कोशीमा ट्राफिक सचेतना सप्ताह सुरु
विराटनगर : कोशी प्रदेशमा शुक्रबारदेखि ट्राफिक सचेतना सप्ताह, २०८२ सुरु भएको छ। ‘सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौं ट्राफिक नियमको पालना’ भन्ने मूल नाराका साथ सुरु भएको सप्ताहअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सचेतनासँग सम्बन्धित विभिन्न कार्यक्रम गरिने छ।
सडक अनुशासन कायम राख्न तथा सवारी दुर्घटना न्यूनीकरणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले संयुक्त रूपमा ट्राफिक सप्ताहको आयोजना गरेका हुन्। सप्ताहको अवसरमा शुक्रबार बिहान प्रदेश राजधानी विराटनगरलगायत प्रदेशका १४ वटै जिल्लामा प्रभातफेरी निकालिएको थियो।
प्रभातफेरीपछि विराटनगरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ट्राफिक सप्ताहको उद्घाटन गरेका छन्। उनले सचेतनामूलक श्रव्य दृश्य सामग्री ‘सुरक्षित यात्रा’ अनावरणका साथै सार्वजनिक यात्रुवाहक बसमा यात्रुहरूको गुनासो तथा सुझावका लागि क्यूआर कोडसहितको स्टिकरसमेत टाँसेका छन्।
सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको कार्कीले बताए। विद्यालयस्तरमै ट्राफिक सचेतना प्रदान गर्न सकिए दीर्घकालीन रूपमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !