कांग्रेस-एमाले बैठक : संसदको गतिरोध हटाउने विषयमा छलफल
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच संसद गतिरोध हटाउने विषयमा छलफल भएको छ। भिजिट भिसा प्रकरणले प्रभावित बनिरहेको संसदलाई प्रभावकारी बनाउन बुधबार कांग्रेस र एमालेका शीर्ष नेताहरू जुटेका हुन्।
बैठकमा बजेट, सदन सञ्चालन र विभिन्न विधेयकका विषयमा छलफल भएको स्रोतले जनाएको छ। लगातार संसद अवरुद्ध हुँदा बजेटमाथिको छलफल प्रभावित हुनुको साथै अति आवश्यक विधेयकहरू पनि अगाडि बढ्न सकेको छैन। यस विषयमा दुई पार्टीका शीर्ष नेताहरू गम्भीर भएको सहभागी एक नेताले बताए।
'समग्रमा सरकारको काम कारबाही र डेलिभरी दिने विषयमा छलफल भयो। संसदको गतिरोध हटाउने विषयमा पनि छलफल भएको छ,' सहभागी ती नेताले अन्नपूर्णसँग भने।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिए। त्यस्तै एमालेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !