मेची रंगशालामा प्याराफिट निर्माण तथा फ्लड लाइट जडान हुने

मेची रंगशालामा प्याराफिट निर्माण तथा फ्लड लाइट जडान हुने
फाइल तस्बिर

झापा : खेलकुद क्षेत्रमा झापाको इतिहास बोकेको मेची रंगशाला भद्रपुरको स्तरोन्नतिका लागि यो वर्षको बजेट भाषणमार्फत संघ तथा प्रदेश सरकारले छुट्टाछुट्टै बजेट विनियोजन गरेको छ। सरकारको स्वामित्वमा २०२५ सालमा स्थापना भएको मेची रंगशाला लामो समयदेखि सरकारी तहबाटै ओझेलमा पारिएको थियो। 

२०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि कुनै ठूलो प्रतियोगिता नभएको मेची रंगशालामा भद्रपुर नगरपालिकाको समन्वयमा २०७९ सालमा भद्रपुर झापा गोल्डकपको आयोजना गरिएको थियो। २०७९ र २०८१ गरी दुई पटक अन्तर्राष्ट्रियस्तरको गोल्डकप आयोजना गरी काँचुली फेरिदिएको मेची रंगशालामा बल्ल सरकारको आँखा पुगेकोमा खेलप्रेमि उत्साहित देखिएका छन्। 
साबिक मेची अञ्चलकै सबैभन्दा पुरानो रंगशालाको प्याराफिट निर्माण तथा फ्लड लाइट जडानका लागि साढे छ करोड रकम विनियोजन गरिएको छ। 

आर्थिक वर्ष ०८२/०८३ को संघीय सरकारको बजेट, नीति तथा कार्यक्रममा रंगशालाको प्याराफिट निर्माणका लागि तीन करोड रुपैयाँ र कोशी सरकारको बजेट, नीति तथा कार्यक्रममा तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए। 

साढे ६ करोडबाहेक थप एक करोड बजेट पनि आउने बताउँदै नगर प्रमुख पोखरेलले भने, ‘संघ तथा प्रदेश सरकारले एकै वर्षमा रंगशालाका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेको यो पहिलो पटक हो, रंगशालामा अब स्तरोन्नतिको काम अघि बढ्छ र रात्रिकालीन प्रतियोगिता पनि सञ्चालन गर्न सकिन्छ।’ उनले रंगशालाको बजेट विनियोजनमा आआफ्नो तहबाट सहयोग पुर्‍याउने सबैप्रति आभारसमेत व्यक्त गरेका छन्।  

भद्रपुर नगरपालिका, जिल्ला खेलकुद विकास समिति र भद्रपुर झापा गोल्डकप समितिले रंगशालाको प्याराफिट निर्माण तथा फ्लड लाइट जडानका लागि संघ र प्रदेश सरकारसँग लिखित रूपमै बजेट माग गरिएको भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए। 

ढिलै भएपनि माग सम्बोधन भएको बताउँदै ढकालले भने, ‘एकतिरको प्याराफिट नहुँदा बाँसको प्याराफिट बनाएर प्रतियोगिता गर्नुपर्ने बाध्यता थियो, अब स्थानीय रूपमै प्याराफिटसहित फ्लड लाइट जडान भएपछि गोल्डकप गर्न सहज हुने भयो।’ संघको बजेटबाट प्याराफिट र प्रदेशको बजेट सिँचाइ, खानेपानी तथा ऊर्जा मन्त्रालयमार्फत छुट्टाइएको बजेटबाट फ्लड लाइट जडान गरिने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.