विद्युतको लापरबाहीले १० वटा खच्चडको मृत्यु, कमाई खाने बाटो बन्द

विद्युतको लापरबाहीले १० वटा खच्चडको मृत्यु, कमाई खाने बाटो बन्द

मुगु : छायाँनाथ रारा नगरपालिका-१० का जग्गी बढुवाल र सोही वडाका प्रेम बढुवालले दशकदेखि खच्चड व्यवसाय गर्दै आएका थिए। यही व्यवसायबाट राम्रो आम्दानी गरी उनीहरूले परिवार पाल्दै आएका थिए। तर, आइतबार दिउँसो ४ बजे विद्युत् प्राधिकरणको ट्रान्सफर्मरबाट करेन्ट लिक भएर भएको दुर्घटनामा १० वटा खच्चडको मृत्यु भएपछि उनीहरूको जीविकोपार्जनको मूल माध्यम नै बन्द भएको छ।

छायाँनाथ रारा नगरपालिका-१२ स्थित लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मरबाट लिक भएको करेन्टले छायाँनाथ रारा नगरपालिका-१ का कर्णबहादुर मल्लका ४, वडा नं. १० का जग्गी बढुवालका ३ र पृथ्वी बढुवालका ३ गरी १० वटा खच्चडको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाको दुई दिनअघि सोही स्थानमा छायाँनाथ रारा नगरपालिका-१२ कम्फा गाउँका खड्कबहादुर बुढाको दुहुने भैँसीसमेत सोही ट्रान्सफर्मरबाट लिक भएको करेन्ट लागेर मरेको थियो। मुगुम कार्मारोङ गाउँपालिकातर्फ जाँदै गरेका जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर कार्कीले आफ्नै आँखाले करेन्ट लागेर भैँसी मरेको देखेपछि तत्काल प्रमुख जिल्ला अधिकारी र विद्युत् प्राधिकरण मुगुका कार्यालय प्रमुखलाई ट्रान्सफर्मर मर्मत गरेरमात्र विद्युत् प्रवाह गर्न अनुरोध गरेका थिए। तर, दुई दिनभित्रै खच्चड मरेको खबरले विद्युत् प्राधिकरणको लापरबाही पुष्टि भएको कार्कीको भनाइ छ।

व्यवसायी जग्गी बढुवालका अनुसार उनीहरू योजना र व्यापारिक सामग्री ढुवानी गरेर घर फर्कँदै थिए। 'हामी खच्चडसहित ट्रान्सफर्मर भएको पोल नजिक बाटो हुँदै हिँडिरहेका थियौं। एक्कासी पोलमा आगोको झिल्का देखियो, अनि सबै खच्चड एकै ठाउँमा ढले,' उनले भने, 'हामी कराउन थाल्यौं। मुख्य आम्दानीको स्रोत खच्चड एकैचोटि मरेपछि बेहोस भयौं। गाउँलेले पछि घर ल्याइदिएका रहेछन्।'

उनीहरूले अर्को दिन पुनः सामान ढुवानीका लागि मुगुम कार्मारोङ गाउँपालिकाको पुलु जान योजना बनाएका थिए। तर, खच्चडको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता अहिले प्रमुख बनेको छ। मृत खच्चडहरू सडक किनारमै थुप्रिएको हुँदा त्यहाँको दुर्गन्धले सर्वसाधारण हिँड्नसमेत सकिरहेका छैनन्। प्रहरी र विद्युत् कार्यालयका कर्मचारीहरू घटनास्थलको मुचुल्का उठाएर फर्किसकेका छन्। पीडितहरूले भने विद्युत् प्राधिकरणको लापरबाहीले आफ्नो व्यवसाय नै चौपट भएको भन्दै आँखा रसाउँदै गुनासो पोखेका छन्।

विद्युत् प्राधिकरण मुगुका निमित्त कार्यालय प्रमुख मनराज शाहीका अनुसार आइतबार आएको हुरीबतास र वर्षाका कारण बिजुलीको तार भाँचिएर ट्रान्सफर्मरबाट करेन्ट लिक भएको र त्यसैले १० वटा खच्चड मरेका हुन्। घटनाको जानकारी पाएलगत्तै कार्यालयबाट कर्मचारी खटाई विद्युत् आपूर्ति बन्द गरिएको र सोमबार प्रहरी तथा जनप्रतिनिधिहरूसहितको टोलीले सर्जमिन गरी मुचुल्का उठाएको उनले जानकारी दिए। साथै, ‘नेपाल विद्युत प्राधिकरण विद्युत् दुर्घटना क्षतिपूर्ति नियमावली २०७६’ अनुसार पीडितलाई क्षतिपूर्ति दिलाउन आवश्यक प्रक्रिया सुरु गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.