प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध कायमै
काठमाडौं : प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध जनाएका छन्। बैठकको कारवाही अघि बढ्ने वित्तिकै विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूका सांसद सिटबाट उठेर विरोध जनाएका छन्।
त्यसपछि सभामुख देवराज घिमिरेले बोल्नका लागि रास्वपा सांसद हरि ढकाललाई समय दिएका छन्। उनले बोल्ने क्रममा भिजिट भिसाको नाममा लाखौं लाखौं युवा ठगिएको विषयमा आन्दोलित हुँदैगर्दा सरकारले आफ्नो आन्दोलनलाई वेवास्ता गरेको आरोप लगाए।
उनले भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले उठाएका विषयमा गृहमन्त्री रमेश लेखकले जवाफ दिनुपर्नेमा उल्टै कटाक्ष गरेको टिप्पणी गरे।
उनले अध्यागमनमा भएको भ्रष्टाचारको अनुसन्धान गर्न नसकेको, बिमानस्थलमा अनावश्यक कर्मचारी थप गरिएको र आफ्ना कर्मचारीको सरुवाका विषयमा गृहमन्त्रीको कुनै जवाफ नआएको जिकिर गरे । आफ्ना मागलाई सरकारले नसुनेकाले आफूहरूको आन्दोलन जारी रहेको उनले बताए।
त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभइ सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउन आह्वान गरे। भिजिट भिसा प्रकरणमा छानविन समिति नभएसम्म आफूहरूको विरोध कायमै रहने उनको भनाइ छ ।
शाहीले आफूहरूको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधकाबीच संसद कार्यसूची अघि बढेपछि रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी जारी राखेका छन्। राप्रपाका सांसदहरूले भने बैठक बहिष्कार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !