निराशा र रिसको पोको बोकेका नेपाली युवा

निराशा र रिसको पोको बोकेका नेपाली युवा

पछिल्लो समय नेपालका युवाहरूको मनस्थिति जति बुझ्ने कोसिस गरिन्छ त्यति नै झन् गिजोलिन्छ। कहिलेकाहीँ त लाग्छ, रिसै रिसले देशै डुब्ने हो कि? जता हेर्‍यो, रिसको धुवाँ मात्र। देश अलि राम्रै दिशामा गए, फेरी कसको स्वार्थ! देशमा केही बिग्रियो, के नै हुने हो र? नेताले दुई शब्द राम्रो भन्यो, यो त गफाडीको मास्टर न पर्‍यो। नराम्रो भन्यो, कठै हामीले कस्तो नेता पायौं। दुखेसो पोख्न खोज्यो, गुनासो गर्छस्। खुसी बाँड्न खोज्यो,  कसैले नगरेको राम्रो काम गरिछस्। प्रायः सञ्जालमा देखिने यस्ता शब्द र शैलीहरू आखिर यत्रो नकारात्मकता? किन र कसका लागि?

हाम्रो समाजमा अहिलेको युवा पुस्ता एउटा विचित्रको मनोवैज्ञानिक बन्दी बनेर बसेको छ। आशावाद र निराशावादको बीचमा हामीहरू अल्मलिएका छौं। न पूरै आशा, न पूरै निराशा। रिस, थकान, निराशा सबै मिसिएको। यो रिस फेसबुक, टिकटक वा सामाजिक सञ्जालहरूको गालीमात्र होइन, गहिरो छ। यो त सपनाहरूलाई पटक-पटक डुब्न बाध्य बनाउने, अवसरहरू झ्यालबाट हुँदै भाग्ने, अनि आफूलाई बारम्बार धोका दिने देशका राजनीति दल, नेताहरू र अवस्थाको उपज हो।

देशमा राजनीतिक स्थिरताको टुंगो छैन। सरकार बनायो, बिगार्‍यो, नेताहरूको कुर्सी-कुर्सी खेल पछिल्लो २०/२५ वर्ष यही देखिँदै भोगिँदै आइएको छ। युवा बेरोजगार, पढाइले देशमा आफ्नो भविष्यको भर छैन। देशमा रोजगार र ब्यापार ब्यवसायको ग्यारेन्टी छैन। महँगी, भ्रष्टाचार, घुसखोरी त नेपाली जीवनको अनिवार्य हिस्सा भइसकेको छ। एकातिर सरकारले युवाहरूलाई स्वदेश फर्काउने निनहरूको सपना कागजमा बेच्दैछ, अर्कातिर युवा आफ्नो पढाइ सकिना साथ देशमा काम छैन अब कुन देश जाने भन्ने तनाबले रात दिन भौँतारिएर बिताएका भेटिन्छन्। 

कस्तो बिडम्बना! न सरकार युवा रोक्न सक्छ, न विदेशिएका युवा देश फर्कन मन भएर पनि निर्णय गर्न सक्छन्।

विदेशिने लहर त अब संस्कारजस्तै भइसक्यो। देशमा अवसर छैन, नीति छैन, विदेश गएर श्रम बेच्नुपर्ने अवस्था बढ्दो क्रममा छ। खाडी देशहरूमा ४० डिग्रीको तातोमा काम, विदेशीका घरहरुमा काम, वृद्धाहरूको हेरचाह। हप्तामा ५०-६० घण्टा काम, आफ्नो घर परिवार छाडेर। अनि फर्कन चाह्यो देशको अवस्थाले पन्छ्याउँछ। कहिले त लाग्छ, ‘देशमा फर्कनु भनेको निक्कै ठूलो आपराधिक दुस्साहस नै गर्नु पो हो कि भनेर। 

सामाजिक सञ्जालहरू त झन् अर्को स्तरको रिस पोख्ने अखडा बनेको छ। फेसबुक, टिकटक आदि हेर्दा गाली र निराशाको वर्षा। कोही अलिकति खुसी वा आशा देखाउन खोज्यो भने, पेड पोस्ट, चाकडी बाज, फलानो पार्टी वा नेताको मान्छे, फलानाको झोले भन्ने गाली र आरोप। हामी कसैको खुसी देख्न नै सक्दैनौं। मानौं खुसी हुनु, अरूलाई प्रेरित गर्नु, आशा देखाउनु एउटा ठूलो अपराध हो। आखिर यस्तो मानसिकता कहिलेसम्म हामीमा?

