मधेसमा बढ्दै दुर्घटना, ३ वर्षमा १५ सयको मृत्यु

मधेसमा बढ्दै दुर्घटना, ३ वर्षमा १५ सयको मृत्यु

जनकपुरधाम  :
घटना १ : धनुषाका सक्रिय पत्रकार शिवेन्द्र रोहिताको गत वर्ष सवारी दुर्घटनामा मृत्यु भयो । जनकपुरधाम— ९ थापाचोकमा एकाबिहानै बा २१ च ३३४३ नम्बरको कारले पत्रकार रोहिता चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । रोहिताको घटनास्थलमै मृत्यु भएको थियो । 
घटना २  : रौतहटको वृन्दावन क्षेत्रमा खेतबाट बाटोमा चढाउन खोज्दा शनिबार ट्र्याक्टरको अगाडिको भाग उठ्यो । च्यापिएर चालकको मृत्यु भयो । ट्र्याक्टर चालक वृन्दावन— ७ का नजामोदिन मन्सुरी हुन । 

घटना ३ : पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भयो । महानगरपालिका— २२ स्थित ड्राइपोर्ट सडकखण्डअन्तर्गत सीताराम चोकमा भएको सवारी दुर्घटनामा परी पर्सा छिपहरमाई गाउँपालिका— ३ झलमैया टोल निवासी रामाकान्त यादव र सोही ठाउँका विजय यादवको मृत्यु भएको थियो । अर्का एक जना २२ वर्षीय विजयकुमार यादव गम्भीर घाईते भए । 

यी त केही उदाहरणमात्रै हुन् । मधेस प्रदेशमा पछिल्लो समय सवारी दुर्घटनाको निकै बढेको छ । पछिल्लो तीन वर्षमा मात्रै सवारी दुर्घटनामा १ हजार ५ सयभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार यस अवधिमा १८ हजार सवारी दुर्घटना भए । जसमा १ हजार ५ सय ५ जनाको ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयको भनाइ छ । 

गत महिना मधेस प्रदेशमा सुरक्षा निकायका सबै अंगका अधिकृतको गोष्ठी भयो । गृहमन्त्री रमेश लेखकले सबैभन्दा ठूलो समस्या नै सवारीसाधन दुर्घटना रहेको गोष्ठीमा बताए । ‘सवारीसाधन दुर्घटना र लागुऔषध अहिले देशका लागि प्रमुख दुई ठूला समस्या हुन,’ गृहमन्त्री लेखकले भनेका थिए, 
‘पछिल्लो समय मधेसमा लागुऔषधको बढ्दो प्रयोगले सबै क्षेत्रलाई प्रभावित गरेको छ । यसको सेवन गर्नेहरूबाटै बढी अपराध भएका छन् । यसको सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएका छन् र अन्य विभिन्न खालका सामाजिक समस्याहरू बढेका छन् । त्यसैले यस्तो गतिविधिलाई नियन्त्रण गर्न प्रहरी प्रशासन अझ बढी सक्रिय हुनु आवश्यक छ ।’ 

चालु आर्थिक वर्ष ०८१/०८२ मा प्रदेशभरि १ हजार ८ सय २ सवारी दुर्घटना भए । यी दुर्घटनाहरूमा परी ४ सय २९ जनाले ज्यान गुमाए । २ हजार ४ सय ४ जना गम्भीर घाइते भए । सामान्य घाइते हुनेको संख्या ७ हजार ४ सय ४८ थियो । प्रहरीको कारबाहीमा १ लाख ७२ हजार ३ सय ८ जना परेका थिए र तिनीहरूबाट १५ करोड २१ लाख १० हजार ३ सय ५८ रुपैयाँ राजस्व संकलन भएको हो । 

आव ०८०/०८१ मा प्रदेशमा ६ हजार ५८ सवारी दुर्घटना भए । जसमा ५ सय ३० जनाले ज्यान गुमाए । २ हजार २ सय ४९ जना गम्भीर घाइते भए । त्यसैगरी ७ हजार ४ सय ९६ जना सामान्य घाइते भएका थिए । सो बेला २ लाख ५९ हजार २ सय ३ व्यक्ति कारबाहीमा परेका थिए र जसबाट २३ करोड ३० लाख ७९ हजार ७ सय ५६ रुपैयाँ राजस्व संकलन भएको थियो । 

प्रहरीका अनुसार आर्थिक वर्ष ०७९/०८० मा ५ हजार ९ सय ८८ सवारी दुर्घटना भए । ती दुर्घटनाहरूमा परी ५ सय ४६ जनाले ज्यान गुमाएका थिए । यी दुर्घटनाहरूमा गम्भीर घाइते हुनेहरूको संख्या २ हजार २ सय थियो । सो बेला ३ लाख ५३ हजार १ सय ८३ जनालाई प्रहरीद्वारा कारबाही गरिएको थियो र ती कारबाहीहरूबाट २६ करोड ८६ लाख ८६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो । 

‘मधेसमा हरेक युवासँग अहिले दुईपांग्रे सवारीसाधन देखिन्छन् । तर, तिनको प्रयोग गर्दा अत्यधिक लापरबाही हुने गरेको छ,’ मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी भन्छन्, ‘ट्राफिक नियमको अवहेलना, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेलमेटको बेवास्ता गर्ने र तीव्र गतिमा सवारी चलाउनेजस्ता कारणले सयौं युवाले प्रत्येक वर्ष ज्यान गुमाउनु परिरहेको छ । यसलाई न्यूनीकरण गर्न समुदाय, परिवार र सरकार सबै पक्ष मिलेर सचेतना अभियानमा लाग्नु आवश्यक छ ।’ 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.