बालबालिकामा डिप्रेसन, कसरी ? किन ?

बालबालिकामा डिप्रेसन, कसरी ? किन ?

एक जनाले बुवाले आफ्नो १० वर्षको छोरोलाई काठमाडौंको एक चर्चित बोर्डिङ स्कुलमा भर्नाका लागि ठूलो तयारी गरे। घरमै ट्युटर राखे। तर पनि छोरा प्रवेश परीक्षामा अनुत्तीर्ण भए। तर उनीसँगै प्रवेश परीक्षा दिन गएकी छोराकी छिमेकी साथी चाहिँ उत्तीर्ण भइन्। जबकि ती छात्राले ४ कक्षामा सिर्जनले भन्दा कम नम्बर ल्याएकी थिइन्। जसले गर्दा सिर्जनका बाबुआमा छोरादेखि आगो भए, छोरा पनि निकै खिन्न।

बाबुले अब यसरी गाली गर्न थाले कि भनिसाध्य छैन। सधैं हंसमुख रहने छोरा अब बिस्तारै मुर्झाएको फूलजस्तो देखिन थाले। बाहिर खेल्न पनि जान छोडे। किताब समाएर बसे पनि केही बुझ्न छोडे। एकान्तमा टोलाएर बस्न थाले। स्कुल जाने बेलामा उसको टाउको दुःख्न थाल्यो। कहिलेकाहीँ बान्ता नै हुन्थ्यो। डाक्टरलाई देखाउँदा सबै रिपोर्ट सामान्य देखियो। बाबु भने छोरादेखि ज्यादै क्रुद्ध थिए। भन्थे, यसलाई केही भएको छैन। पढ्नुपर्छ भनेर यसले स्वाङ पारेको हो। तर पनि आमाको मन मानेन। उनले मनोचिकित्सककहाँ पुर्‍याइन्। डिप्रेसनबाट पीडित भएको देखियो। मनोचिकित्सकले उपचार अगाडि बढाए। बिनाऔषधि मनोपरामर्श (साइकोथेरापी)द्वारा बिरामी केही दिनमै ठीक भए।

बालबालिकामा डिप्रेसन : युवा तथा वृद्धवृद्धामात्र होइन कि हिजोआज थुपै्र कलिला बालबालिकासमेत यसरी डिप्रेसनको चपेटामा परेका छन्। तीन, चार वर्षका कलिला बालबालिका समेत ‘डिप्रेस्ड’ हुने गरेका छन्।

वास्तवमा नेपालको बोर्डिङ स्कुलको शिक्षाले बालसंसारलाई ज्यादै कठिन र यातनापूर्ण बनाइदिएको छ। एक दर्जन किताब, त्यत्ति नै बाक्ला कापीहरूको भकारी भारी तथा गृहकार्यको भयंकर बोझ, कडा प्रतिस्पर्धा र अब्बल नम्बर ल्याउने होडले कलिला मस्तिष्कहरू डिप्रेसनले नराम्रोसँग थलिएका छन्, कलिला बालबालिका हिँड्न नपाउँदै बेस्सरी थिचिएका छन्। त्यसैले त कतिपय बालबालिकाको सिक्ने क्षमता नै घट्दै गएको छ। स्मरण शक्ति नै कमजोर हुँदै गएको छ।

किन हुन्छन् विद्यार्थी कमजोर : बालबालिकाको मस्तिष्क विकासका आधारमा उनीहरूको सिक्ने र सम्झने क्षमता कम बढी हुन सक्छ। तर सामान्य बालबालिकाले आफ्नो कक्षागत विषयहरू पढ्न, लेख्न तथा सिकेको याद राख्न सक्छन्। यदि पहिला पढाइलेखाइमा सामान्य देखिएका बालबालिका पछि पढाइलेखाइमा कमजोर भएका छन् भने त्यसको कारण तनाव र डिप्रेसन हुन सक्छ। त्यो किनभने डिप्रेसनले मानिसको सिक्ने र सम्झने क्षमतामा प्रभाव पार्छ। त्यसैले स्नायु विज्ञानको भाषामा डिप्रेसनलाई नक्कली भुल्ने रोग (सिउडो डिमेन्सिया) पनि भनिन्छ। वास्तवमा यो भुल्ने रोग (एमेन्सिया) वा डिमेन्सिया त होइन, तर त्यस्तै–त्यस्तै नक्कल देखाउने रोग हो। यो रोगले मानिसको प्रक्रियागत मेमोरीमा त कुनै असर गर्दैन, तर फ्याक्ट मेमोरीलाई भने प्रभावित गर्छ। उदारहणका लागि डिप्रेसनबाट पीडित व्यक्तिले जुत्ता लगाउन वा साइकल चलाउन बिर्सिंदैनन् तर फलानो वा ढिकानोको नाम बिर्सन सक्छन्, हातमै घडी बाँधेर घडी खोजिरहेका हुन सक्छन्।

मोजा हातमै समाएर हिजो राखेको मोजा कहाँ छ भनेर कराइरहेका हुन सक्छन् ? यही कारण डिप्रेसनको प्रकोपमा परेका बालबालिका पढेको राम्रोसँग बुझ्न सक्दैनन्, जे जति बुझेका हुन्छन्, त्यो पनि छिट्टै बिर्सिन्छन्। वास्तवमा डिप्रेसन यस्तो मानसिक समस्या हो, जसले नक्कली भुल्ने रोग मात्र पैदा गर्दैन कि मानिसलाई नै एउटा जिउँदो लास बनाइदिन्छ। डिप्रेसनलाई सानोतिनो मानसिक समस्या सम्झनु हँुदैन, यो मनोदैहिक स्वास्थ्य समस्या हो, यसले मनमस्तिष्कलाई त असर गर्छ नै, शरीरका सम्पूर्ण भागमा नै कुप्रभाव पार्छ। मुटुको रोग पैदा गर्ने एउटा कारण डिप्रेसन पनि हो। त्यसैले त चर्चित राजनीतिज्ञ तथा साहित्यकार विस्टन चर्चिल, जो आफैं कुनै बेला डिप्रेसनको चपेटामा परेका थिए, ले डिप्रेसनलाई ‘ब्लाक डग’ भनेका छन्।

के कस्ता हुन्छन् डिप्रेसनको लक्षण : डिप्रेसनको मूल लक्षण भनेको उदासीनता तथा खिन्नता हो। डिप्रेसनबाट पीडित व्यक्तिको मन सधैं उदासी र निराशाले घेरिएको हुन्छ। कुनै पनि आनन्ददायक घटनाले उसलाई खुसी पार्दैन। डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशाभन्दा फरक हुन्छ। हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउँछन्, केही समय रहन्छन्। तर सुखद घटनासँगै मन पुनः खुसी हुन्छ तर डिप्रेसनमा चाहिँ यस्तो हुँदैन।

कडा खालको डिप्रेसनमा परेको व्यक्ति कहिल्यै खुसी देखिँदैनन्। अतः उदासीसँगै अरुचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नुजस्ता मानसिक लक्षणहरू तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, कब्ज रहनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हँुदै जानु वा धेरै खानु, यौन इच्छामा कमी आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि शारीरिक लक्षणहरू मध्ये तीन–चार लक्षणहरू देखिएमा डिप्रेसनको शंका गर्नुपर्ने हुन्छ। यसका साथै आत्महत्याको विचार मनमा आउनु तथा आत्महत्याको कोसिस गर्नु आदिले यस समस्याको गम्भीर स्थितिलाई दर्शाउँछ। डिप्रेसनबाट पीडित १५–२५ प्रतिशत व्यक्तिहरूले आत्महत्या गरेको पाइन्छ। त्यसैले दुई सातादेखि डिप्रेसनका उपर्युक्त लक्षणहरू देखिएमा चिकित्सकसँग सम्पर्क गरी जति सक्दो छिटो यसको उपचारतिर लाग्नु उत्तम हुन्छ। उचित औषधोपचारबाट डिप्रेसन बिलकुल ठीक हुन्छ।

डिप्रेसनको कारण : डिप्रेसन विभिन्न कारणहरूले पैदा हुन्छन्। जस्तो कि डिप्रेसन अनुवांशिक कारण, मस्तिष्क रसायनको असन्तुलन, मनोगत तथा सामाजिक कारणहरूले पैदा हुने भएता पनि अधिकांश डिप्रेसनको जड भनेको जीवनमा घटेको तनावपूर्ण तथा हृदयविदारक घटना नै हो। सिर्जनको केसमा सिर्जन पढाइलेखाइको अत्यधिक दबाब र हीनताबोधका कारण डिप्रेसनको प्रकोपमा परेको देखिन्छ। सिर्जनजस्तै नेपालका थुप्रै बालबालिका पढाइलेखाइको अत्याधक दबाब, धेरै अंक ल्याउने अनावश्यक प्रतिस्पर्धा तथा कुपोषणका कारण डिप्रेसनको सिकार भएका छन्।

कतिपय दीर्घकालीन, जीर्ण तथा खतरनाक रोगहरू, जस्तै अल्जाइमर, पक्षघात, मुटुको रोग, एचआईभी एड्स आदिका कारणले पनि डिप्रेसन देखा पर्छ। हाइपोथायराडिज्मजस्ता रोगहरूले पनि डिप्रेसनको लक्षण देखाउँछन्। त्यसैले डिप्रेसनको सही पहिचान गर्नु आवश्यक छ। बेक डिप्रेसन इन्भेन्टरी (बीडीआई) सबैभन्दा सरल र प्रभावकारी डिप्रेसन टेस्ट हो। यो टेस्टबाट डिप्रेसन हो वा होइन, हो भने डिप्रेसन हल्का, मध्यम वा कडा, कस्तो खालको हो थाहा हुन्छ। यो टेस्टका लागि केवल ५–१० मिनेट समय लाग्छ।

समस्याको समाधान : डिप्रेसनबाट पीडित बालबालिकालाई उचित औषधोपचार आवश्यक हुन्छ। तनाव र डिप्रेसनबाट पीडित बालबालिकालाई औषधिभन्दा पनि मनोपरामर्शद्वारा उपचार उत्तम हुन्छ। मनोपरामर्शका साथै बालबालिकाको पढ्ने, लेख्ने वातावरण उचित बनाउनुपर्छ। बालबालिकाको मस्तिष्क क्षमताअनुसारको शैक्षिक, सामाजिक तथा पारिवारिक वातावरण बनाउनु भनेको नै बालबालिकालाई मानसिक समस्याहरूबाट जोगाउनु हो। तर विडम्बना के भने नेपालको शैक्षिक क्षेत्र शैक्षिक माफियाहरूको हातमा छ। शैक्षिक माफियाकै कारण अभिभावकको ढाड भाँचिएको छ भने कलिला बालबालिका किताबको भारीले थिचिनु परेको छ। यस्तो शैक्षिक वातावरणका कारण बालबालिकामा डिप्रेसन, चिन्ता तथा तनाव बढ्नु कुनै अनौठो कुरा होइन। यस कुराप्रति सरकार, समाज, शैक्षिक संस्था तथा परिवारको ध्यान आकृष्ट हुन आवश्यक छ।

होइन भने नेपालमा मानसिक समस्याहरूबाट पीडित हुनेको संख्या दिनप्रतिदिन नै बढ्दै जाने छ। नेपालमा मानसिक समस्याहरू यसरी नै बढ्दै गयो भने खै नेपालले कसरी प्रगति गर्न सक्छ ?
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.