यी सबै कुराहरू मूल जरो भनेको लगातार पिँधमा च्यापिएको देशको राजनीति, शिक्षाको अवमूल्यन, अवसरको कृत्रिम खडेरी, अनि प्रणालीले सिर्जना गरेको निराशा। युवा सीप सिकेर देशमै केही गर्न चाहन्छ, तर अवसर छैन। विदेशमा सीप लिएर फर्कन खोज्छ, नीति छैन। देश बनाउन सपना देख्छ तर संघर्षको वातावरण देख्दैन। अनि, फेरि रिसको अर्को छाल आउँछ। उस्तै सञ्जालभरी… फलानो ढिस्कानो आदि इत्यादि। 

के अब रिसमात्रै पोखेर केही हुन्छ? नेपाली समाजमा एक किसिमको ‘रिसको एडीक्सन’ नै देखिन्छ। गाली गरेर, फेसबुकमा स्टाटस लेखेर, टिकटकमा अनेक गर्दै आखिर के पाइन्छ। हाम्रो ऊर्जा, समय सबै यत्तिकै खेर गइरहेको छ। अब यो रिस र निरासलाई रचनात्मक क्रोधमा बदल्नुपर्छ। स्वरोजगार, उद्यमशीलता यी शब्दहरू अब नीति र किताबका पानामा मात्र होइन, व्यवहारमा उतारौं। युवाहरूलाई सीप सिक्ने, आफ्नो व्यवसाय खोल्ने वातावरण बनाऔं। सरकारले मात्र होइन, समाज र परिवारले पनि उत्तिकै प्रोत्साहन गर्नुपर्छ। राजनीतिमा सकारात्मक युवा हस्तक्षेप गरौं। प्रश्न गरौं, जवाफ खोजौं, तर गालीमा मात्रै सीमित नरहौं। राम्रो काम गर्नेहरूलाई साहस र हौसला दिऔं, गलत काम गर्नेहरूलाई औँला उठाउ, जवाफदेहिता बनाउन बाध्य बनाऔं।

विदेशबाट फर्केर देशमै कोही काम गर्छु भन्ने युवालाई देश र समाजले उनीहरूको अनुभवलाई कदर गर्दै उनीहरूका लागि प्रस्ट नीति बनाऔं। उनीहरूले देशमा पनि केही गर्न सक्छन् भन्ने विश्वास दिलाऔं। सामाजिक सञ्जाललाई रिसको अखडा होइन, समाधान बाँड्ने थलो बनाऔं। अरूको खुसी देख्न सक्ने, अरूको दुःख बुझ्न सक्ने संस्कारको विकास गरौँ।

रिसाउनुको कारण छ। देशप्रतिको माया छ, सपना छ, राजनीति अस्तित्वको लडाइँ छ। अब सधैं रिसाएर के फाइदा? सानोतिनो काम, सानो सोच, सानो सकारात्मकता र गलतलाई गलत भन्न सक्नु नै देश बदल्न सक्ने मूल साँचो हुन सक्छ। जुन दिन हरेक युवा गाली गर्नुको सट्टा आज एउटा मैले सानो राम्रो काम गरे भनेर गर्व गर्छ। त्यही दिनबाट देश बदल्न र बन्न सुरू हुन्छ। 
रिसलाई इन्धन बनाऔं आफैं जलेर खरानी नबनौं।

हालः तेल अविव, इजरायल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.