र त्यसमाथिबाट हाम्रो विद्यालयका भवनहरू यति तातो हुन्छ कि शिक्षकलाई समेत बस्न गाह्रो हुन्छ । यस्तोमा ससाना बालबालिकालाई त यहाँ बसेर पढ्न झनैं गाह्रो छ’, धनुषाको कनकपट्टी माध्यमिक विद्यालयका शिक्षक सुनील मल्लिक भन्छन्, ‘अधिकांश विद्यालयहरूमा गर्मी छल्नकै लागि बिहानी कक्षा सञ्चालन गर्ने गरिएको छ तर, एकाबिहानैबाट तापक्रम बढ्छ र पढ्न पढाउनै गाह्रो हुन्छ । मधेसका विद्यालयहरूमा टिनका छाना विस्थापित गरिनु अति आवश्यक रहेको र यसतर्फ स्थानीय तहको ध्यानाकर्षण हुनु जरुरी छ ।’
मधेसका विद्यालयमा छैन व्यापक विद्यालय सुरक्षा रूपरेखा
नेपालको तराई मधेस क्षेत्रमा जलवायु परिवर्तनको असर अन्य प्रदेशभन्दा बढी देखिएको छ । जलवायु परिवर्तनको असरको रूपमा देखिने चरम गर्मीबाट हुने सामाजिक तथा आर्थिक क्षतिको तथ्यांक सीमित छ । पर्याप्त जनचेतना नहुनु, बजेटको अभाव र सरकारी प्राथमिकतामा गर्मीको प्रभावलाई विपद्को रूपमा समेटिन सकिएको छैन ।
अत्यधिक गर्मीको कारण उत्पन्न हुने मौसमी अवस्थालाई तातो हावाको लहर वा लू भनेर बुझिन्छ । विश्व मौसम संगठन र विश्व स्वास्थ्य संगठनले तातो हावाको लहरलाई ‘एक्कासि विकसित हुने र रोकिने असामान्य गर्मी र सुक्खा, वा गर्मी र आद्र मौसम, जसको अवधि सामान्यतया कम्तीमा दुईदेखि तीन दिनसम्म रहन्छ र जनजीवनमा गम्भीर असर पार्दछ । यो मौसमी अवस्था केही हप्तासम्म पनि रहन सक्छ’ भनी परिभाषित गरिएको छ ।
मधेसमा चैतदेखि असारसम्म गर्मीका धेरै भएर तातो हावाको प्रकोप पनि बढ्छ । विश्व उष्णीकरणको प्रभावका कारण नेपालमा तापक्रम बढ्दै गएको छ र गर्मी दिनको संख्या पनि बढिरहेको छ । यो क्रम अझै बढ्ने अध्ययनहरूले देखाउँछ ।
चरम गर्मीको बेला विद्यालयहरू बन्द गर्नुलाई मुख्य उपायको रूपमा अपनाइए पनि त्यसबाहेक यस जोखिमलाई दीर्घकालीन रूपमा निर्मूलीकरण गर्न खासै प्रयासहरू गरिएको देखिँदैन । देशभरिका २३ प्रतिशत विद्यालयहरूले व्यापक विद्यालय सुरक्षा रूपरेखा अपनाए पनि मधेसमा यसको व्यवस्थापन भएको छैन ।
‘मधेस प्रदेशमा गर्मीयाममा र विशेषगरी यो तातो हावाको लहरनै चल्ने बेलामा विद्यालयहरूमा जोखिम न्यूनीकरण गर्ने उपाय खासै अवलम्बन गर्न सकिएको छैन । यहाँ बनाइएका विद्यालयका भवनहरूमा भूकम्पबाट जोगिनका लागि टिनको छाना र फलामको डन्डी राखेर कक्षाकोठाहरू बनाइयो तर त्यो मधेसका लागि उपयोगी छैन । गर्मी हुँदा ती भवनहरू अत्यधिक तात्ने गर्छन् । जसमा बसेर पढाइ गर्नु भनेको कुनै सजायभन्दा कम छैन बालबालिकाका लागि । त्यसैगरी मधेसमा चिसोयाममा शीतलहरको प्रकोप हुन्छ र सो बेला शीतका थोपाले यी छानाहरू भिजेर पानी चुहिराख्दा अध्ययन, अध्यापनमै समस्या आउँछ । तसर्थ सर्वप्रथम विद्यालयका भवनहरूलाई टिनको छाना मुक्त गर्नु अति नै आवश्यक छ,’
मधेस प्रदेश सरकारको शिक्षा
विकास निर्देशनालयका निर्देशक महेन्द्र महतो भन्छन्, ‘शिक्षा क्षेत्र स्थानीय निकायअन्तर्गत पर्ने भएकोले आ आफ्नो मातहत रहेका विद्यालयहरूको भवनको सुधार र यस्ता टिनका छानाहरूलाई विस्थापित गर्न तर्फ स्थानीय निकायहरूले पनि विशेष ध्यान पुर्याउनु आवश्यक छ । हामी प्रदेशको मन्त्रालय र निर्देशनालयबाट सक्दो र आफ्नो क्षमताअनुसार विद्यालयहरूमा यो प्राकृतिक जोखिमहरू न्यूनीकरण गर्न प्रयास गरिरहेका छौं ।’
मधेसका अधिकांश सार्वजनिक विद्यालयहरूमा यातायातको सुविधा उपलब्ध नहुँदा विद्यार्थी पैदल वा साइकलमा विद्यालयसम्म पुग्नुपर्ने बाध्यता छ । अधिकांश विद्यार्थीका विद्यालय र घरबीचको औसत यात्रा दूरी ४ किलोमिटरसम्म रहेको छ । यस्तोमा सीमित यातायातको विकल्पहरूले गर्दा समेत गर्मीको प्रकोपका बेला बालबालिकाको अध्ययन अध्यापनलाई निकै असहज बनाएको छ ।
मधेसका अधिकांश विद्यालयहरूमा विद्यालय परिसरभित्रै पिउने पानीको स्रोत उपलब्ध भए पनि सुविधाहरू सीमित छ । ‘कक्षा कोठामा टिनको छानाले एकातर्फ गर्मी बढाएकै हुन्छ । अर्कोतर्फ ३० देखि ४० जना बालबालिका भरिएको कोठामा बढीमा एउटा पंखा हुन्छ । त्यसले कसरी धान्छ यस्तो गर्मीमा,’ धनुषाको नगराइन नगरपालिकास्थित राष्ट्रिय आधारभूत विद्यालय फुलगम्माकी शिक्षिका अनामिका ठाकुर भन्छिन्, ‘स्कुलभरिमा एउटा चापाकल छ । त्यो पनि धेरै गर्मी हुँदा सुकेर पानी दिन छाड्छ, अनि अर्को पानी खाने कुनै बन्दोबस्त छैन । बालबालिकालाई यो गर्मीयामको पढाइ कुनै यातनाभन्दा कम छैन । कम्तीमा यसको सुधारका लागि र गर्मीयाममा पठनपाठन सहज बनाउनका लागि स्थानीय तहको सरकारले वा प्रदेश सरकारले ठोस योजना ल्याउनु आवश्यक छ ।’
‘विद्यालयमा एउटा चापाकल हुन्छ त्यसबाटै सबै विद्यार्थीले पानी खानुपर्ने बाध्यता हुन्छ,’ शिक्षक दीपेश साह भन्छन्, ‘यो गर्मीयाममा कम्तीमा विद्यालयहरूमा बालबालिकाका लागि चिसो पानीको बन्दोबस्त गर्नु अति आवश्यक छ । तर, यी सब कुरामा खासै ध्यान पुर्याइँदैन । विद्यालयका लागि आउने बजेटमा समेत यहाँ भ्रष्टाचार गरिन्छ । यो निकै दुःखद् कुरो हो ।’ लाइन कुरेर पिउने पानी लिन बाध्य बनाइएका बालबालिकाका लागि प्रतिकक्षा एउटा पिउने पानीको स्टेसन बनाउनु अति आवश्यक छ ।
त्यसैगरी गर्मी मौसममा उच्च बिजुलीको मागले गर्दा बिजुली कटौतीको क्रम बढ्ने गर्दछ । यस्तो अवस्थामा मधेसका ७७ प्रतिशत सामुदायिक विद्यालयहरूमा व्यापक बिजुलीको स्रोतको अभाव छ । चर्को गर्मीमा बिजुली नहुँदा भएको पंखा पनि नचल्नाले अझ बढी समस्या बढाउने गर्दछ ।
यस्तो छ विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना
मधेस प्रदेशको शैक्षिक विकास निर्देशनालयन प्रादेशिक शिक्षा समूहले प्रदेशको शिक्षा क्षेत्रको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० निर्माण
गरेको छ । जसमा मधेस प्रदेश विपद्को दृष्टिकोणले जोखिमपूर्ण क्षेत्र रहेको उल्लेख छ । यस प्रदेशमा भूकम्प, बाढी, पहिरो, चट्यांग, अतिवृष्टि, असिना, रोगव्याधिको महामारी, आगलागी, तातो हावाको लहर, शीतलहर, खडेरीजस्ता विभिन्न प्रकारका प्रकोपको उच्च जोखिम रहेको बताइएको छ ।
प्रदेशका सामुदायिक विद्यालयका भौतिक पूर्वाधारहरू कच्ची तथा कमजोर रहेको छ । विद्यालयमा शौचालय, खानेपानी तथा हात धुने स्थानको अभाव छ । कमजोर भौतिक संरचना, विद्यालय भवन बाढी, पहिरोको जोखिमयुक्त स्थानमा हुनु, विद्यालय भवन तथा परिसरमा चट्यांग तथा आगलागी निरोधक प्रणालीको अभाव, उपयुक्त ढल निकासको अभाव, हावाहुरीको जोखिम रहेको क्षेत्रमा कमजोर छाना भएका भवन आदि कारणले धेरै विद्यालयहरू बहुप्रकोप प्रतिसंवेदनशील अवस्थामा छन् ।
यी विषयहरूमा गम्भीर भई विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरण गर्न तीन तहकै सरकारको समन्वयमा योजना कार्यान्वयन गर्न सकिने भनिए पनि प्रदेशमा हालसम्म विद्यालयमा विपद् व्यवस्थापन प्रतिकार्य योजना कार्यान्वयन हालसम्म हुन सकेको छैन ।
‘मधेसमा शिक्षा क्षेत्र निकै उपेक्षित छ । हामीले आफ्ना विद्यालयहरूलाई कसरी राम्रो बनाउने र बालमैत्री वातावरण निर्माण गर्नेतर्फ कुनै ध्यान नै दिएका छैनौं,’ धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका नगर अध्यक्ष जयकुमार यादव भन्छन्, ‘विद्यालयलाई राम्रो बनाउन सर्वप्रथम वातावरणमैत्री बनाउनु आवश्यक छ । त्यसपछि त्यहाँ विद्यार्थीको सुविधालाई ध्यानमा राखी सोहीअनुसारको वातावरण निर्माण गर्न पालिकाले बजेट विनियोजन गर्नु पर्दछ । हाम्रो पालिकामा यस पटक हामीले सबैभन्दा बढी खर्च नै विद्यालयहरूको भवनलाई टिनको छानामुक्त बनाउनमा गरेका छौं ।
हाम्रो प्रयास छ पालिकाको सबै विद्यालयलाई टिनको छानामुक्त भवन उपलब्ध गराउने र हामी त्यस दिशामा लागिराखेका छौं तर, यस विषयमा अन्य पालिकाहरू पनि सजग हुनु पर्दछ । हाम्रा बालबालिकाको भविष्यसँग खेलवाड गरियो र उनीहरूको शैक्षिक स्तर सुधारका लागि हामीले पहल गरेनौं भने भोलिका दिनहरू अझ बढी कठिन हुँदै जान्छ ।’ मुसहरनिया गाउँपालिकामा हाल १३ वटा विद्यालयमा टिनको छाना भएको भवनहरू परिवर्तन गरेर पक्की छतसहितको कक्षा कोठा निर्माण गरिएका छन् ।
- पसिनाले निथु्रक्क भिज्दै जेनतेन पढाइ गर्दै भेटिन्छन् अहिले मधेसका अधिकांश सामुदायिक विद्यालयका बालबालिका।
- प्रदेशका ८० प्रतिशत विद्यालयहरूमा टिनको छाना प्रयोग गरिएको एक तथ्यांकले देखाएको छ।
- अधिकांश विद्यालयहरूमा गर्मी छल्नकै लागि बिहानी कक्षा सञ्चालन गर्ने गरिएको छ तर, एकाबिहानैबाट तापक्रम बढ्छ र पढ्न पढाउनै गाह्रो हुन्छ।
गर्मीमा निजात पाउने एकमात्र उपाय विद्यालय बन्द
मधेस प्रदेशमा गर्मीले जनजीवन आक्रान्त गरेपछि अहिले अधिकांश नगरपालिकाहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जनकपुरधाम उपमहानरपालिकाले बर्खे बिदाबाट कट्टा हुने गरी नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन बन्द गरेको छ । त्यसैगरी, बारा, पर्सा, सिरहा, महोत्तरीका विभिन्न पालिकाहरूमा पनि गर्मीको प्रकोपलाई दृष्टिगत गर्दै पठनपाठन बन्द गर्ने निर्देशन स्थानीय पालिकाहरूले दिएका छन् । तर, गर्मीबाट छुटकारा पाउन यसरी पठनपाठन अवरुद्ध गर्नु मात्रै विकल्प रहनु उचित नरहेको बाल अधिकारको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मी दिवाकर उप्रेती भन्छन्, ‘बालबालिकाको शिक्षाको अधिकारलाई बाधित गरेर उनीहरूको सिकाइ प्रभावित गर्नुलाई गर्मीबाट राहतको नाम दिन सकिँदैन ।
स्थानीय तहका नेतृत्वकर्ताहरूले बडो सहज बाटो अपनाउँदै आएका छन् । धेरै गर्मी भयो भने विद्यालय बन्द गरिदिन अनि एक दिन पानी पर्यो भने खोल्दिन् यो दीर्घकालीन समाधान होइन,’ उनी थप्छन्, ‘ विद्यालयहरूमा शैक्षिक लगानी जुन रूपमा गर्नुपर्ने हो त्यो भइरहेको छैन । विद्यालयका भवनहरू वातावरण अनुकूलित हुनुपर्नेमा जस्ताकै छाना राखेर विद्यार्थीलाई कोचेर जसरी पनि पढाउन सकिन्छ भन्ने धारणा अहिले पनि छ । सामुदायिक विद्यालयहरूमा स्थापना गरिएका विद्यालय व्यवस्थापन समिति र अभिभावक समितिहरूले यस विषयलाई ध्यान दिनुपर्नेमा उनीहरू पनि मात्र राजनीतिक भागबन्डामा केन्द्रित भएका छन् । जसले गर्दा विद्यार्थीको शैक्षिक अधिकार नै कुण्ठित भइरहेको अवस्था म देख्छु ।’
मधेस प्रदेशमा हाल सामुदायिक विद्यालयको संख्या ३ हजार ४ सय ४५ छ । जसमा अध्ययनरत विद्यार्थीको संख्या १४ लाख ३८ हजार २ सय ६६ छ । सामुदायिक विद्यालयहरूमा पढाउने शिक्षक र शिक्षिकाहरूको संख्या १९ हजार २ सय ४० छ ।
त्यसैगरी संस्थागत विद्यालयको संख्या १३ सय छ जसमा ४ लाख २३ हजार १५५ विद्यार्थी अध्ययनरत छन् । शिक्षिक, शिक्षिकाको संख्या भने ११ हजार ९ सय १६ छ । त्यसैगरी प्राविधिक शिक्षालयको संख्या १ सय ३५ छ जसमा अध्ययनरत विद्यार्थीको संख्या ९ हजार ४ सय ५६ छ । शिक्षक, शिक्षिकाको संख्या ४ सय १८ छ ।
एक अनुसन्धानको क्रममा देखिएको निष्कर्षअनुसार मधेसमा लामो समयसम्म गर्मी हुँदा ६१ प्रतिशत कक्षाको सिकाइमा बालबालिकाहरूको संलग्नता घट्ने गर्दछ । त्यसैगरी तातो हावाको लहर र गर्मीयामका बेला विद्यालय बन्द रहने औसत दिनहरूको संख्या १० दिन छ भने गर्मीयाममा छात्रहरूले कक्षा छुटाउने औसत दिनहरूको संख्या २५ दिन मानिएको छ । त्यसैगरी छात्राहरूले गर्मीकै कारण कक्षा छुटाउने औसत दिनहरूको संख्या २९ छ ।
मधेसका ६६ प्रतिशतभन्दा बढी विद्यालय परिसरहरूभित्र पर्याप्त प्राकृतिक छायाँको अभाव छ जसले गर्दा गर्मीको प्रभाव अझ बढेको छ ।
‘पहिले–पहिले गुरुकुलहरू रूखको छायाँमा हुन्थ्यो । विद्यालय परिसर रूखबिरुवाले ढाकेका हुन्थे जसले गर्दा विद्यालयमा सकारात्मक ऊर्जाको प्रवाह हुन्थ्यो भने अर्कोतर्फ वातावरण अनुकूलमा पनि सहयोग पुग्थ्यो तर अहिले सिमेन्ट, बालुवा, फलाम, टिनको जंगल बनाइएका छन् । पुराना रूखहरूलाई विद्यालयबाट काटिएको छ जसले गर्दा गर्मीको प्रकोप अझ बढेको छ,’ वातावरण संरक्षण अभियानी सुरेश शर्मा भन्छन्, ‘हामीले मधेसका विद्यालयहरूलाई हरित अभियानमा जोड्नुपर्छ । प्रत्येक विद्यालयमा रूख अनिवार्य लगाउने व्यवस्था गर्नुपर्छ । सार्वजनिक विद्यालय नजिक हरियो वृक्षहरू र चौताराको स्थापनालाई प्राथमिकता दिनु आवश्यक छ । यदि अब पनि हामीले चेत गरेनौं भने हाम्रो सन्ततिलाई अझ बढी यो गर्मी र तातो हावाको प्रकोप झेल्नुपर्ने बाध्यता हुन्छ ।’
त्यसैगरी विद्यालयमा पोसाकसमेत मौसमअनुकूल नहुँदा विद्यार्थीलाई विद्यालय जान अझ असहज हुने गरेको छ । प्रदेशका ९५ प्रतिशत शिक्षकहरूलाई गर्मीसम्बन्धी आपत्कालीन अवस्था व्यवस्थापन गर्न तालिम दिइएको छैन भने प्रदेशका ८० प्रतिशत विद्यालयमा विपद् व्यवस्थापन योजनासमेत छैन ।
सुनील मल्लिक, शिक्षक, कनकपट्टी माध्यमिक विद्यालय, धनुषा
गर्मी थेगिनसक्नु छ । त्यसमाथिबाट हाम्रो विद्यालयका भवनहरू यति ताता हुन्छन् कि शिक्षकलाई समेत बस्न गाह्रो हुन्छ । यस्तोमा ससाना बालबालिकालाई त यहाँ बसेर पढ्न झनैं गाह्रो छ । अधिकांश विद्यालयहरूमा गर्मी छल्नकै लागि बिहानी कक्षा सञ्चालन गर्ने गरिएको छ तर, एकाबिहानैबाट तापक्रम बढ्छ र पढ्न पढाउनै गाह्रो हुन्छ । मधेसका विद्यालयहरूमा टिनका छाना विस्थापित गरिनु अति आवश्यक छ । यसतर्फ स्थानीय तहको ध्यानाकर्षण हुनु जरुरी छ ।
महेन्द्र महतो, निर्देशक, शिक्षा विकास निर्देशनालय, मधेस प्रदेश सरकार
यहाँ बनाइएका विद्यालयका भवनहरूमा भूकम्पबाट जोगिन टिनको छाना र फलामको डन्डी राखेर कक्षाकोठाहरू बनाइयो तर त्यो मधेसका लागि उपयोगी छैन । गर्मी हुँदा ती भवनहरू अत्याधिक तात्ने गर्छन् । जसमा बसेर पढाइ गर्नु भनेको कुनै सजायभन्दा कम छैन बालबालिकाका लागि । त्यसैगरी मधेसमा चिसोयाममा शीतलहरको प्रकोप हुन्छ र सो बेला शीतका थोपाले यी छानाहरू भिजेर पानी चुहिराख्दा अध्ययनअध्यापनमै समस्या आउँछ । तसर्थ सर्वप्रथम विद्यालयका भवनहरूलाई टिनको छाना मुक्त गर्नु अतिनै आवश्यक छ ।
दिवाकर उप्रेती, अधिकारकर्मी
बालबालिकाको शिक्षाको अधिकारलाई वञ्चित गरेर उनीहरूको सिकाइ प्रभावित गर्नुलाई गर्मीबाट राहतको नाम दिन सकिँदैन । स्थानीय तहका नेतृत्वकर्ताहरूले बडो सहज बाटो अपनाउँदै आएका छन् । धेरै गर्मी भयो भने विद्यालय बन्द गरिदिन अनि एक दिन पानी पर्यो भने खोल्दिने, यो दीर्घकालीन समाधान होइन ।
सुरेश शर्मा, वातावरण संरक्षण अभियानी
हामीले मधेसका विद्यालयहरूलाई हरित अभियानमा जोड्नुपर्छ । प्रत्येक विद्यालयमा रूख अनिवार्य लगाउने व्यवस्था गर्नुपर्छ । सार्वजनिक विद्यालय नजिक हरियो वृक्षहरू र चौताराको स्थापनालाई प्राथमिकता दिनु आवश्यक छ । यदि अब पनि हामीले चेत गरेनौं भने हाम्रो सन्ततिलाई अझ बढी यो गर्मी र तातो हावाको प्रकोप झेल्नुपर्ने बाध्यता हुन्छ ।
प्रतिक्रिया दिनुहोस !